• ३० कात्तिक २०८२, आइतबार

हुलाकी सडक पूर्वपश्चिम राजमार्गको विकल्प बन्दै

blog

केमा निर्माणाधीन अवस्थामा रहेको हुलाकी सडक पूर्वपश्चिम राजमार्गको सहज वैकल्पिक मार्ग । तस्बिर : रासस

राँझा (बाँके), कात्तिक ३० गते । बाँकेमा निर्माणाधीन अवस्थामा रहेको हुलाकी सडक पूर्वपश्चिम राजमार्गको सहज वैकल्पिक मार्गका रूपमा प्रयोग हुन थालेको छ । हुलाकी सडकअन्तर्गत राप्तीसोनारी गाउँपालिका–६ कुण्डाचोकदेखि अगैयासम्म जोड्ने हुलाकी सडकमा सवारीसाधनको चहलपहल उल्लेख्य रूपमा बढ्दै गएको छ । विशेषगरी नेपालगञ्जबाट दाङतर्फ आवतजावत गर्ने यात्रुले अहिले यसै मार्गलाई प्राथमिकता दिन थालेका छन् ।

नेपालगञ्जबाट कोहलपुर हुँदै पूर्वपश्चिम राजमार्गमा अगैया पुग्ने भन्दा हुलाकी सडकको दूरी छोटो पर्ने भएकाले यात्रुले यो सडक प्रयोग गर्ने क्रम बढेको भेरी बस व्यवसायी सङ्घका नेपालगञ्जका अध्यक्ष जुनबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार कोहलपुरबाट अगैया पुग्न बाँके राष्ट्रिय निकुञ्जको टाइम कार्ड पालना गर्नुपर्ने भएकाले पनि हुलाकी राजमार्गमा सवारी आवागमनको चाप बढ्दै गएको हो । हुलाकी सडक निर्माण भएपछि बाँकेको राप्तीपारिका बिनौना र बैजापुरवासीलाई आवागमनमा सहज भएको छ ।

हुलाकी सडकअन्तर्गत बाँकेको फत्तेपुरदेखि बैजापुरसम्मको सडक कालोपत्र भएपछि राप्तीसोनारी गाउँपालिकाका बासिन्दालाई सदरमुकाम नेपालगञ्ज आवतजावत सहज भएको राप्तीसोनारी–५ बिनौनास्थित भुवरभवानी माविका प्रधानाध्यापक चेतबहादुर विष्टले बताउनुभयो । यो सडक निर्माण भएपछि राप्तीसोनारी–१, २, ३, ४, ५ र ६ का बासिन्दालाई नेपालगञ्ज पुग्न सहज भएको उहाँको भनाइ छ । फत्तेपुर, बिनौना र बैजापुरवासीलाई गाउँपालिकाको केन्द्र अगैया पुग्न पनि सहज भएको छ ।

सडक कालोपत्रसँगै बीचमा पुल र कल्भर्ट निर्माणसमेत भएको छ । सडक निर्माण भएपछि गाउँपालिका कार्यालय आवातजावत गर्न धेरै सहज भएको राप्तीसोनारी गाउँपालिका–७ का वडाध्यक्ष रामलखन थारूले बताउनुभयो । हुलाकी सडक बनेसँगै अहिले पूर्वपश्चिम राजमार्गको वैकल्पिक सडकका रूपमा सर्वसाधारणले यो सडक प्रयोग गर्न थालेका छन् । अगैयाबाट बैजापुर, बिनौना, फत्तेपुर हुँदै सोझै नेपालगञ्ज आउन सकिने भएकाले यो सडक छोटो पर्ने वडाध्यक्ष थारूको भनाइ छ ।

हुलाकी सडकअन्तर्गत राप्ती नदीको सिधनियाघाटमा फराकिलो पक्की पुल निर्माण हुँदैछ । पुल निर्माणसँगै नदीले कटान तथा डुबान गरेको सडकलाई व्यवस्थित गरेपछि सवारी आवागमनमा थप सहज हुने भएको छ । साँघुरो पुल भएका कारण हाल सवारीसाधन पालो कुरेर नदी पार गर्नुपर्ने बाध्यता छ । निर्माणाधीन पुल ११ मिटर चौडाइको भएकाले पुलमा सवारीसाधन सहजै वारपार गर्न सकिने छ ।

सिधनियाघाटमा पक्की पुल निर्माणकार्य धमाधम भइरहेको छ । पुल निर्माणमा ५० प्रतिशतभन्दा बढी प्रगति भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख लीलाबहादुर भण्डारीले जानकारी दिनुभयो । हुलाकी सडक पछिल्लो समय नेपालगञ्जबाट दाङ हुँदै पूर्वतर्फ जानका लागि वैकल्पिक मार्गका रुपमा प्रयोग भइरहेकाले फराकिलो पुल बनेपछि थप सहज हुने उहाँको भनाइ छ । रासस