• ३० कात्तिक २०८२, आइतबार

सङ्कटा मन्दिरमा भक्तजनको भिड

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक ३० गते ।  न्युरोडस्थित टेबहालमा रहेको सङ्कटा मन्दिरमा शनिबार भक्तजनको भिड लागेको थियो । कात्तिक महिनाको अन्तिम शनिबार सङ्कटा मन्दिरमा भिड लाग्ने गरेको छ । शनिबार सङ्कटा मन्दिर दर्शन गर्न जाने भक्तजनको लाइन न्युरोड गेटदेखि नै थियो । सङ्कटा मन्दिरमा दर्शन गरेपछि मानिसका हरेक सङ्कट अन्त्य हुने विश्वास रहिआएको छ । 

संस्कृतिविद् तथा प्राडा वीणा पौड्यालका अनुसार सङ्कटा मन्दिर काठमाडौँका अन्य मन्दिरभन्दा फरक छ । काठमाडौँका अधिकांश मन्दिर भुइँ तलामा राखिएका छन् भने दुईतले सङ्कटा मन्दिरमा पाँच वटा गजुर रहेका छन् भने मन्दिरको तल्लो तलामा रातो मत्स्येन्द्रनाथको मूर्ति अवस्थित छ । माथिल्लो तलामा सङ्कटाको मूर्ति छ । हरेक देवीदेवतालाई विभिन्न बारसँग मान्ने गरिन्छ । त्यही अनुरूप तन्त्रसाधना र मन्त्र अभ्यासका लागि छिटो कुरा लागु होस् भन्नका लागि सङ्कटामा पूजाआजा गर्ने चलन रहिआएको उहाँले बताउनुभयो । “कुनै तन्त्रमन्त्र धारण गर्नु प¥यो भने सङ्कटामै गर्ने चलन छ’’, उहाँले भन्नुभयो । 

बिहान १० बजेदेखि लाइनमा बसेको बल्ल ५ बजे पालो आएर दर्शन गर्न पाएको मन्दिर दर्शन गर्न आउनुभएका कमलपोखरी निवासी हरेराम शर्माले बताउनुभयो । उहाँका अनुसार शनिबारको दिन यसै नै मन्दिर गइन्छ, त्यसमाथि यहाँ आए पनि आफ्नो ग्रहदशा जाने तथा सङ्कट कम हुने विश्वास रहेको छ । “लाइनमा बसेर मन्दिर दर्शन गर्नुको मजा पनि त बेग्लै हुन्छ,” उहाँको भनाइ थियो । लिच्छविकालमा राजा नरेन्द्रदेवका पालामा स्थापना भएको भनिएको प्यागोडा शैलीमा निर्माण यो मन्दिर हिन्दु र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा परिचित छ ।