• २७ कात्तिक २०८२, बिहिबार

पारिवारिक सम्बन्धको कसी

blog

  • विवाह यौन, अर्थ र धर्मको सम्मिश्रण भएकाले यसलाई टुटाउनमा पनि यौन, अर्थ र धर्म नै कारण हुन्छन् । 
  • तराईको रैथाने मधेशी परिवारमा सम्बन्ध विच्छेद बिरलै हुने गर्छ । 
  • दुनियाँमा अन्यत्र जस्तै नेपालमा पनि घरेलु हिंसा मौजुद छ ।

सर्वोच्च अदालतद्वारा साउनमा प्रकाशित वार्षिक प्रतिवेदन अनुसार गत आवको प्रारम्भसम्म जिल्ला अदालतमा दायर विवाह, सम्बन्धविच्छेद, मातृत्व वा पितृत्व कायम, धर्मपुत्र, धर्मपुत्री, माथवर, अंशबन्डा, अपुताली जस्ता पारिवारिक विवादका ७९ हजार ८९७ थान मुद्दामध्ये सम्बन्धविच्छेदका मात्र ३९ हजार ५४ थिए । उक्त आवमा जिल्ला अदालतको मुद्दाको लगत दुई लाख ५८ हजार ५२४ थियो । मुद्दाको लगतमा सम्बन्धविच्छेद मुद्दाको अंशभार करिब १५ प्रतिशत हो । यीमध्ये ३० हजार ९०४ सोही आवमा फस्र्योट भए । जिल्ला अदालतको फैसलाउपर चित्त नबुझाएर उच्च अदालतमा पुनरावेदन गर्नेहरूको सङ्ख्या एक हजार २०६ थियो भने उच्चको निर्णयमा समेत चित्त नबुझाउने ६० जनाले मात्र सर्वोच्च अदालतमा पुनरावेदन गरेको देखिन्छ । दुवै थरको मञ्जुरीमा पारपाचुके हुने गरी टुङ्गिने भएकाले सम्बन्धविच्छेद मुद्दाको फस्र्योट प्रतिशत उच्च हुन्छ र जिल्ला अदालतको फैसलामा चित्त नबुझाउने पक्षको सङ्ख्या न्यून भएको दर्शाउँछ । 

उल्लिखित आवमा सबै अदालत, जिल्ला, उच्च र सर्वोच्चमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी सङ्ख्यामा रहेका १० प्रकृतिका मुद्दामा प्रथम स्थानमा सम्बन्धविच्छेद रहेको छ । तिनै तहका अदालतमा सम्बन्धविच्छेद मुद्दाको लगत ४० हजार ३२० थियो । यो समग्र मुद्दाको कुल लगतको प्रतिशतमा ११.०८ हो । यीमध्येबाट ३१ हजार ७५२ सोही आवमा फस्र्योट भएर बाँकी आठ हजार ५६८ मुद्दा अर्को वर्षमा सरेका थिए । 

वर्तमानमा अभ्यास गरिरहेको विवाह प्रणालीमा एकैचोटि कसैको पनि एकभन्दा बढी पति वा पत्नी हुन सक्दैन । सम्पत्ति, परिवार, नाताका विषयमा गरिएका आधुनिक व्यवस्थाहरूले अंशबन्डा, नाता कायम, मानाचामल, नागरिकता जस्ता विषयलाई स्तरीकृत गरी सबै समुदायलाई एकै प्रकारको कानुनी व्यवस्था गरेकाले साविकका पितृसत्तात्मक प्रचलनमा अवरोध आएको छ । अंश, अपुताली, रोजगारी, सामाजिक सुरक्षा भत्ता, वैदेशिक भ्रमण, बैङ्किङ कारोबार जस्ता जीवनका दैनन्दिनलाई सुचारु गर्न प्रत्येक नेपालीले विवाह र पारपाचुकेको अभिलेख अद्यावधिक गर्नै पर्छ । विवाहको अभिलेखीकरण गर्ने विभिन्न निकाय र पद्धतिहरू भए पनि पारपाचुके अदालतबाट नै हुनुपर्ने कानुन हुँदा सम्बन्धविच्छेद गर्न चाहने प्रत्येक जोडी अदालतमा आउनै पर्छ । 

