• ३० कात्तिक २०८२, आइतबार

निर्वाचनको तयारीमा जुट्दै कर्मचारी

blog

हेटौँडास्थित प्रदेश निर्वाचन कार्यालय । तस्बिर : राममणि दाहाल

मकवानपुर समाचारदाता

मकवानपुर, कात्तिक ३० गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीलाई तीव्र बनाइएको छ । निर्वाचनको पूर्वतयारीका व्रmममा निर्वाचन कार्यालयका कर्मचारीले सार्वजनिक बिदाको दिन शनिबारसमेत काम गर्नुभएको छ । 

बागमती प्रदेश निर्वाचन कार्यालय, हेटौँडामा अन्य दिन जस्तै शनिबार पनि कर्मचारी बिहानैदेखि मतदाता नामावली दर्ता, ठाउँसारी, विवरण सच्याउनेलगायतका काममा व्यस्त भएका हुन् । प्रदेश निर्वाचन कार्यालय, बागमती प्रदेशका निर्वाचन अधिकारी हरिप्रसाद ढकालले आयोगको निर्णय अनुसार शनिबार पनि नयाँ मतदाता नामावली दर्तालगायतका निर्वाचन तयारीको काम भएको जानकारी दिनुभयो । उहाँले यसअघि मतदाता रहेका मतदाताको ठाउँसारी र मतदाता नामावलीको विवरणमा समस्या भएर निवेदन दिएकाको छिनोफानो गर्ने काम शनिबार पनि भएको जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार ४४ जना नयाँ मतदाताको मतदाता नामावलीका लागि दर्ता गरिएको छ ।

शुव्रmबारसम्ममा मकवानपुरमा पाँच हजार ८७४ नयाँ मतदाता नामावली दर्ता भएको छ । यसैबिच मकवानपुरमा मतदानस्थलको नाम संशोधन र परिवर्तनका लागि जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिले निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । 

समितिका सदस्य सचिवसमेत रहनुभएका प्रदेश निर्वाचन अधिकारी ढकालले दुई मतदान स्थलको नाम संशोधन र एउटा मतदान स्थलको नाम परिवर्तन गर्ने निर्णय गरेको बताउनुभयो । जिल्लाको बकैया गाउँपालिका–१, मोरङ्गेस्थित मतदान स्थल रहेको सरस्वती प्राविबाट मावि भएकाले सरस्वती मावि मतदान स्थल र बकैया गाउँपालिका–७ स्थित मतदान स्थल माटाकोरी माविबाट आधारभूत विद्यालयमा परिवर्तन भएकाले दुवै मतदान स्थलको नाम संशोधन गरिएको छ ।

यस्तै थाहा नगरपालिका–३ स्थित आधारभूत केन्द्रमा मतदानस्थल रहेकामा उक्त विद्यालय एकीकरण भएकाले सो मतदान स्थलको नाम परिवर्तन गरी थाहा शीत भण्डार कायम गर्ने गरी प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले आयोगमा सिफारिस गर्ने निर्णय गरेको प्रदेश निर्वाचन अधिकृत ढकालले जानकारी दिनुभयो । मतदाताको सङ्ख्या वृद्धि भएसँगै मतदान केन्द्रको सङ्ख्या बढ्ने छ । हाल मकवानपुर जिल्लामा १६७ मतदान स्थल रहेका छन् ।