• ३० कात्तिक २०८२, आइतबार

धेरैको रोजाइमा परेको बैङ्क

blog

नेपाल बैङ्कको मूल ध्येय नै ग्राहकलाई कसरी गुणस्तरीय र सहज ढङ्गले वित्तीय सेवा उपलब्ध गराउने भन्ने हो । ठुला उद्यमी व्यवसायीदेखि सामान्य आर्थिकस्तर भएका नेपालीजनको प्राथमिकतामा नेपाल बैङ्क सधैँ अग्रपङ्क्तिमा छ । नेपाल बैङ्क आफ्नो ८९ बर्से लामो यात्रामा लाखौँ नेपालीको मन जितेर उनीहरूको पहिलो रोजाइको बैङ्क बन्न सफल भएको छ ।

नेपालमा बैङ्किङ व्यवसायको जग शङ्खधर शाख्वाले ११ औँ शताब्दी पूर्व नै राखिदिएका हुन् । उनले त्यति बेला जनताको ऋण तिरिदिएका थिए भनिन्छ । मानदेवको पालामा मानाङ्क, गुणकामदेवको पालामा गुणाङ्क, रत्न मल्लको पालामा तामाको सिक्का तथा महेन्द्र मल्लको पालामा महेन्द्र मल्ली नामक मुद्रा प्रचलनमा ल्याएका थिए । गुणकामदेवले जनताबाट ऋण उठाइ काठमाडौँ स्थापना गरेको ऐतिहासिक प्रसङ्ग पाइन्छ । राजा जयस्थिति मल्लको शासनकालमा उनले सम्पूर्ण जनतालाई पेसाका आधारमा ६४ जातिमा विभाजन गरेका थिए । उक्त जातिमध्ये टङ्कधारी जाति पनि एउटा थियो, जसले मुद्रा सापटी दिने कार्य गर्दथ्यो । विसं १९३३ मा रणोद्वीप सिंहले स्थापना गरेको ‘तेजारथ अड्डा’ लाई पहिलो पटक सङ्गठित तवरले स्थापित भएको वित्तीय संस्था मान्न सकिन्छ । विसं १९८९ मा टक्सार अड्डाको स्थापना भई बैङ्किङ प्रणालीको सुरुवात भए पनि कानुनी रूपमा नेपाल बैङ्कको स्थापनालाई बैङ्किङ प्रणालीको टर्निङ पोइन्टका रूपमा लिन सकिन्छ । 

विश्वमा १७ औँ शताब्दी अर्थात् सन् १६९४ मा बेलायतमा स्थापना भएको ‘बैङ्क अफ इङ्ल्यान्ड’ सँगसँगै आधुनिक बैङ्किङ प्रणालीको विकास भएको हो । नेपालमा भने आधुनिक बैङ्किङ प्रणाली सुरुवात गर्न सन् १९३७ सम्म पर्खनु प¥यो । विसं १९९४ साल कात्तिक ३० गते नेपाल बैङ्क कानुन तयार गरी राणा प्रधानमन्त्री जुद्धशमशेरले आठ लाख ४२ हजार चुक्त पुँजी भएको नेपाल बैङ्क लिमिटेड स्थापना गरेका हुन् । 

नेपाल राष्ट्र बैङ्क ऐन, २०१२ अनुसार विसं २०१३ वैशाख १४ गते नेपाल राष्ट्र बैङ्क स्थापना भएको हो । राष्ट्र बैङ्कको स्थापनापछि नेपालको बैङ्किङ क्षेत्रलाई सुपरिवेक्षण, नियमन र नियन्त्रण गर्ने एउटा छुट्टै केन्द्रीय बैङ्कको स्थापना भएको हो । विसं २०४० सम्म नेपालमा दुई वाणिज्य बैङ्क (नेपाल बैङ्क लिमिटेड र राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड) र दुई विकास बैङ्क (कृषि विकास बैङ्क र नेपाल औद्योगिक विकास निगम (एनआइडिसी) गरी जम्मा चार वटा सरकारी बैङ्क मात्र स्थापना भएका थिए । सन् १९८० को दशकपछि विश्वभर आर्थिक उदारीकरणको लहर चल्यो र नेपाल पनि यसबाट अछुतो रहन सकेन । विसं २०४० को दशक आरम्भ सँगसँगै नेपालको अर्थतन्त्रमा उदारीकरणले प्रवेश पाएपछि बैङ्किङ क्षेत्र पनि लगानीका लागि खुला गरियो । संयुक्त लगानीका बैङ्क स्थापना हुन थाले । विसं २०४१ मा स्थापना भएको नबिल बैङ्क लिमिटेड नै निजी क्षेत्रको सहभागितामा विदेशी बैङ्कको संयुक्त लगानीमा स्थापना भएको पहिलो बैङ्क हो । 