जैविक रूपले नारी पुरुष पक्ष प्रतिपक्ष जस्ता देखिए पनि दम्पती एक मौलिक एकाइ हो, जसको दुई भाग एक दोस्रोसित जोडिएका छन् । विवाहपश्चात् एउटै छानामुनि बस्ने, एउटै चुलोमा पकाएको भोजन खाने, सम्पत्तिमा समान हकहिस्सा हुने र पारिवारिक पूजा अर्चनामा समान रूपमा भाग लिने जोडी हो । विवाह नारी पुरुषबिच दाम्पत्य र पारिवारिक जीवन प्रारम्भ गर्नका लागि कायम भएको एक स्थायी, अनतिक्रम्य तथा स्वतन्त्र सहमतिमा आधारित एक पवित्र सामाजिक तथा कानुनी बन्धन हो । 

विवाह यौन, अर्थ र धर्मको सम्मिश्रण भएकाले यसलाई टुटाउनमा पनि यौन, अर्थ र धर्म नै कारण हुन्छन् । मौजुदा संविधानले महिलालाई समानता, स्वतन्त्रता, सम्पत्ति, शिक्षा, संवैधानिक उपायहरू तथा शोषणविरुद्ध अधिकार प्रदान गर्छ । महिलाको हित रक्षार्थ विशेष कानुन बनाइएको छ । जस्तै, विवाहमा वरको चयन, विवाहको उमेर, बहुविवाहबाट सुरक्षा, पारपाचुकेको स्वतन्त्रता, भरणपोषण र अंशको अधिकार, पुनर्विवाह, गर्भपतन एवं धर्मपुत्र पुत्री ग्रहणको अधिकार, छोरा सरहको अपुतालीको अधिकार, समान ज्याला र कार्यस्थलमा सुक्षाको प्रत्याभूति, प्रसूति लाभ, रोजगारीमा आरक्षण र मताधिकार एवं राजनीतिमा समानताको प्रत्याभूति आदि । 

सभ्य एवं आधुनिक सोच राख्ने विश्वका तमाम देश जस्तै नेपालमा पनि महिलालाई हर स्तरमा बराबरीको दर्जा दिइएको छ । पुख्र्यौली सम्पत्तिमा पुत्र सरह पुत्रीको हक लाग्छ र पतितर्फ पनि चाहे पतिको पैतृक होस् वा निजी आर्जन, सम्पत्तिमा समान एवं पूर्ण अधिकार रहेको छ । यो बन्दोबस्ती छिमेकी मुलुकहरूको तुलनामा कैयौँ गुणा प्रगतिशील हो । विवाहको कारण महिलालाई सम्पत्तिको अधिकार हासिल गर्न एवं अन्य विभेद निर्मूल गर्न विधिको शासनमा राज्यको जिम्मेवारी हुन्छ र यो जिम्मेवारी राज्यले धेरै हदसम्म पूरा गरेको अवस्था छ । 

जब हिंसा वा कुनै विशेष कारणले विवाह असहनीय हुन्छ, सम्बन्धविच्छेदको कुराले प्रवेश पाउँछ । विवाह र पारपाचुके गर्न स्त्री पुरुषलाई कानुनका दफाहरूले बराबरीमा राखे पनि प्रथा, परम्परा र चलनमा ठुलो अन्तर छ । कानुनमा विवाह गर्ने दुवै स्वतन्त्र भए जस्तै सम्बन्धविच्छेद गर्न पनि स्वतन्त्र हुन्छन् तर विवाह जत्तिकै सम्बन्धविच्छेद पनि सरल भइदिएको भए धेरै विवाह विच्छेदमा टुङ्गिने थिए । सम्बन्धविच्छेद हुनका कारण स्थानीय र सार्वभौम हुन्छन् । परस्पर विश्वास र साथीका प्रति बफादारी विवाहका लागि आवश्यक तìव मानिन्छ । यदि आफ्नी पत्नीबाहेक अन्यसित यौनाचार सम्भव छैन भन्ने पतिलाई विश्वास हुने हो भने धेरै जसो वैवाहिक सम्बन्धविच्छेद हुँदैनन् । पत्नीमा पनि यो कुरा लागु हुन्छ । विवाहलाई कुन कुराले सुखी र कुन कुराले दुःखी बनाउँछ भनेर यदि सारा संसारलाई नियालेर हेरियो भने एउटा अद्भुत निष्कर्ष निस्कन्छ, मानिस जति स्रोतसाधनले सम्पन्न वा धनवान छ ऊ एउटै जीवन साथीबाट सन्तुष्ट भएको बिरलै देखिन्छ । विवाहमा ‘खोजेको कुरा’ नपाउने पक्षले विवाहलाई टुङ्ग्याउन चाहन्छ । 

