- विश्व भोकमरी सूचकाङ्क २०२५ मा नेपालको अवस्थामा सुधार भएको छ ।
- अर्गानिक तथा रैथाने बालीलाई प्राथमिकता दिनुपर्ने, खाने बानीमा सुधार ल्याउनुपर्ने, जग्गा बाँझो राख्न नहुने जस्ता काम गर्नुपर्ने उहाँको सुझाव थियो ।
- आफ्नो पालिका आत्मनिर्भर बनाउने हो भने कृषिमा लगानी बढाउँदा त्यसले कुपोषणका सबै पारामिटर घट्ने र पोषणयुक्त हुने ।
सुर्खेत समाचारदाता
सुर्खेत, कात्तिक २६ गते । विश्व भोकमरी सूचकाङ्क २०२५ मा नेपालको अवस्थामा सुधार भएको छ । सन् २००० मा ३७ अङ्क पाई चिन्ताजनक श्रेणीमा रहेको नेपालले २०२५ मा उल्लेख्य सुधार गर्दै १४.८ अङ्क प्राप्त गरी मध्यम भोकमरीको श्रेणीमा परेको हो । आइतबार सुर्खेतमा वेल्टहङ्गरहिल्फे (डब्लुएचए) र जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लि–वर्ड) ले विश्व भोकमरी सूचकाङ्क २०२५ प्रतिवेदन सार्वजनिक गर्दै भोकमरीको अवस्थामा नेपालले सुधार गरेको उल्लेख छ ।
कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाह, प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीलगायतले सो प्रतिवेदन सार्वजनिक गर्नुभएको हो । प्रतिवेदनमा नेपालको भोकमरीको अवस्थामा सुधार आउने मुख्य कारण बाल पुड्कोपनमा आएको सुधारलाई जनाइएको छ । भोकमरीको अवस्थामा सुधार आए पनि नेपालका छिमेकी मुलुकको अवस्था चिन्ताजनक श्रेणीमा रहेकाले यहाँको सुधारमा दिगोपनको चुनौती देखिएको सरोकारवालाले जनाएका छन् । वेल्टहङ्गरहिल्फेका निरीक्षणविज्ञ विकास देउजाले सन् २००६ देखि भोकमरी सूचकाङ्क सार्वजनिक हुँदै आएकोमा यस पटक नेपालको अवस्थामा सुधार आएको बताउनुभयो । उहाँले दिगो विकास लक्ष्य–२०३० मा भोकमरी शून्य बनाउने भनिए पनि त्यो कार्य चुनौतीपूर्ण हुँदै गएको जिकिर गर्नुभयो ।
उहाँले अहिले भइरहेको काम हेर्दा ५६ वटा देशले लक्ष्य हासिल गर्न नसक्ने, ४२ वटा देशको सूचकाङ्क चिन्ताजनक श्रेणीमा रहेको पाइएको बताउनुभयो । नेपालको अवस्थामा सुधार आए पनि भारत, बङ्गलादेश, अफगानिस्तान जस्ता छिमेकी देश चिन्ताजनक श्रेणीमा रहेकाले नेपालको सुधारको सूचकाङ्क चुनौतीपूर्ण रहेको उहाँको भनाइ छ ।
खाद्य र पोषणविज्ञ सोमाकुमारी रानाले १२३ देशमध्ये नेपालले १४.८ अङ्क प्राप्त गरी ७२ औँ स्थानमा परी भोकमरीको मध्यम श्रेणीमा परेको बताउनुभयो । उहाँले सुधार आए पनि सन्तुष्ट हुने अवस्था भने नरहेको उल्लेख गर्नुभयो । उहाँले अल्पपोषण, पुड्कोपन, ख्याउटे र बाल मृत्युदरमा सुधार आएपछि भोकमरीको सूचकाङ्कमा पनि सुधार आएको बताउनुभयो । सन् २००० मा नेपालको अल्पपोषणमा २३.५ प्रतिशतबाट सुधार भई ५.३ प्रतिशतमा आएको, पुड्कोपनमा ५५.९ प्रतिशतबाट २६ प्रतिशतमा आएको, ख्याउटेपनमा ११.३ प्रतिशतबाट सात प्रतिशतमा आएको र बाल मृत्युदरमा ७.९ प्रतिशतबाट २.६ प्रतिशतमा सुधार आएको छ ।
उहाँले अझै पनि ५० लाखभन्दा बढी जनसङ्ख्या खाद्य असुरक्षामा रहेको हुँदा भोकमरी न्यूनीकरणको क्षेत्रमा तीन तहका सरकारले लगानी बढाउनुपर्ने अवस्था रहेको बताउनुभयो । कर्णालीमा भोकमरी र कुपोषण बढी हुँदा सरकारले योजना बनाएर लगानी बढाउनुपर्ने सुझाव उहाँले दिनुभयो । यसका साथै अर्गानिक तथा रैथाने बालीलाई प्राथमिकता दिनुपर्ने, खाने बानीमा सुधार ल्याउनुपर्ने, जग्गा बाँझो राख्न नहुने जस्ता काम गर्नुपर्ने उहाँको सुझाव थियो ।
कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले आफ्नो पालिका आत्मनिर्भर बनाउने हो भने कृषिमा लगानी बढाउँदा त्यसले कुपोषणका सबै पारामिटर घट्ने र पोषणयुक्त हुने बताउनुभयो ।