देशले आर्थिक उदारीकरणको नीति अवलम्बन गरेपछि निजी क्षेत्रसमेतको सहभागितामा विदेशी बैङ्कको संयुक्त लगानीमा धेरै बैङ्क स्थापना हुन थाले । विसं २०४० देखि विसं २०५९ सम्ममा नबिल बैङ्क लि., नेपाल इनभेस्टमेन्ट बैङ्क, ग्रिनलेज बैङ्क, हिमालयन बैङ्कलगायत विभिन्न मितिमा १५ वटा वाणिज्य बैङ्क स्थापना भएका थिए । विसं २०५८ मा राष्ट्र बैङ्क ऐन, २०५८ जारी भएपछि राष्ट्र बैङ्कको अधिकार तथा कार्य क्षेत्र अभिवृद्धि भई नेपाल राष्ट्र बैङ्क एक स्वायत्त, अधिकार सम्पन्न र शक्तिशाली केन्द्रीय बैङ्कको रूपमा स्थापना भएको हो । विसं २०६३ मा बैङ्क तथा वित्तीय संस्थासम्बन्धी छाता ऐन लागु भएपछि बैङ्क तथा वित्तीय संस्थालाई क, ख, ग र घ वर्गमा विभाजन गरी अलग अलग कार्यक्षेत्र तोकेको हो । हाल बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ अनुसार बैङ्क तथा वित्तीय संस्था स्थापना भई सञ्चालनमा रहेका छन् । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार विसं २०८२ असोज मसान्तसम्ममा नेपालमा २० वाणिज्य बैङ्क, १७ विकास बैङ्क, १७ बित्त कम्पनी ५२ लघुवित्त र एक पूर्वाधार विकास बैङ्कसहित कुल १०७ वटा बैङ्क तथा वित्तीय संस्था र तिनका ११,५१२ शाखा सञ्चालनमा रहेका छन् । 

अर्थतन्त्रमा नेपाल बैङ्कको भूमिका

नेपाल बैङ्क नेपालको पहिलो बैङ्क हो र यही बैङ्कले नै नेपालमा बैङ्किङ प्रणालीको जग बसाल्ने काम ‘नेपाल बैङ्क लिमिटेड’ को स्थापनाबाट भएको हो । नेपालमा औपचारिक बैङ्किङ सेवाको सुरुवात मात्र नभई स्वदेशी मुद्रा प्रचलनमा सहजता ल्याउने श्रेय पनि नेपाल बैङ्क लिमिटेडलाई जान्छ । भारतीय रुपियाँको दबदबा रहेको समयमा आफ्नै देशको मुद्रा प्रचलनमा ल्याउन नेपाल बैङ्क लिमिटेडले खेलेको भूमिका इतिहासका स्वर्णिम पानामा लेखिइरहने नै छ । त्यसै गरी विसं १९९४ देखि २०१३ सालसम्म देशको केन्द्रीय बैङ्कको भूमिकासमेत निर्वाह गरेको नेपाल बैङ्क नेपालको वित्तीय क्षेत्रमा एउटा छुट्टै अनुभव बोकेको गौरवशाली बैङ्क हो । अर्थतन्त्रको मौद्रिकीकरण तथा देशैभर शाखा सञ्जाल विस्तारमार्फत वित्तीय पहुँच बढाएर एवं सरकारका नीति तथा कार्यक्रमको कार्यान्वयन गरी गरिबी निवारणमा योगदान दिएर उद्योग तथा वाणिज्य क्षेत्रको विकासमार्फत प्रत्यक्ष र परोक्ष रूपमा रोजगारी सिर्जना गरेर नेपाल बैङ्कले आर्थिक विकासमा प्रभावकारी भूमिका खेलिरहेको छ । 

