• २६ कात्तिक २०८२, बुधबार

राजनीतिक दल चुनावी गतिविधिमा

blog

सांकेतिक तस्बिर

धनगढी समाचारदाता

धनगढी, कात्तिक २६ गते । जेनजी आन्दोलनको तारोमा परेका राजनीतिक दल आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन गतिविधि बढाउन थालेका छन् । 

पार्टी कार्यालयलाई पुनः सञ्चालनमा ल्याउँदै दलहरू निर्वाचनलक्षित गतिविधि अगाडि बढाउने तयारी गर्न थालेका हुन् । जेनजी आन्दोलनकारीले भदौ २४ गते विभिन्न राजनीतिक दलका पार्टी कार्यालयमा आगजनी र तोडफोड गरेका थिए । 

जेनजी आन्दोलनपछि केही समय सुस्त बसेका दल चुनावको तयारीमा जुटेका छन् । कांग्रेसका कैलाली सचिव नृप सुनारले अहिलेसम्म आफ्नो पार्टीले चुनावी गतिविधि अगाडि नबढाए पनि निर्वाचनमा जाने सङ्केत गर्दै आएको बताउनुभयो । 

पार्टीमा महाधिवेशन र प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई सँगसँगै लाने छलफल चल्दै आएको उहाँको भनाइ छ । “कांग्रेसले निर्वाचनसम्बन्धी कुनै पनि गतिविधि औपचारिक रूपमा अहिलेसम्म अगाडि बढाएको छैन,” सचिव सुनारले भन्नुभयो, “तर, निर्वाचनमा जाने मुडमा हाम्रो पार्टी छ ।”

आगजनीबाट क्षति भएका पार्टी कार्यालय अझै औपचारिक रूपमा सञ्चालनमा आएका छैनन् तर अब एक/दुई दिनभित्रै पार्टी कार्यालय सञ्चालनमा ल्याउने गरी मर्मत, रङरोगन, बिजुली, खानेपानी जडानलगायतका कार्य भइरहेको जनाइएको छ । दसैँदेखि कांग्रेस सदस्य वडामा अभियान चलाएको सो पार्टीले अहिले मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने कार्यमा सहयोग गरिरहेको छ । 

कम्युनिस्ट पार्टीको बिचमा पार्टी एकता भए पनि तल्लोस्तरमा अझै एकता गर्न बाँकी रहेकाले चुनावलक्षित गतिविधि अगाडि नबढाएको तत्कालीन नेकपा (माओवादी केन्द्र) कैलारी गाउँपालिकाका अध्यक्ष बतासु चौधरीले बताउनुभयो । उहाँले पार्टी एकतापछि चुनावी गतिविधि सञ्चालन गर्ने जनाउँदै भन्नुभयो, “सम्भावित उम्मेदवारको हकमा पार्टीभित्र आन्तरिक छलफल चल्न थालेको छ । टिकट अन्य पार्टीकाले भन्दा पनि माओवादीकैले पाउनुपर्नेमा कार्यकर्ताबिच छलफल चलिरहेको छ ।”

यसै गरी नागरिक उन्मुक्ति पार्टीका नेता भीष्म चौधरीले पार्टी फुटका कारणले अलमलमा हुँदा चुनावी गतिविधि अगाडि बढाउन नसकेको उल्लेख गर्नुभयो । नागरिक उन्मुक्ति पार्टीका पूर्वसंरक्षक रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टी नेपाल दल दर्ताको प्रक्रिया अगाडि बढाउनुभएको छ । उहाँले नयाँ दल खोल्ने प्रक्रियामा अगाडि बढेपछि नागरिक उन्मुक्ति पार्टीका नेता, कार्यकर्ता अलमल र अन्योलमा छन् ।