साहारा लिम्बू
फुङलिङ, कात्तिक २९ गते । ताप्लेजुङको हाङदेवामा लडेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा फुङलिङ नगरपालिका १० फुरुम्बुका बीरबहादुर नुगो लिम्बू (सुविदार साइला)का ७ वर्षीया छोरी अर्पणा नुगो लिम्बू रहेका छन् ।
फुङलिङ नगरपालिका ९ हाङदेवामा डेरा गरी बसेका बालिकाको शुक्रबार साँझ लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रोहित शर्मा बढइले जानकारी दिनुभयो । उहाँका अनुसार निर्माणाधीन मादेन वंशको माङहिम मन्दिरबाट लडेर बालिकाको मृत्यु भएको हो ।
घटना लगत्तै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी निरीक्षक जट्टा शंकर यादवको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको थियो । उक्त टोलीले शवको कानुनी प्रक्रिया पूरा गरेर शव सदरमुकाम ल्याएको प्रहरीको भनाइ छ । जिल्ला अस्पताल ताप्लेजुङको शव गृहमा राखिएको शवको पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।