साना मझौला एवं ठुला सबै खाले उद्यम र परियोजनामा बैङ्कले ऋण लगानी गरेको छ । कृषि, पर्यटन, जलविद्युत्लगायत सरकारको नीति अनुसार प्राथमिकता प्राप्त क्षेत्रमा बैङ्कको लगानी उल्लेख्य छ । नेपाल बैङ्कले आफ्नो लगानीलाई कुनै निश्चित क्षेत्रमा केन्द्रीकृत नगरी विभिन्न क्षेत्रमा विविधीकृत गरिरहेको छ । लगानी विविधीकृत गरिएकै कारण यस बैङ्कले कर्जा जोखिमको समस्यालाई न्यूनीकरण गर्न सकिरहेको देखिन्छ । साना, मझौला तथा ठुला उद्योग, व्यापार व्यवसाय, कृषि, पर्यटन, जलविद्युत्लगायत सरकारी नीति अनुसार प्राथमिकता प्राप्त क्षेत्रमा बैङ्कको लगानी उल्लेख्य छ । 

आमनेपालीसँगको सम्बन्ध

स्थापनाकालदेखि हालसम्म पनि अनवरत सेवा प्रवाह गर्दै आएको नेपाल बैङ्क नेपाली माटो र हरेक नेपालीजनसँग प्रगाढ सम्बन्ध गासिएको बैङ्क हो । बालक, युवा र प्रौढ हुँदै ज्येष्ठ नागरिक सबैको पहिलो रोजाइको बैङ्क बन्न सफल नेपाल बैङ्कमा हाल २६ लाख बढी ग्राहक छन् । पुस्तौँदेखि पुस्तासम्म गहिरो इतिहास भएको यो बैङ्क हाल ‘सबै पुस्ताको साथी’ का रूपमा अगाडि बढिरहेको छ । सरकारी वित्तीय काराबार गर्ने जिम्मेवारी पाएका कारणले पनि नाफा मात्र नभई उच्च सेवा भावले आमनेपालीको मन मस्तिष्कमा रहन यो बैङ्क ओतप्रोत छ । बैङ्कको मूल ध्येय नै ग्राहकलाई कसरी गुणस्तरीय र सहज ढङ्गले वित्तीय सेवा उपलब्ध गराउने भन्ने हो । ठुला उद्यमी व्यवसायीदेखि सामान्य आर्थिक स्तर भएका नेपालीजनको प्राथमिकतामा नेपाल बैङ्क सधैँ अग्रपङ्क्तिमा छ । नेपाल बैङ्क आफ्नो ८९ बर्से लामो यात्रामा लाखौँ नेपालीको मन जितेर उनीहरूको पहिलो रोजाइको बैङ्क बन्न सफल भएको छ । 

वर्तमान अवस्था

बैङ्कले नेपालभर २३१ शाखामार्फत कारोबार गर्दै आएको छ । शाखाबाहेक २३७ वटा एटिएम, ६१ वटा एक्सटेन्सन काउन्टरमार्फत देशैभर आफ्नो गतिलो उपस्थिति जनाएको छ । यति मात्रै होइन, हाल आएर नेपाल बैङ्कले आफ्ना लगानीकर्तालाई आकर्षक प्रतिफल दिन सफल भइरहेको छ । बैङ्कका सबै वित्तीय सूचक स्वस्थ र सन्तुलित देखिन्छन् साथै हरेक वर्ष ती सूचकमा उल्लेख्य प्रगति भइरहेको छ । विसं २०८२ असार मसान्तसम्म ३३२ रुपियाँ अर्ब निक्षेप सङ्कलन गरी २३६ अर्ब कर्जा प्रदान गर्न बैङ्क सफल भएको छ । ८८ वर्षअघि आठ लाख ४२ हजार रुपियाँबाट सुरु भएको नेपाल बैङ्कको चुक्ता पुँजी अहिले १४.६९ अर्ब छ । प्रत्येक वर्ष सञ्चालन मुनाफा बढिरहेको छ । बैङ्कको जगेडा कोषमा २३.९३ अर्ब रुपियाँ रहेको छ भने ३८ अर्ब बढी नेटवर्थ छ । प्रशस्त अचल सम्पत्ति, कासा निक्षेप, आधार दरको न्यूनता, स्प्रेड दर व्यवस्थापन, ब्याजदरको सन्तुलित उतारचढाब, खराब कर्जा व्यवस्थापनलगायतका सूचकमा समेत बैङ्क दरिलो देखिन्छ । 

