रमेश विश्वकर्मा
गुल्मी, कात्तिक ३० गते । गुल्मीमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गएको पाइएको छ । पछिल्लो डेढ वर्षको समयमा यस जिल्लामा विद्युतीय गाडीको सङ्ख्यासँगै प्रयोगकर्ता पनि बढ्दै गएका हुन् । विद्युतीय सवारीसाधन (ईभि) गाउँदेखि सदरमुकाम तम्घासहुँदै बुटवलसम्म घण्टैपिच्छे पुग्ने गरेका छन् । यस जिल्लामा हालसम्म ८१ वटा विद्युतीय सवारीसाधन सञ्चालनमा छन् ।
सुरुमा मैत्री यातायात प्रालि र आँगन यातायात प्रालिले विद्युतीय सवारीसाधन सञ्चालनमा ल्याएका हुन् । यी दुवै प्रालिले विद्युतीय सवारीसाधन सञ्चालनका लागि समिति नै गठन गरेका छन् । पछि गुल्मी यातायात प्रालि र पश्चिम नेपाल बस व्यवसायी प्रालिले पनि विद्युतीय सवारीसाधन सञ्चालन गरेका हुन् । विद्युतीय सवारीसाधनको लागि तम्घास, रिडी, अर्गली र बुटवलमा चार्जिङ स्टेशन रहेको पाइएको छ । बुटवलबाट तम्घास हुँदै गाउँका लागि पनि घण्टैपिच्छे छुट्ने बताइएको छ ।
मैत्री यातायातले १४ र १९ सिट क्षमता भएका ३० वटा विद्युतीय सवारीसाधन सञ्चालन ल्याएको छ । मैत्री बहुउद्देश्यीय सहकारी संस्थाले लगानी गरेको यस मैत्री यातायात प्रालिले जिल्लामा पहिलो पटक डेढ वर्ष अघि विद्युती सवारीसाधन सञ्चालनमा ल्याएको हो। यसले भाडादर ५९० रुपियाँ कायम गरेको छ । मैत्री यातायातमा निःशुल्क वाइफाइ, जिपिएस सेवा, सिसि क्यामेरा जडान र निःशुल्क पिउने पानीको सुविधा रहेको लगानीकर्ता तिलाचन पाण्डेले बताउनुभयो ।
उहाँका अनुसार मैत्री बहुउद्देश्यीय सहकारीमा आबद्ध सदस्यलाई भाडामा १० प्रतिशत छुट छ । मैत्रीले १९ सिट क्षमताका ७ वटा सवारी लगत्तै ल्याउँदैछ । मैत्रीले १५ करोड रुपियाँको लगानीमा सवारी सञ्चालनमा ल्याएको छ । आँगन यातायातका ११ र १६ सिट क्षमताका १९ वटा सवारीसाधन सञ्चालनमा छन् । यसले भाडादर ६०० रुपियाँ कायम गरेको छ । आँगनले विद्युतीय सवारीमा होटल र चार्जिङ स्टेशनसहित १२ करोड रुपियाँ लगानी गरेको आँगन यातायात प्रालिका अध्यक्ष गोपाल थापाले बताउनुभयो । यसमा सबै सवारी समितिमार्फत चलेका छन् । सामूहिक लगानी छ ।
गुल्मी यातायतले ११ र १६ सिट क्षमताका २७ वटा सवारीसाधन सञ्चालनमा ल्याएको छ । यसले तम्घास–बुटवल सेवाका लागि ६०० रुपियाँ भाडादर कायम गरेको छ । गुल्मी यातायातले ११ करोड ५० लाख रुपियाँ बराबरको लगानी गरेको छ । पश्चिम नेपाल बस व्यवसायी प्रालिले गुल्मीमा हाल पाँच वटा विद्युतीय सवारीसाधन चलाइरहेको छ । जसमा दुई करोड रुपियाँ बढिको लगानी रहेको छ । यहाँ सञ्चालनमा रहेका विद्युतीय सवारी सिजी कम्पनीको किङलोन, सिजीकै केवाइसी र स्वस्ति ग्रुपको ज्वलनका गाडीहरु छन् ।