चौमाला समाचारदाता
चौमाला (कैलाली), कात्तिक ३० गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गराउने युवाको सहभागिता उल्लेख्य देखिएको छ । मतदाता नामावली दर्ता गर्ने कार्य अन्तिम चरणमा पुगेका कारण सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयअगाडि युवाको भिड बढ्न थालेको छ ।
राजनीतिक घटनाक्रम र जेनजी समूहको आन्दोलनबाट प्रेरित भएका नयाँ मतदाता आफ्नो मताधिकार सुनिश्चित गर्न उत्साहित छन् । फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्ने सुदूरपश्चिममा युवाको सहभागिता उल्लेख्य देखिएको हो । मतदानका लागि उमेर पुगेका युवा र उमेर पुगेर पनि फोटोसहितको मतदाता नामावली बनाउन छुटेकाहरू जिल्ला निर्वाचन कार्यालयमा पुगेर नाम लेखाइरहेका छन् । सुरुवाती चरणमा सेवाग्राहीको चाप कम भए पनि अहिले अन्तिम समयमा चाप बढेको निर्वाचन कार्यालय सुदूरपश्चिम प्रदेशका प्रमुख प्रेमराज भट्टले बताउनुभयो ।
उहाँले मतदाता नामावलीमा नाम दर्ता गर्नेको सङ्ख्या उत्साहजनक रूपमा भइरहेको बताउनुभयो । अहिले दैनिक पाँच सय देखि सात सय जनासम्म नयाँ मतदाता नामावली दर्ताका लागि कार्यालयमा आउने गरेको उहाँको भनाइ छ । हालसम्म सुदूरपश्चिम प्रदेशमा १३ हजार १६९ जना नाम दर्ता भइसेकको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । गोदावरी नगरपालिका गेटाकी कल्पना नेपालीले मुलुकको बदलिँदो राजनीतिक घटनाक्रमसँगै केही आशा देखिएकाले पहिलो पटक मतदान गर्न आफूले मतदाता नामावलीमा नाम दर्ता गराएको बताउनुभयो । अहिलेको सरकारले युवा चाहना र देशको रक्षाका लागि तोकिएको मितिमा निर्वाचन गराउनुपर्ने उहाँको भनाइ छ ।
प्रदेश निर्वाचन कार्यालयमा हिजोआज बिहानदेखि साँझसम्म फोटो खिचाउन आउनेमा युवा बढी देखिएका हुन् । विगतमा मतदानप्रति उदासीन रहेका युवा पनि यस पटक भने आशावादी देखिएका छन् । नामावलीमा यसअघि नाम दर्ता गराउन छुटेका सम्पूर्णलाई नाम दर्ता गराउन जिल्ला निर्वाचन कार्यालयले आग्रह गरेको छ । गएको निर्वाचनमा सुदूरपश्चिम प्रदेशभर कुल मतदाता १६ लाख ७४ हजार ६२३ जना रहेका थिए ।
बाजुरा समाचारदाताका अनुसार बाजुरामा ५८७ नयाँ मतदाता थपिएका छन् । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सरकारले नयाँ मतदाता नामावली बनाउन सहज गरेसँगै बाजुरामा ५८७ नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख अङ्ग महतले बताउनुभयो । बाजुरामा २०८२ भदौसम्म ४१ हजार ९२० महिला, ४४ हजार ५३५ पुरुष र तीन जना अन्य गरेर ८६ हजार ५७५ जना मतदाता रहेको महतले बताउनुभयो ।