लक्ष्मी चौधरी
जनकपुरधाम, कात्तिक २८ गते । नेपाल–भारतका साधुसन्त, धर्मगुरु र भक्तजनहरूको सहभागितासहित पहिलो पटक हरिहरक्षेत्र–मिथिला चौरासी कोस सङ्कीर्तन परिक्रमा शनिबार (कात्तिक २९) देखि सुरु हुने भएको छ ।
भारतको हरिहर क्षेत्र जनजागरण मंच, सांस्कृतिक उत्कर्ष परिषद् पटना, जानकी, मन्दिर साधु समाज तथा विश्व हिन्दू परिषद्को समन्वयमा आयोजना हुने पाँच दिवसीय परिक्रमा मिथिलाक्षेत्रको धार्मिक–सांस्कृतिक पहिचानलाई विश्वभर प्रवर्धन गर्ने उद्देश्यले सुरु गरिएको हो ।
बिहारको हाजीपुरस्थित हरिहर क्षेत्रबाट प्रारम्भ हुने यो परिक्रमा टोली शनिबार दिउँसो २ बजे भिठ्ठामोड हुँदै जनकपुरधाम प्रवेश गर्ने परिक्रमा आयोजकले जनाएको छ ।
जनकपुरधामस्थित जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासका अनुसार परिक्रमा टोलीको जनकपुरधाममा नगरदर्शन, दीप प्रज्वलन, सांस्कृतिक प्रस्तुति, जानकी मन्दिरमा प्रसाद ग्रहणलगायत अन्य धार्मिक कार्यक्रममार्फत स्वागत गरिनेछ । उहाँले परिक्रमा मिथिला सभ्यतामा रहेको आस्था, संस्कृति र परम्परालाई अझै प्रगाढ बनाउने एक महत्वपूर्ण धार्मिक पर्यटन अवसर रहेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो,“विगतमा भइरहेका यस्ता खालका धार्मिक यात्रालाई निरन्तरता दिनुपर्छ ।”
जनकपुरधामबाट परिक्रमा यात्रामा सहभागी हुन इच्छुक साधुसन्त तथा श्रद्धालुका लागि जानकी मन्दिर तथा विश्व हिन्दू परिषद्ले व्यवस्थापन मिलाउने व्यवस्था रहेको दासले जानकारी दिनुभयो ।
उत्तराधिकारी दासका अनुसार कोभिड १९ पछि रोकिएको उक्त परिक्रमलाई निरन्तरता दिन आगामी वर्षदेखि छ महिनाअगावै तयारी गरी गण्डक, नारायणी, चुरिया, कोशी, चतरा, सुपौल, भागलपुर हुँदै जनकपुरधाम आउने गरी सात वा नौ दिवसीय विस्तारित परिक्रमा आयोजना गर्ने योजना बनाइएको छ ।
नेपाल–भारत मिथिला क्षेत्रका करिब ७ सयभन्दा बढी साधुसन्त, धर्मगुरु र श्रद्धालु सहभागी हुने अपेक्षा गरिएको यो परिक्रमा हाजीपुरबाट सुरु भई जनकपुरधाम–दरभंगा–वैशाली हुँदै पाँचौ दिनमा पुनः हरिहर क्षेत्र प्रवेश गरी शाेभा यात्राको कार्यक्रम तय भएको परिक्रमा मंचले जनाएको छ ।
आयोजकका अनुसार प्रत्येक स्थानमा प्रवचन, संकीर्तन, सांस्कृतिक कार्यक्रम तथा धार्मिक विधिहरू सञ्चालन गरिनेछ ।