नेपालको जनसङ्ख्याको बनोटलाई मोटामोटी जातीय र जनजातीय वा आगन्तुक र आदिवासी वा वर्णव्यवस्थामा आस्था राख्ने र नराख्ने गरी दुई वर्गमा विभाजन गर्ने गरिन्छ । यी दुई वर्गको प्रथा परम्परा एवं संस्कृतिमा विवाह र पारपाचुकेसम्बन्धी पृथक् पृथक् मूल्यमान्यता एवं मानदण्डको अभ्यास गरिन्थ्यो । कानुनविपरीतका प्रथा वा परम्परालाई न्यायको रोहमा मान्यता नदिइने भएकाले विवाह र पारपाचुके सम्बन्धमा आजका दिनमा सबैका लागि मौजुदा कानुन एवं प्रशासनिक प्रणालीका उही प्रावधान समान रूपले आकर्षित हुन्छन् ।

नेपाली घरपरिवार धनी र गरिब, शिक्षित र अशिक्षित, दलित र गैरदलित, पहाडी र मधेशी, पहाड/मधेशका जाति र जनजातिको रूपमा पनि विभाजन हुन्छ । यी वर्ग र समुदायमा सम्बन्धविच्छेदको प्रवृत्ति र प्रकृति फरक फरक रहेको छ । सम्बन्धविच्छेदको महिला सशक्तीकरणसँग गतिलो सम्बन्ध छ । प्रायः सबै जनजातीय परिवार संस्कृति एवं रीतिरिवाजले पति प्रधान नभएर समतावादी र कतिपय महिला प्रधान पनि छ । यौनप्रतिको धारणा र व्यवहारमा यी समुदाय उदार हुँदा पुनर्विवाह र पारपाचुकेलाई सामान्य रूपमा लिइन्छ तर समकालीन समाजमा प्रबल (डोमिनेन्ट) जातीय समुदायको प्रथा, रीतिरिवाज तथा जीवन शैलीको सिको र नक्कल गर्ने बाँकी समुदायले गरेर संस्कृतिको समानीकरण (लेभलिङ) भइरहेकाले जनजातिको सम्बन्धविच्छेदको प्रवृत्ति अन्य समुदाय सरह हुँदै गइरहेको छ । 

तराईको रैथाने मधेशी परिवारमा सम्बन्ध विच्छेद बिरलै हुने गर्छ । सम्बन्धविच्छेद वा अंशका लागि मुद्दा दायर गर्ने महिलाको सङ्ख्या उल्लेख्य छैन । १४ लाख ८३ हजार ६६ जनसङ्ख्या रहेको मुस्लिम समुदायमा विवाहलाई संस्कार नभएर एक करार हो । विवाहपछि पनि महिलाको आफ्नो स्वतन्त्र अस्तित्व कायम रहन्छ तथापि यो समुदायका महिला अंश र सम्बन्धविच्छेदका लागि आक्कल झुक्कल मात्र अदालतमा प्रवेश गर्छन् । उल्लिखित दुवै समुदायमा विवाह र सम्बन्धलाई सफल बनाउने अभिभारा वा कर्तव्य महिलाको भागमा पर्नु विडम्बना हो । शिक्षाको कमीले अधिकारप्रति जागरुक नहुनु र विपन्नता यसको जड हो । 

दुनियाँमा अन्यत्र जस्तै नेपालमा पनि घरेलु हिंसा मौजुद छ । यसलाई अझै पनि सामाजिक स्वीकृति प्राप्त भएकाले यसले महिलाको स्थिति जटिल र दयनीय बनाएको छ । अदालतमा सम्बन्धविच्छेदका लागि महिलाद्वारा दायर प्रायः सबै फिरादमा पतिले शारीरिक, यौन, भावनात्मक, मौखिक, आर्थिक दुव्र्यवहार गरी घरबाट निकाला गरेको कारणले निजसँग सम्बन्धविच्छेद गर्नु परेको व्यहोरा हुन्छ र समर्थनमा साक्षीले बकपत्र गरिदिन्छ । सबैभन्दा निकट र भरोसा गर्नुपर्ने व्यक्तिबाट हिंसा र आतङ्कको सामना गर्नु पर्दा कतिपय महिलाका लागि घर सुरक्षित स्थान हुन सकेको छैन । शिक्षा, सञ्चार, यातायात, खानपिन जस्ता संरचनाहरू आधुनिक छन् तर परिवार, बिहेवारी, धर्म व्यवस्था रूढिवादी नै भएर रहेर निरन्तरता पाइरहेका छन् । परिवारको मुख्य आधार वैदेशिक रोजगार भएको छ । समाजमा मापसेलाई बृहत् र खुला रूपले अङ्गीकार गरिन्छ । यी प्रवृत्ति एवं अविछिन्नताले पति पत्नीबिच अन्तराल (ल्याग्स) र गत्यावरोध (बोटलनेक्स) पैदा गरेको छ । 

