• २९ कात्तिक २०८२, शनिबार

गोरखामा बढे मतदाता

blog

सुलीकोट समाचारदाता 

सुलीकोट, कात्तिक २९ गते ।  आगामी निर्वाचनलाई ध्यानमा राख्दै गोरखामा मतदाता नामावली दर्ता गर्नेको सङ्ख्या बढेको छ । असोज ९ गतेबाट सुरु भएको मतदाता नामावलीमा असोजसम्म २८४ जनाले नाम टिपाएकोमा कात्तिकमा मात्र एक हजार नागरिकले मतदाता नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय गोरखाका प्रमुख टेकबहादुर कोइरालाले बताउनुभयो । 

दर्ता प्रक्रियामा युवादेखि वृद्धसम्मको सक्रिय सहभागिता देखिएको छ । कार्यालय प्रमुख टेकबहादुर कोइरालाले भन्नुभयो, “गोरखामा राजनीतिक चेतना र निर्वाचनप्रतिको विश्वास अझ बलियो बन्दै गएको छ ।”

गोरखामा मतदाता बन्ने उमेर पुगेका युवाको सहभागिता सर्वाधिक रहेको छ । विशेष गरी उच्च शिक्षा अध्ययनरत र वैदेशिक रोजगारीबाट फर्किएका युवा तथा महिलाको उपस्थितिले मतदाता नामावली अद्यावधिक अभियानलाई उत्साहित बनाएको छ । गोरखामा मतदाताको सहभागिता विगतका वर्षभन्दा उत्साहजनक छ । नागरिक आफ्नो मताधिकारलाई जिम्मेवारीका रूपमा लिन थालेको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ । 

जिल्लामा हालसालै देखिएका विकासनिर्माणका मुद्दा र स्थानीय शासनप्रति नागरिकको बढ्दो चासोले पनि मतदाताको सक्रियता बढाएको देखिन्छ । अहिलेका नागरिक अब आफ्नो मतले विकासको दिशा निर्धारण गर्छ भन्ने कुरामा बढी सजग बनेका कारण मतदाता नामावलीमा नाम लेखाउनेको सङ्ख्या बढेको बताइएको छ । 

दर्ता अवधि अन्त्य हुन केही दिन मात्र बाँकी हुँदा निर्वाचन कार्यालयले अझै दर्ता नभएका नागरिकलाई समयमै नाम दर्ता गराउन आह्वान गरेको छ । जिल्लामा भएका सञ्चार माध्यमले मतदाता नामावलीबारे प्रचारप्रसार भएका कारण पनि सङ्ख्या बढ्न गएको निर्वाचन कार्यालयले जनाएको छ ।