अहिले त के पाप, के पुण्य ? के संविधान, के कानुन ? सत्तामा पुग्नेले जाने जति मनपरी गरून् भन्ने दिन पो आएछ त । यस्तो परिवेशमा पनि छक्क नपरेर के गर्नु त रु तपाईं नै भन्नुहोस् न । बोलूँ सत्ताले पेल्ला भन्ने डर, नबोलूँ अन्याय सहने पनि अन्यायीकै मतियारमा गणना हुन्छ भन्ने नै छ । कस्तो धर्मसङ्कट छ आफूलाई ।
अचम्म भन्नेबित्तिकै सामान्यभन्दा पृथक् केही फरक भन्ने अनुमान भइहाल्छ । जब मान्छे कुनै गतिविधि देखेर, सुनेर, पढेर छक्क पर्दछ तब अचम्म जोडिन आइहाल्दछ । जब नसोचेको कुरा भइदिन्छ, आश्चर्यजनक काम हुन्छ, नचिताएको काम भइदिन्छ, अचम्म त्यही नै त हो । उल्टोसुल्टो दुवैसँग अचम्म जोडिइरहेको हुन्छ । अद्भुत, अनौठो, उदेकलाग्दो विषय पनि अचम्मसँग नै जोडिएर रहने गरेको हुन्छ । असामान्य परिवेश नै अचम्मपनको स्रोत हो भन्दा फरक पर्दैन भन्ने मेरो ठम्याइ छ । कृत्रिमताभित्र त अचम्म मान्नुपर्ने धेरै कुरा हुने रहेछन् भने मान्छेलाई अचम्मित पार्ने प्राकृतिक पक्ष त कति छन् कति । यद्यपि एउटाले अचम्म मानेको विषय अर्काका लागि सामान्य पनि हुन सक्छ । सबै मान्छे एउटै कुरामा अचम्मित हुन्छन् भनेर ठोकुवा गर्न सक्ने अवस्था हुँदैन । मान्छेको ग्रहणशीलतामा अचम्म आधारित हुने गर्दछ । कि कसो ? ल भन्नुस् त तपाईंलाई अचम्म लागेको कुराले मलाई पनि अचम्मित पारिहाल्छ भन्ने त छैन । मैले अचम्म मानेको कुरा तपाईंलाई सामान्य लाग्न पनि सक्छ । होइन त ?
गाडीवाल पैदल हिँडे अचम्म । छाप्रोवाला महलवाला भए अचम्म । सुधो मान्छे जङ्गिए अचम्म । बोलक्कडले बोल्न बन्द गरे अचम्म । युवाको ‘बिएफजिएफ’ नभए अचम्म । उटपट्याङले सही कुरा गरे अचम्म । भलाद्मी पात्तिए अचम्म । केटाले सारी लगाए अचम्म । बच्चोले गम्भीर कुरो गरे अचम्म । जब कुनै ठाउँविशेष, कुरो आफ्नो कल्पना अनुमानभन्दा फरक भई छक्क पार्ने हुन्छ तब अचम्म भइहाल्छ । भैँसीको पाडो जन्मेको केहीबेरमा नै दौडेर माउको थुनबाट दुध चुस्न थाल्छ तर यो अचम्म नभई सामान्य हो । मान्छेको बच्चोले त्यसो ग¥यो भने अचम्म भइहाल्छ । उहिले अचम्म मानिने लिङ्ग परिवर्तन, भ्रष्टाचार अहिले भने सामान्य ।
अचम्मका किसिम र पन फरक हुन्छन् । गाईको बाच्छोको झैँ मान्छेको बच्चोको पनि जन्मँदा नै दाँत भरिभराउ भए घोर अचम्म हुन्छ । दिगम्वरका माझमा वस्त्रधारी बस्नु अचम्म नभएर के हुन्छ ? ल भन्नुस् त । कहिलेकाहीँ कुनै पुरुषले ‘चिबे नकटो’ को पदवी पाउँछ । त्यो अचम्म नै त हो । ज्वाइँको धन्दा अचम्मको भएर नै त घरज्वाइँलाई खानको धन्दा भनिएको होला नि त । कि कसो ? परिवेश नै अचम्मको स्रोत हो । मान्छे स्वयम् नै अचम्मको जन्तु हो । कोहीसँग दयालु त कोहीसँग दुष्टपन प्रदर्शन गरिरहेको हुन्छ । कसैको नमिल्ने काम पनि बनिरहेको हुन्छ त कसैको बन्नैपर्ने काम पनि बनिरहेको हुँदैन । यस्तो पनमा कोही दङ्ग परेको त कोही अचम्म परिरहेको अवस्था हुन्छ । कुनै हालतमा नहार्नुपर्नेले हारेमा अचम्म हुने नै भयो । कुनै पनि हालतमा नजित्नुपर्नेले जितेमा पनि अचम्म नै त हो । सुन्दा यस्तो कुरा अचम्म नै त हो । होइन त ? कि झोला भिरेकाले अर्कै सोच्नुभयो । तपाईंले जे सोचे पनि यथार्थ अचम्म पार्ने नै हो क्यारे ।
