• २८ कात्तिक २०८२, शुक्रबार

मधेशका पाँच प्रदेशसभा सदस्य पदमुक्त

blog

मधेश प्रदेश

धर्बेन्द्र झा  
जनकपुरधाम, कात्तिक २८ गते ।
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले मधेशका पाँच जना प्रदेशसभा सदस्यलाई पदमुक्त गर्नु भएको छ । प्रदेशसभा सचिवालयद्वारा जारी सूचनामा नेपालको संविधानको धारा १८० (घ) र प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम १८५ बमोजिम पाँचै प्रदेशसभा सदस्यहरूको पद स्वतः रिक्त भएको जनाएको छ ।

पदमुक्त हुनेहरुमा सर्लाहीका नागरिक उनमुक्ति पार्टीका प्रदेशसभा सदस्य उर्मिला देवी सिंह , सप्तरीका जसपा नेपालका प्रदेशसभा सदस्य मनिष कुमार सुमन, सर्लाहीका प्रदेशसभा सदस्य संजयकुमार यादव, सर्लाहीका सिंहासन सा कलवार र बाराका प्रदेशसभा सदस्य सारदा शंकरप्रसाद कलवार रहनुभएको छ ।

प्रदेशसभा सचिवालयले बिहीबार जारी गरेको सूचनाअनुसार लगातार दस वटा बैठकमा अनुपस्थित रहेका कारण उहाँहरूको पद रिक्त भएको बताइएको हो ।

नेपालको संविधानको धारा १८२(६) र प्रदेशसभा नियमावली २०७५ को नियम १८५ बमोजिम पद रिक्तसम्बन्धी सूचना जारी गरिएको सचिवालयले जनाएको छ । यस अघि प्रदेशसभामा सात राजनीतिक दलका ६४ जना प्रदेशसभा सदस्यहरुको समर्थनसहितको सभामुख रामचन्द्र मण्डलमाथि अविश्वासको प्रस्ताव दर्ता गराउन प्रदेशसभा पुगेका सात दलका प्रदेशसभा सदस्यहरुसँग प्रदेशसभा भित्रमा दुर्व्यहार भएको आरोप लगाइएको छ ।

सभामुख मण्डलका समर्थकहरुले ति प्रदेशसभा सदस्यहरुलाई दुर्व्यहार गरेको बताइएको छ । यस विषयमा सभामुख मण्डले आफुलाई केही जानकारी नभएको सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिनुभयो । उहाँले प्रदेशसभामा आएका माननिएहरु उपसभामुखको कार्यकक्षमा गएर करिव चार घण्टा बसेको र उक्त समयमा के गरेको विषयमा आफुलाई जानकारी नभएको बताउनुभएको थियो । यता सभामुुखले ति प्रदेशसभा सदस्यहरुलाई बन्धक बनाएको आरोपबारे गलत समाचार प्रवाह भएको बताउनुभयो ।