आधुनिक प्रविधिको प्रयोग

नेपाल बैङ्कले समयसँगै प्रविधिको उच्चतम प्रयोग र ग्राहक सुविधामा डिजिटल प्रविधिको प्रयोगलाई उच्च प्राथमकिता दिएर अगाडि बढेको छ । नेपाल बैङ्कका नौ लाख ४४ हजार ग्राहकलाई मोबाइल बैङ्किङ सुविधा, ३० हजार ग्राहकलाई इन्टरनेट बैङ्किङ सुविधा, तीन लाख ६२ हजार ग्राहकलाई डेबिट कार्ड सुविधा, चार हजार पाँच सय ग्राहकलाइ क्रेडिट कार्ड सुविधा, एक लाख १५ हजार ग्राहकलाई मेरो सेयर तथा सिआस्वा सुविधा, ४६ हजारभन्दा बढी क्युआर वितरण गर्दै देशका विभिन्न ठाउँमा रहेका २३७ एटिएम मेसिनबाट नगद निष्कासन गर्ने सुविधा तथा ट्राभल कार्डमार्फत विदेशबाट समेत कारोबार गर्ने व्यवस्था गरेको छ । 

आधुनिक बैङ्किङलाई आत्मसात् गर्दै अनलाइन चेक किल्यरिङ मेसिनमार्फत चेक किल्यरिङ गर्ने र क्यास डिपोजिट मेसिनमार्फत ग्राहक आफैँले नगद जम्मा गर्ने व्यवस्थासमेत गरेको छ । एटिएम कार्डमा ईकमर्स सुविधा र मोको डिजिटल वालेटमार्फत कारोबार गर्ने सुविधा थप्दै आधुनिक समयमा प्रचलित रहेका विभिन्न अनलाइन प्लेटफर्ममा समेत कारोबार गर्ने व्यवस्था गरेको छ । यसका साथै ग्राहक घरमै बसी बसी अनलाइनबाट र नागरिक एपबाट खाता खोल्ने सुविधा, अनलाइनबाटै डिम्याट खाता खोल्ने सुविधासमेतको व्यवस्था गरेको छ । 

सारांश

विसं १९९४ देखि हालसम्म नेपाली अर्थतन्त्रको विकासमा नेपाल बैङ्कको अतुलनीय योगदान छ । देशमा मौद्रिकीकरण गर्न, वित्तीय साक्षरताको स्तर माथि उकास्न, व्यापार व्यवसाय विस्तार गर्न, लगानीका अवसर सिर्जना गर्ने र ग्रामीण अर्थतन्त्रको विकासमा जोड दिई विपन्न वर्गको जीवनस्तर सुधार गर्न र गरिबी निवारण गर्नमा नेपाल बैङ्कले अग्रणी भूमिका खेलेको छ । सबै नेपालीलाई गुणस्तरीय र प्रविधिमैत्री बैङ्किङ सेवा उपलब्ध गराउन प्रतिबद्ध भई खरो प्रतिस्पर्धामा उत्रिएको बैङ्क ‘समयसँगै अघि बढ्दै’ भन्ने मूल नारालाई आत्मसात् गर्दै अघि बढिरहेको छ । आधुनिक प्रविधिसँगै साक्षात्कार गर्ने युवापुस्ता, करिब २५०० कर्मचारी, आमग्राहक, सेयर होल्डर, कुशल व्यवस्थापन र नियामक निकाय नै यस बैङ्कका सफलताका कडी हुन् । हाल आएर नेपाल बैङ्कले आफ्नो ग्राहक सेवामा जुन फड्को मारिरहेको छ, त्यसै अनुसार आमग्राहकको धारणामा समेत व्यापक परिवर्तन आएको देखिन्छ । 

 नेपाल बैङ्क मुलुकको उन्नति र प्रगतिका मामिलामा नाफा र घाटा मात्र नहेर्ने बैङ्क भएकाले नै आज अनवरत विश्वासको ८९ औँ वर्षमा प्रवेश गरेको हो र यसको सफलताको यात्रा निरन्तर जारी रहने छ । नेपालको बैङ्किङ इतिहासमा कात्तिक ३० एउटा महìवपूर्ण दिन हो र यस दिनलाई नेपालको बैङ्किङ क्षेत्रले एउटा विशेष दिनका रूपमा मनाउन आवश्यक छ ।