अचम्मको कुरा गर्दा कवि कालीदास र राजा भोजको संवाद याद आयो । एक दिन कालीदासले भोजलाई दरबारमा कविता सुनाए । त्यसबापत पारिश्रमिक दिन भोजले हात बढाउँदा कालीदासले मलाई राज्यको सम्पत्ति होइन कि तपाईंको मेहनतको कमाइ पारिश्रमिकका रूपमा चाहिन्छ भनी हात नथापेर राजालाई अचम्मित पारिदिए । कालीदासको व्यवहारले अकमक्क परेका राजा भोजले अर्को दिन पारिश्रमिक लिन बोलाए । अर्का दिन बोलाएको समयमा दरबारमा कवि पारिश्रमिक लिन पुगे । कवि आएको देखेर राजाले १६ वटा तामाको सिक्का उनको हातमा राखिदिए । कसरी यो सिक्का तपाईंको हातमा आयो भनी कालीदासले अचम्मित हुँदै सोधेपछि आफ्नो कालो हात देखाउँदै रातभरि तातो फलामलाई घनले पिटेर कमाएको धन हो भनी भोजले बताए ।
शासकले देश र जनताको सम्पत्तिमा मनपरी गर्नु हुँदैन भन्ने कविको औँलो ठड्याइ र व्यक्तिगत काममा राज्यकोष खर्च गर्दा जनताले खबरदारी गर्छन् भन्ने राजाको बुझाइ वास्तवमा नै अचम्मलाग्दो छैन त ? उहिलेका शासक र जनता दुवै अचम्मका । चाणक्यले पनि देशका लागि काम गर्दा राज्यकोषको र आफ्ना लागि काम गर्दा आफ्नै कोषको टुकी बाल्ने गर्दथे । अहिले यो कुरा सुन्दा कम अचम्म लाग्छ त ?
अचम्म केमा छैन ? द्वापरयुगमा महिला र पुरुष सार्वजनिक ठाउँमा आपसमा कुरो गरेको देखेर राजा युधिष्ठिर अचम्ममा परे । मान्छे नभएको घरमा ताल्चा मारेको देखेर उनी छक्क परे । त्यति मात्र कहाँ हो र किसानले खेतमा नै हलो नछाडी बेलुका घर फर्कंदा काँधमा बोकेर लगेको देखेर उनी आश्चर्यचकित भए । एक्कासि ती दृश्य देख्दा अचम्म नपर्ने कुरा के हुन्थ्यो र ? कस्तो मान्नु भयो प्राचीन कथा ? अचम्म लागेन ?
संविधानको पाना पल्टाउँदा संविधानले कोरेको सीमाभन्दा बाहिर गई बनेको कानुन अमान्य हुने थाहा हुन्छ । त्यसै गरी सबै व्यक्तिले संविधानको पालना गर्नु पर्छ भन्ने पनि थाहा हुन्छ । साथसाथै देवनागरी लिपिमा लेखिने नेपाली भाषा देशको सरकारी कामकाजको भाषा हो भन्ने पनि जानकारी हुन्छ । यसमा अचम्म केही पनि छैन । किन त्यो बेहोरा लेखियो होला भनेर चाहिँ अचम्म नै मान्नु पर्छ । जब तपाईंको हातमा नागरिकताभन्दा पनि ठुलो संविधानले नचिनेको राष्ट्रिय परिचयपत्र हात पर्छ तब अचम्म मात्र होइन, महाअचम्ममा परिन्छ । त्यति मात्र कहाँ हो र सवारीधनीले अङ्ग्रेजी भाषामा नै लेखिएको सवारीसाधनको अङ्कपाता राख्नैपर्ने बाध्यता सिर्जना गरिँदा म तीनछक पर्छु । संविधानको त्यो अभिव्यक्तिको रहस्य त यस्तो पो रहेछ भनेर अचम्ममा पर्छु । के पागल निबन्ध लेखेको होला भनी अचम्ममा पर्नुभयो होला तपाईं । मान्नै पर्छ हाम्रा पुर्खालाई, जसले ‘नखाऊँ भने दिनभरिको सिकार खाऊँ भने कान्छा बाबुको अनुहार’ भन्ने टुक्का बनाए । सानो छँदा त्यो टुक्का पढेर के भनेको होला भनेर अचम्मित हुन्थेँ । के भनेको हो भनी आमालाई सोध्दा त्यो भन्नेले बाँदर मारेछ क्या भन्नुहुन्थ्यो । आमाको त्यो कथन सुनेर पनि महापाप नै पो भएको रहेछ भनेर म छक्क नै परेको थिएँ ।
