नागेन्द्रकुमार कर्ण
महोत्तरी, कात्तिक २८ गते । खेल्न मात्रै होइन अभ्यास गर्न पनि स्तरीय खेल मैदान हुनुपर्छ, तर महोत्तरी जिल्लामा स्तरीय खेल खेल्न मैदानको अभाव रहेको देखिएको छ । मैदान अभावमा खेलकुद गतिविधि सुस्त जस्तै छ ।
महोत्तरी जिल्लामा १० नगरपालिका र पाँच गाउँपालिका गरी १५ स्थानीयतह रहेपनि एउटा पनि ठाउँमा स्तरीय खेल मैदान नरहेको सरोकारबालाहरु बताउछन् । जिल्ला खेलकुद विकास समिति महोत्तरीका प्रमुख सुभास लाल कर्णले हरेक स्थानीय तहमा खाल्डाखुल्डीहरु रहेको खाली ठाउँलाई मैदान जस्तो बनाएर खेलकुदको गतिविधि हुँदै आएको छ तर त्यसलाई स्तरीय खेलमैदान भन्न नसकिने बताउनुभयो ।
जिल्लाभित्र स्तरीय खेल मैदान नहुँदा यहाँका क्रिकेट, फुटवल खेलका खेलाडीहरुलाई विद्यालयको खेल मैदानमा अभ्यास गर्न र प्रतियोगिता खेल्न र खेलाउनु परेको वताउनुहुँदै प्रमुख कर्णले जिल्लाको जलेश्वर, मटिहानी, बर्दिबास, गौशाला, रामगोपालपुर, महोत्तरीसहितका तहहरुमा खेल मैदान रहेपनि राष्ट्रियस्तरको खेल खेलाउन समस्या हुने गरेको बताउनुभयो ।
महोत्तरीमा स्तरीय खेल मैदान अभावमा स्तरीय खेल प्रतियोगिता गराउन, दक्ष खेलाडीको प्रशिक्षण र उत्पादन गर्न धेरै समस्या देखिएको खेलकुद विकास समितिका प्रमुख कर्णले बताउनुभयो ।
राष्ट्रियस्तरको खेल खेलाउन मैदान मात्रै नभई खेलाडी राख्ने भौतिक संरचना, होटल, सडकसञ्जाल लगायतका संरचनाहरु समेत आवश्यक पर्ने वताउनुहुदै प्रमुख कर्णले भन्नुभयो, ‘‘स्थानीयस्तरको खेलहरु तथा प्रतियोगिताहरु ति मैदानमा गराउन सकिएपनि जलेश्वर र बर्दिबासमा मात्रै राष्ट्रिय स्तरको खेल खेलाउने केही संरचना छ, तर त्यो पर्याप्त छैन ।’’
जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष तथा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता बलविर गुप्ताले कुनै बेला क्रिकेट खेलाडी उत्पादनमा यसक्षेत्रमै अब्बल मानिएको महोत्तरीमा अहिलेसम्म स्तरीय खेल मैदान तथा क्रिकेट मैदान अझैसम्म पनि बन्न नसक्नु यसक्षेत्रकै दुर्भाग्य रहेको बताउनुभयो ।
महिला क्रिकेट खेलाडी पूजा महतोले पटक पटक मैदानको अभाव रहेकाले खेल मैदान बनाई छोरीहरुलाई समेत खेलमा अग्रसर गराउन स्थानीयतहहरुलाई गुहार लगाइरहनुभएको छ । उहाँले महोत्तरीमा मैदान नभएका कारण अभ्यास गर्न गाह्रो हुनुका साथसाथै प्रशिक्षणको लागि समेत कुनै सुविधा नहुनु खेलाडीका लागि राम्रो नभएको बताउनुहुन्छ ।
मैदान मात्रै नभई नियमित प्रशिक्षण अभावमा विभिन्न खेलमा रुचि भएका खेलाडीका अभिभावकलाई आफ्ना छोराछोरीको प्रतिभा तिखार्न समस्या छ । आर्थिक अभावका कारण अभिभावकले अन्यत्र पठाउन नसक्ने कतिपय खेलाडी प्रतिभा हुँदाहुँदै पनि खेलबाट बञ्चित हुनुपरेको छ ।
नेपाल प्रिमियर लिगमा सुदुरपश्चिम क्लवबाट छनोटमा पर्नुभएका क्रिकेट खेलाडी अभिषेक रञ्जनले महोत्तरीमा खेल मैदान अभावले आफु जनकपुरको रजौलस्थित मैदानमा प्रशिक्षण तथा अभ्यास गर्ने गरेको बताउनुहुदै महोत्तरीमा स्तरीय खेल मैदान निर्माणको लागि सरोकारबाला निकायहरुले ध्यान पु¥याउनुपर्ने आग्रह गर्नुभयो ।
नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष जलेश्वर निवासी रोशन सिंहले जिल्लामा क्रिकेट मैदानका लागि आफुले धेरै प्रयास गरेपनि स्थानीयतहका पदाधिकारीहरुको उदासिनताले सफल हुन नसकेको बताउनुभयो ।
खेलकुद विकास समिति महोत्तरीका प्रमुख सुभास लाल कर्णले जलेश्वरमा रहेको खेल मैदानको स्तरोन्नती गर्न सङ्घीय सरकार मातहतका युवा तथा खेलकुद मन्त्रालयबाट तिन करोड रकम छुटयाइएको बताउनुहुदै डिपिआरको काम भइरहेको बताउनुभयो ।
यता महोत्तरी क्षेत्र नं. ३ का पूर्व प्रतिनिधिसभा सदस्य तथा लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरको अगुवाईमा कभर्ड हल निर्माणको लागि तीन करोड रकम समेत छुट्याइएको छ । लोसपाका युवा नेता सञ्जीत पाठकले सडक, शिक्षा, स्वास्थ्यजस्ता पूर्वाधारको विकासलाई मात्रै प्राथमिकता दिएका स्थानीय सरकारले खेलक्षेत्रलाई समेत प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुहुँदै युवाहरूलाई कुलतबाट बचाउन, स्वास्थ्य बनाउन, सतमार्गमा लगाउन तथा अनुशासित बनाउन खेलकुदको भूमिकालाई विर्सन नहुनेमा जोड दिनुभयो । उहाँले नेपाल सरकारको आ.ब २०८२/०८३ को बजेटमा जलेश्वर नगरपालिकाको वडानं. २ मा क्रिकेट एकेडेमी निर्माणका लागि तीन करोड बजेट छुट्याइएको बताउनुहुँदै जग्गा छनोटको काम भइरहेको बताउनुभयो ।