गोरखापत्र अनलाइन
सुनसरी, कात्तिक २७ गते । थारु समुदायको कला, संस्कृति र ऐतिहासिक परिवेशलाई मूल कथावस्तु बनाएर निर्माण हुन लागेको नेपाली कथानक चलचित्र बहौरिया (बेहुली) को छायांकन मोरङमा औपचारिक रूपमा सुरू भएको छ।
चलचित्रको निर्देशन निर्देशक परशुराम चौधरीले गरिरहनुभएको छ । फिल्मको कथा पनि उहाँ र रेणु चौधरीको रहेको छ । नेपाल म्याक्सको प्रस्तुतिमा निर्माण हुन लागेको यो फिल्म रिशन चौधरी र खुश्बु चौधरीले संयुक्त रूपमा निर्माण गरिरहनुभएको छ ।
अवको चलचित्र ऐतिहासिक चलचित्र बनाउन नसके दर्शकको मन जित्न नसकिने निर्माताको भनाइ छ । थारु संस्कृति र पौराणिक जीवनशैलीमा आधारित कथा निर्देशक चौधरीका अनुसार, ‘बहौरिया’ थारु समाजको पौराणिक अवस्था र आधुनिक समयसम्म आइपुग्दा भएको सामाजिक–आर्थिक रूपान्तरणको कथा हो।
फिल्ममा मुख्य भूमिकामा वीर चौधरी र ममता चौधरी रहेका छन्। यी दुई कलाकारले यसै फिल्मबाट नेपाली चलचित्र क्षेत्रमा औपचारिक डेब्यु गरेका हुन्। वीर चौधरी कैलालीका चर्चित मोडल हुन् भने ममता चौधरी नवलपुरकी लोकप्रिय मोडल तथा डान्सर हुन्। कैलालीकी चर्चित गायिका तथा मोडल संगिता चौधरीले यसै चलचित्रमार्फत् अभिनयमा डेब्यु गरेकी छन्।
त्यसैगरी फिल्ममा निर्देशक परशुराम चौधरी स्वयं, रेणु चौधरी, प्रदीप बास्मैत, संगिता चौधरी, मन्जय चौधरी, ज्ञानिसा चौधरी, पुनम चौधरी, सुजता चौधरी, ज्ञान चन्द चौधरी, पाण्डव चौधरी लगायतका कलाकारहरूको अभिनय रहनेछ। निर्माण टोलीका अनुसार, फिल्मको छायांकन आगामी तीनदेखि चार महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको निर्माताको भनाइ छ।