अहिले त के पाप, के पुण्य ? के संविधान, के कानुन ? सत्तामा पुग्नेले जाने जति मनपरी गरून् भन्ने दिन पो आएछ त । यस्तो परिवेशमा पनि छक्क नपरेर के गर्नु त ? तपाईं नै भन्नुहोस् न । बोलूँ सत्ताले पेल्ला भन्ने डर, नबोलूँ अन्याय सहने पनि अन्यायीकै मतियारमा गणना हुन्छ भन्ने नै छ । कस्तो धर्मसङ्कट छ आफूलाई । यो भन्दा अचम्म मान्ने कुरो अरू केही होला त मान्छेको दुनियाँमा ? डाँकु रत्नाकर ऋषि वाल्मीकिमा सर्लक्कै बदलिएको कथा आज कसैलाई पत्यार लाग्दैन । योभन्दा ठुलो अचम्म अरू के हुनु ल ।
गाँठी कुरो नफुकाएर कति पहेली बाँधेको ? प्राकृतिक रूपमा बच्चा जन्माउँदा दुख्छ, चिरफार गरी बच्चो निकाल्नु पर्छ भन्ने सुझाएर दाम झ्वाम पार्ने चिकित्सक जस्तो बेहोरा नगर न हो; ए, दिमाग खाने डाक्टर भन्नु होला । दुधको दुध पानीको पानी भन्नुपर्दा अचम्म लाग्ने खास कुरो के हो भने युनिकोड, नागरिकता, सवारीचालक अनुमतिपत्र, सवारी अङ्कपाटी, राष्ट्रिय परिचयपत्रका सम्बन्धमा संविधानको भनाइ र सरकारी गराइ नदीका दुई किनारा जस्तो भई अचम्मलाग्दा पो भइदिए त । संविधानले नचिनेको कुरालाई राज्यशक्तिले चिनेको छ भनेर ढ्वाङ फुकेपछि भएन त अचम्म ? योभन्दा छक्क पार्ने आश्चर्यजनक कुरो अरू के नै होला त दुनियाँमा ? आचारमा भ्रष्टपन आश्चर्यजनक कुरो होइन भने भन्नुहोस् । यो होइन भने तपाईं नै भन्नुहोस् न त हो के त ? छ त ताकत ? सक्नुहुन्छ भने आउनुस्, देशको गालामा गुराँस फुलाउन शब्दसँग भिडौँ । वाक्यसँग सिँगौरी खेलौँ ।
सरकारी कामको भाषा नेपाली भन्ने संविधान कसका लागि बनेको रहेछ तपाईंलाई थाहा छ कि ? राज्यशक्ति त त्यो अभिव्यक्तिको हुर्मत लिइरहेको छ । यसलाई अचम्म मानेर विरोध गर्नेमाथि हाकाहाकी लौरो सोझ्याइरहेको छ । योभन्दा ठुलो आश्चर्य अन्त कतै खोज्न जानु पर्छ त ? लागिपरेर शिला खोज्ने हो भने त अझै कति भेटिएला त्यस्ता आश्चर्यरत्न । तपाईंले मैलेभन्दा अझै चामत्कारिक आश्चर्य देख्नु, भोग्नुभएको छ भने लेख्नुस् न ल । तन्नेरीको गालामा डन्डिफोर आउँदा अचम्म हुँदैन तर वयस्कको गालामा देखा प¥यो भने त अचम्म नै त हो नि ! जनताको प्रतिनिधित्व गर्ने धाक जमाएर सत्तामा पुग्ने अनि तिनै मतदाताको टाउकोमा लाठी बजार्ने धन्दा कम अचम्मको हो त ? अनि आश्चर्य मान्दै छक्क पर्नु परेन त, किन रोइस् मङ्गले आफ्नै ढङ्गले भन्दै ढयाङ्ग्रो ठटाएर ।
भन्दाभन्दै झन्डै छुटाएको । जुवाडे राजा भोजलाई निजकै साथी कालीदासले जुवाको लत छुटाएको रहेछ नि । हेर्नुहोस् त कस्तो अचम्म, एउटा साथीको सेरोफेरो सबै मेरो, मेरोअगाडि तेरो दाल गल्दैन भन्ने सुर गुमाएको शासकलाई सुरमा ल्याउने ताकत । सुन्दा छक्क पार्ने यो यथार्थ आश्चर्यजनक छैन त ? कि तपाईं अझै छक्क पर्नुभएन ? राजा भोजको कालो हत्केला देखेर आत्तिनुभयो कि क्या हो ? त्यसो हो भने त मलाई अचम्म हुने नै भयो ।