• २९ कात्तिक २०८२, शनिबार

सत्यवति क्षेत्रमा बर्सेनी रमाइलो गर्न आउँछन् विदेशी पर्यटक

blog

सत्यवतिमा रमाउँदै अमेरिकन पर्यटक । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा (गुल्मी), कात्तिक २९ गते ।
गुल्मीको धार्मिक तथा पर्यटकीय क्षेत्र सत्यवति अमेरिकन पर्यटकले भरिएको छ । सत्यवति क्षेत्रमा बर्सेनी विदेशी पर्यटक घुम्न आउने गरेका छन् । नेपाल सरकारका नयाँ सय पर्यटकीय गन्तव्य मध्येमा पर्ने गुल्मी जिल्लाको सत्यवती क्षेत्र प्रसिद्ध पर्यटकीय क्षेत्र हो ।

चिच्याएर बर माग्ने धार्मिक क्षेत्रको रुपमा रहेको सत्यवति पार बडिगाडको ठुलो धार्मिक आस्थाको केन्द्र हो । लुम्बिनी प्रदेशको सबैभन्दा अग्लो स्थानमा रहेको सत्यवति क्षेत्रबाट उत्तरका मनमोहक हिमालहरुको आनन्द लिन सकिने भएकाले फारएक्फोलर कम्पनीले बर्सेनी पर्यटक घुमाउन ल्याउने गरेको छ ।

अमेरिकन पर्यटकलाई ठुलोलुम्पेकका स्थानीयले पञ्चेबाजा, सोरठीलगायतका स्थानीय कलासँस्कृति प्रस्तुत गरेर स्वागत गर्ने गरेको सत्यवति गाउँपालिका ३ का वडाध्यक्ष जितबहादुर तरामुले जानकारी दिनुभयो । प्रत्येक वर्ष फरकफरक देश युके, जर्मन, नर्वे र अमेरिकालगायतका देशबाट नागरिक आउने गरेका छन् । बिदाको समयमा घुम्ने पर्यटकहरु धेरै छन् ।

गत वर्ष हलिउडका निर्माताहरु समेत सत्यवतिमा आएको तरामुले बताउनुभयो । ठुलोलुम्पेकमा स्थानीय कलासँस्कृतिमा आधारित सोरठी, कौरा, झ्याउँरेलगायतका गीतसंगीतमा सकिन्छ । सत्यवति क्षेत्रमा पर्यटकीय विकासका अनेक सम्भावना बोकेका विभिन्न धार्मिक तथा सांस्कृतिक सम्पदा र देवस्थलहरु रहेका छन् । सत्यवती क्षेत्रलाई नेपाल सरकारले २०७५ कात्तिक १५ गते स्थापित तथा प्रवर्धन गरिनु पर्ने गन्तव्यको रुपमा घोषणा गरेको थियो ।  

सत्यवती गाउँपालिकामा समग्र नेपालको झल्को दिने विभिन्न जातजातिको कला, संस्कृति, रहनसहन, प्राकृतिक मनोरम दृश्यहरु, झरनाहरु, विश्वप्रख्यात भिक्टोरी क्रस उपाधी चुमेका वीर गोर्खाहरुको जन्मभूमी हो । प्राचिन मगर संस्कृतिमा आधारित झुमारानी, जिवैमामै, ठुलोनाच सोरठी, कौरा, सालैजो, झ्याउँरे, भजनकिर्तन जस्ता लोकसांस्कृतिक सम्पदा र सम्पत्तिको रुपमा रहेको सत्यवति गाउँपालिका ३ ठूलो लुम्पेकका अगुवा खोमा तरामुले बताउनुभयो ।

धार्मिक साँस्कृतिक सम्पदाको रुपमा रहेको सत्यवती क्षेत्र प्राकृतिक रुपमा निकै अद्भुत, मनोरम र सुन्दर रहेको छ । यहाँबाट धौलागिरी, माच्छापुच्छ्रे र अन्नपूर्ण हिमालयको मनमोहक श्रृङ्खलाको दृश्य हेर्न सकिन्छ । सत्यवती क्षेत्रमा थाप्ले, मसिना दह, हिलेसिद्धबाबा, लुम्पेकी थानी, हचिङ्कोट दरबार, लामथुडी झरना, आलम थान, हुक्रायो सेतिनाग लगायतका महत्त्वपूर्ण सम्पदा क्षेत्रहरु समेत घुम्न सकिने तरामुले बताउनुभयो । मगर समुदायको बाहुल्य रहेको सत्यवती क्षेत्रमा परम्परागत र रैथाने कृषिबालीका अर्गानिक मगरी खाना परिकारको फरक तर मिठो स्वादको खाना समेतले प्रख्यात रहेको छ ।