सुरुङ्गा (झापा) कात्तिक २९ गते । झापाको बुद्धशान्ति गाउँपालिका–६ सन्तपुरका एक वृद्धले आफ्नो शरीरमा आगो लगाएका छन् । शनिबार राति करिब ११:३० बजे ८४ वर्षीय डिल्लीराम अधिकारीले घरबाहिर आगनमा गएर पेट्रोल खन्याई आफ्नै शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
डिल्लीरामका काइला छोरा भोगेन्द्र अधिकारीले राति करिब १ बजे बुबालाई अचेत अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय (इप्रका) बुधबारेमा जानकारी गराएका थिए ।
सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय बुधबारेबाट प्रहरी नायब निरीक्षक चन्द्रबहादुर राउतको नेतृत्वमा खटिएको टोलीले घटनास्थललाई सुरक्षित गरेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान तथा कानूनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय धुलाबारेबाट प्रहरी नायब निरीक्षक नकुलराज गौतमको नेतृत्वमा अर्को टोली घटनास्थलतर्फ खटिएको छ ।
परिवारजनका सदस्यहरूले डिल्लीरामको मृत्यु भइसकेको जनाएका छन् । उनीहरूका अनुसार उहाँले केही समयदेखि डिप्रेसनको उपचार गराइरहनु भएको थियो । केही महिना अघिमात्र उहाँले प्रोस्टेटसम्बन्धी शल्यक्रिया पनि गराउनुभएको थियो । रासस