ठाकुरप्रसाद आचार्य
म्याग्दी, कात्तिक २८ गते । म्याग्दीको धवलागिरी गाउँपालिका–१ को विकट बस्ती गुर्जाका लागि खाद्यान्न सामग्री लिएर जाँदै गरेका खच्चडहरु । सडक पहुँच नपुगेको गुर्जामा अझै पनि ढुवानीका लागि खच्चडको भरपर्नुपर्ने बाध्यता छ । खच्चडबाट सामान ढुवानी गर्दा महँगो हुने स्थानीयहरु बताउँछन् ।
लुलाङ र गुर्जाको सिमाना देउरालीबाट खच्चडलाई चामल, तेल, नुनलगायत खाद्यान्न सामग्री खच्चडको दायाँ र बायाँ कुममा बोकाएर करिब चार घण्टा लगाएर लैजाने गरिन्छ । निर्माणाधीन मुना–लुलाङ–गुर्जा सडक आयोजनाअन्तर्गत अहिले देउरालीसम्म सडक पुगेको छ ।
धवलागिरी गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालका अनुसार लुलाङबाट देउराली–लत्रवाङ हुँदै भालुखोरियासम्म १६ किलोमिटर सडकको ट्रयाक खुले पनि बर्खायाममा पहिरो खसेका कारण अहिले देरालीसम्मका लागि मात्र जिप र बोलेरो गाडी जाने गरेका छन् ।
बर्खायाममा झरेको पहिरो सफा गरी सडक मर्मत गरेपछि भने भालुखोरियासम्म नै सडक सञ्चालन भएपछि भने केही सुविधा हुने वडाध्यक्ष छन्त्यालले बताउनुभयो ।
चालु आर्थिक वर्षमा स्थानीय सरकार, प्रदेश र सङ्घीय सरकारको बजेटबाट गुर्जासम्म नै सडकको ट्रयाक पुर्याउने गरी काम भइरहेको उहाँले बताउनुभयो ।