• २८ कात्तिक २०८२, शुक्रबार

किएभमा ‘ठूलो’ रूसी आक्रमण, एकको मृत्यु, दर्जनौँ घाइते

blog

किएभ, कात्तिक २८ गते । युक्रेनी राजधानी किएभ शुक्रबार बिहान ‘ठूलो’ आक्रमणको सिकार बनेको किएभका मेयरले जानकारी दिएका छन् । एएफपीका पत्रकारले सहरको केन्द्रमा शक्तिशाली विस्फोट सुनेलगत्तै गरिएको प्रारम्भिक रिपोर्टअनुसार एक जनाको मृत्यु भइसकेको छ भने कम्तीमा १५ जना घाइते भएका छन् ।

सन् २०२२ मा युक्रेनमाथि पूर्ण सैन्य आक्रमण आरम्भ गरेयता मस्कोले हाल विशेष गरी ऊर्जा संरचना, रेल प्रणाली तथा आवासीय क्षेत्रमा आक्रमण तीव्र पार्दै आएको छ । शुक्रबार बिहानको आक्रमणमा मिसाइल तथा ड्रोनले किएभको महत्वपूर्ण पूर्वाधारलाई लक्षित गरिएको किएभ क्षेत्रीय सैन्य प्रशासनका प्रमुख माइकोला कलास्निकले बताउनुभयो ।

मेयर भिटाली क्लिट्स्कोले आक्रमणलाई ‘ठूलो शत्रु आक्रमण’ भन्दै हवाई रक्षा प्रणाली पूर्ण सक्रिय रहेको जानकारी दिनुभयो । युक्रेनी आपतकालीन सेवाले आगलागी र विनाशबाट ‘४० भन्दा बढी नागरिकको उद्धार गरिएको’ बताउँदै एक जनाको मृत्यु र अन्य धेरै घाइते भएको पुष्टि गरेको छ ।

यसअघि मेयरले किएभका १० मध्ये आठ जिल्लामा भवनमा क्षति तथा आगलागी भएको उल्लेख गर्नुभएको थियो । मेडिकल आपतकालीन टोली ती सबै क्षेत्रमा तैनाथ छन् । घाइते मध्ये एक गर्भवती तथा एक पुरुषको अवस्था अत्यन्त गम्भीर रहेको बताइएको छ । 

उत्तर-पूर्वी डेस्न्यान्स्की जिल्लाका केही भवन तातोपानी सेवा अभावमा रहेको उल्लेख गर्दै मेयरले ‘तताउने सञ्जालका केही भाग क्षतिग्रस्त भएको’ बताउनुभएको छ । विद्युत तथा पानी आपूर्तिमासमेत अवरोध हुन सक्ने चेतावनी दिइएको छ ।

एएफपीका पत्रकारले सहरभरि एन्टी-मिसाइल प्रणाली सक्रियरूपमा चलिरहेको र ड्रोन रोक्न ट्रेसर बुलेट प्रहार भइरहेका दृश्य प्रत्यक्षरूपमा अवलोकन गरेका छन् । किएभका सैन्य प्रशासनका प्रमुख तिमुर टाकाचेन्कोले सामाजिक सञ्जालमार्फत ‘रूसी आक्रमणले आवासीय भवन व्यापकरूपमा क्षतिग्रस्त बनाइरहेको’उल्लेख गर्दै लगभग सबै जिल्लामा बहुतले भवनमा क्षति पुगेको बताउनुभयो ।

-बढ्दो अन्तर्राष्ट्रिय दबाबबिच आक्रमण-

पश्चिमी सहयोगी राष्ट्रले मस्कोमाथि दबाब बढाइरहेका बेला किएभमाथिको यो तीव्र आक्रमण भएको हो । बुधबार क्यानाडाले रूसी ड्रोन तथा ऊर्जा उत्पादन क्षमतामा असर पार्ने, साथै साइबर आक्रमणका लागि प्रयोग हुने संरचनालाई लक्षित गर्दै नयाँ प्रतिबन्ध घोषणा गरेको थियो । सोही दिन जी–७ विदेशमन्त्रीले युक्रेनको क्षेत्रीय अखण्डताप्रति ‘अटुट समर्थन’ व्यक्त गर्दै तत्काल युद्धविरामको माग गरेका थिए ।

युरोपेली आयोगले पनि रुसको फ्रिज गरिएको सम्पत्तिको अंश प्रयोग गरी आगामी दुई वर्षका लागि युक्रेनलाई बजेट तथा सैनिक सहायता स्वरूप ऋण उपलब्ध गराउने सम्भावनामा विचार भइरहेको जनाएको छ । तर करिब चार वर्षदेखिको युद्धको अवस्थाबिच दुवै पक्षले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित युद्धविराम तथा लामो समयदेखि रोकिएको शान्ति–सम्झौता पुनर्जीवित गर्ने प्रयासलाई अस्वीकार गरिरहेका छन् ।

यसैबिच रूसी सेनाले पूर्वी युक्रेनका डोनेट्स्क तथा लुगान्स्क क्षेत्रमा नियन्त्रण विस्तार गर्ने प्रयास जारी राखेको छ । मस्कोले सोमबार फराकिलो फ्रन्टलाइनमा थप तीन गाउँ कब्जा गरेको दाबी गरेको छ । श्रमशक्ति तथा उपकरण क्षमतामा फाइदा रहेको रूसले ती क्षेत्रमा निरन्तर दबाब बनाइरहेको बताइन्छ । विशेषज्ञका अनुसार ऊर्जा पूर्वाधारमाथि भइरहेको पछिल्लो रूसी आक्रमणले जाडो महिनाअघि युक्रेनलाई तातोपानी तथा ऊर्जा आपूर्तिमा गम्भीर जोखिममा पारेको छ । रासस/एएफपी