• ३० कात्तिक २०८२, आइतबार

भत्ता बुझ्न झिसमिसेमै पुग्छन् वृद्धवृद्धा

blog

वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिँदै । तस्बिर : भवानीदत्त भट्ट

बेलौरी समाचारदाता

बेलौरी, कात्तिक ३० गते । कार्यालय समयमा पुग्दा भिडभाड हुने डरले भत्ता लिने वुद्धवृद्धा बिहान साढे तीन ३ नै वडा कार्यालय पुग्ने गरेका कुरा सुन्दा आश्चर्य लाग्न सक्छ तर कञ्चनपुरको बेदकोट नगरपालिका–८ का वृद्धले यस्तै गरिरहनुभएको छ । बेदकोट नगरपालिका–८, रामसिंह विष्ट वृद्ध भत्ता बुझ्नका लागि शुक्रबार बिहानै ३:३० बजे वडा कार्यालय पुग्नुभयो । वृद्ध भत्ता बुझ्न ७९ वर्षीय विष्ट एकाबिहानै वडा कार्यालयमा पुग्नुभएको वडासचिव दीपा पाण्डेले बताउनुभयो । 

यसै गरी वडा नम्बर–८, शुभकामना टोलका ७४ वर्षीय कर्णबहादुर चन्द पनि शुक्रबार बिहान ४:१५ बजे वडा कार्यालयमा पुगेको बताउनुहुन्छ । वृद्ध भत्ता बुझ्नका लागि दिउँसोसम्म कुर्नु पर्दा बिहानै छिटो वडा कार्यालय आए छिट्टै भत्ता दिने गरेको उहाँ बताउनुहुन्छ । “कुनै दिन त साँझ पर्ने गरेको छ, उहाँले भन्नुभयो, “केही महिनायता बिहानै आउने गरेको छु, छिट्टै भत्ता बुझाउने गरेको छु ।”

वडा नम्बर ८, अमथलाका ७२ वर्षीय लालबहादुर विष्ट पनि शुक्रबार बिहान ५:३० बजे वडा कार्यालयमा पुग्नुभयो । पछि भिडभाड हुने भन्दै भत्ता बुझ्नका लागि उहाँ बिहानै वडा कार्यालयमा पुगेको बताउनुहुन्छ । 

नयाँबस्तीका राधा विकले पनि बिहान ६ बजे नै भत्ता बुझ्नका लागि वडा कार्यालयमा पुगेको बताउनुभयो । आधा घण्टा जति पैदल हिँडेर वृद्धवृद्धा सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि एकाबिहानै गैलनदीस्थित वडा कार्यालयमा पुग्ने गरेका छन् । वडा कार्यालयले भने वृद्धवृद्धालाई १० बजे मात्रै आउन सम्झाउँदै आए पनि नमान्ने गरेको जनाएको छ । सामाजिक सुरक्षा भत्ता वितरणका क्रममा अत्यधिक भिडभाड हुन थालेपछि यसअघि तीन दिन छुट्टाछुट्टै पालो अनुसार भत्ता लिन आग्रह गरिएको वडाध्यक्ष महेशराज जोशीले बताउनुभयो । वडाध्यक्ष जोशीले पहिलो दिन ज्येष्ठ नागरिक, दोस्रो दिन एकल महिला तथा छुटेका ज्येष्ठ नागरिक र तेस्रो दिन दलित तथा छुटेका एकल महिलालाई भत्ता वितरणका लागि पालो छुट्याइएको बताउनुभयो । 

तर पालो अनुसार भत्ता लिन नआउँदा सामाजिक सुरक्षा भत्ता वितरणको समयमा वडा कार्यालयमा हुने भिडभाडले अन्य कामसमेत प्रभावित हुँदै आएको वडाध्यक्ष जोशीले बताउनुभयो ।