अमृतप्रसाद पौडेल
म्याग्दी, कात्तिक ३० गते । हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिकाको आयोजनामा आयोजित नगर स्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड विद्यालयस्तरीय खेलकुद प्रतियोगिता न्यू वेष्ट पोइन्ट आवासीय माध्यमिक विद्यालयले जितेको छ ।
बिहीबारदेखि सुरु भएर शनिबार सम्पन्न प्रतियोगितामा न्यू वेष्ट पोइन्टले २१ स्वर्ण, १५ रजत र १६ कास्य पदक जित्दै उपाधी हात पारेको हो । प्रकाश माध्यमिक विद्यालयले २१ स्वर्ण, ११ रजत र ५ कास्य पदकसहित दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भएको छ ।
समान स्वर्ण पदक भए पनि रजत पदकमा भएको अन्तरको आधारमा रनिङ शिल्डको टुङ्गो लगाइएको बेनी नगरपालिकाले जनाएको छ । प्रकाश माध्यमिक विद्यालय गत वर्षको विजेता हो ।
बेनी नगरपालिका ७ को बेनी सामुदायिक माध्यमिक विद्यालयले ११ स्वर्ण, १५ रजत र १२ कास्य पदकसहित तेस्रो स्थान हासिल गरेको छ ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा एथलेटिक्स तर्फ २६, भलिबल २, कबड्डी २, कराँते १२, तेक्वान्दो १२ र उसुमा १२ गरी कुल ६ विधामा ६६ स्वर्ण पदकका लागि खेल भएको थियो । प्रतियोगितामा बेनी नगरपालिका भित्रका २७ विद्यालयका आठ सयभन्दा बढि विद्यार्थीले सहभागी भएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिनुभयो ।
प्रतियोगिताका विजेताले नगद ५१ हजार, रनिङ शिल्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै, दोस्रो र तेस्रो हुने विद्यालयले क्रमशः ४० हजार र ३० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगिताको शनिबार पुरस्कार वितरणसहित समापन गरीएको छ । समापन कार्यक्रममा नगर प्रमुख सुरत केसी, उपप्रमुख ज्योति लामिछाने, प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संयोजक चक्र केसीलगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।