• २८ कात्तिक २०८२, शुक्रबार

पहाडी जिल्लामा चामल गोदाममै थन्कियो

blog

नेपालगञ्जस्थित खाद्य तथा व्यापार कम्पनी लिमिटेड । तस्बिर : गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, कात्तिक २८ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले तराईका जिल्लामा किसानबाट धान खरिद गरी पहाडी तथा हिमाली जिल्लामा पठाउँदै आएको छ । खाद्य संस्थानले बाँकेमा मोटा र मध्यम धान खरिद गरी त्यसबाट चामल बनाएर पहाडी जिल्लामा पठाउने गरे पनि बिक्री नहुँदा गोदाममै थन्किएको अवस्था छ । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी नेपालगन्जका प्रमुख रामशरण लामिछानेले विगतमा यहाँबाट पठाइएको चामल बिक्री हुँदै आए पनि गतवर्षदेखि चामल बिक्री नभएर खाद्यको गोदाममै थन्किएको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “गत वर्ष पठाइएको चामल अहिलेसम्म बिक्री नभएर गोदाममा थन्किएको छ , हाल नेपालगञ्ज गोदाममा पनि २२ हजार क्विन्टल चामल मौज्दात छ। ” 

लामो समयदेखि पहाडी तथा हिमाली जिल्लामा तराईका जिल्लाबाट चामल पठाउँदै आएको खाद्यले पछिल्लो समय ती जिल्लामा मोटा र मध्यमभन्दा पनि स्टीम जिरा र बासमती चामलको माग बढेको जनाएको छ । 

मसिनो चामलको मागसँगै चामल महँगाे हुनु, स्थानीयले व्यापारीसँग उधारोमा चामल पाउनु लगायतका कारण चामल बिक्री हुन कम भएको खाद्यले दाबी गरेको छ ।  

खाद्यले गत आवमा  बाँके र बर्दियास्थित कारागारमा ३४ हजार ५२२ क्विन्टल, कर्णालीमा २४ हजार ८०९ क्विन्टल र कार्यालयबाट २४० क्विन्टल चामल गरि ६१ हजार ३१ क्विन्टल चामलको कारोबार गरेको थियो ।

खाद्यले यस वर्ष २० हजार क्विन्टल धान खरिद गरिरहेको छ । गत वर्षको चामल बिक्री नभएपछि खाद्यले यो बर्ष धान खरिदको कोटा घटाएको छ । गत वर्ष ३२ हजार क्विन्टल धान खरिद गरिएको थियो ।