अहिलेको नेपाली समाजमा शक्तिको स्रोत संस्कृति परम्परा नभएर संसाधन (रिसोर्स) भएको छ । संसाधन भनेको एउटा साथीले अर्कोलाई सहायता गर्दै निजको आवश्यकता पूर्ति वा लक्ष्य प्राप्तिका लागि आवश्यक वस्तु वा सेवा उपलब्ध गराउनु हो । यस प्रकार शक्ति सन्तुलन त्यो साथीको पक्षमा हुन्छ, जो विवाह सफलताका लागि अधिक संसाधन जुटाउन सक्छ । त्यसैले जुनसुकै जाति वा जनजातिको भए पनि लोग्नेको कमाइमा आश्रित पत्नीको तुलनामा आफैँ आर्जन गर्ने श्रमिक वर्ग परिवारको महिला अधिक स्वायत्त हुन्छन् । श्रम वर्गीय परिवारमा कुनै पनि समस्या समाधानमा परिवारले दिनुपर्ने निर्देशनमा पति पत्नी दुवै सव्रिmय रूपले भाग लिन्छन् । सहरीया मध्यम वर्गका पत्नीको भूमिका पतिका साथ हिँडडुल गर्नु, सामाजिक भेटघाट, सिनेमा, रेस्ट्राँमा एकसाथ सँगै जानु जस्ता सहचार्य (कम्पानियन) मा सीमित र प्रदर्शित हुन्छ ।   

राष्ट्रिय जनगणना, २०७८ ले सङ्गठित श्रमशक्तिमा महिला सहभागी नहुनुको प्रमुख कारण घरायसी काम (८९.३ प्रतिशत) र घरको जिम्मेवारी (८९.४ प्रतिशत) देखाएको छ । माक्र्सवादी नारी अधिकारवादले पुरुषको सरह महिलाको श्रमको ‘उपयोगी’ मूल्य हुन्छ तर ‘विनिमय’ मूल्य हुँदैन भनेको कुरा नेपाली समाजमा हुबहु मिल्छ । आर्जन गर्ने महिलाको कुरा परिवारमा, विशेषतः पतिले गम्भीरतापूर्वक लिन्छ र नलिएमा वैवाहिक सम्बन्धमा कटुता आई टुङ्गिन सक्छ । पतिको पुख्र्यौली सम्पत्तिमा पत्नीको पहुँच सहज छैन । विवाहपछि पत्नीको बासस्थान पतिको घर हुन्छ । पतिको अनुकूल पत्नी भैदिनु पर्छ, पतिले पत्नी अनुकूल हुन पर्दैन । त्यसैले पतिपत्नीबिचको सम्बन्ध असन्तुलित रहने गरेको छ । अधिकतर युवतीको प्राथमिकता सही समयमा विवाह गर्नु र पत्नी, आमा तथा बुहारी भएर विभिन्न भूमिकामा आधारित जीवन निर्वाह गर्दै विवाहलाई सफल बनाउने अभिभारा वा कर्तव्य पूरा गर्नु हुन्छ । 

जनगणनाले नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ छ । सोमध्ये १० वर्ष र सोभन्दा माथिको उमेरको सङ्ख्या दुई करोड ३९ लाख ५८ हजार ८६८ रहेको छ । यो उमेर समूहका एक करोड ४८ लाख नौ हजार २९४ विवाहित छन् । यसमा विवाहित महिलाको ७९ लाख ९९ हजार २५२ र पुरुषको ६८ लाख १० हजार ४२ सङ्ख्या रहेको छ । निष्कर्षमा उल्लिखित करिब ४० हजार जोडीले एक वर्षमा सहमति गरेर वा अदालतले प्रमाणको मूल्याङ्कनद्वारा सम्बन्धको अन्त्य हुनुलाई अस्वाभाविक भन्न मिल्दैन ।