• १८ कात्तिक २०८२, मङ्गलबार

भारतद्वारा मतदाता सूची सुधार अभियान प्रारम्भ, मताधिकार खोसिने जोखिमबारे मानव अधिकारवादीको चेतावनी

blog

नयाँदिल्ली, कात्तिक १८ गते । भारत सरकारले मङ्गलबारदेखि देशव्यापी रूपमा आफ्नो मतदाता सूचीको सामूहिक संशोधन प्रक्रिया प्रारम्भ गरेको छ । यो अभ्यासलाई “विशेष गहन संशोधन (स्पेसल इन्टेन्सिभ रिभिजन-एसआइआर) भनिएको छ ।

एसआइआरलाई मानवअधिकार र नागरिक अधिकारकर्मीहरूले विवादास्पद बताउँदै विश्वकै सबैभन्दा ठुलो लोकतन्त्रमा लाखौँ नागरिकको मताधिकार जोखिममा पर्ने चेतावनी दिएका छन् । तीन महिनासम्म चल्ने यो व्यापक अभियान १२ वटा राज्य र सङ्घीय क्षेत्रमा सुरु गरिएको छ । 

तीमध्ये धेरैले आगामी वर्ष स्थानीय तहका निर्वाचन आयोजना गर्न लागेका छन् । यस क्रममा दशौँ हजार सरकारी निर्वाचन अधिकृत र करिब पाँच लाख स्वयंसेवकले देशभरका बासिन्दाको घर-घर पुगेर मतदाता गणना फारम भर्न, सङ्कलन गर्न र पेस गर्न सहयोग पुर्‍याउने छन् ।

भारतीय निर्वाचन आयोग (इसिआई) का प्रमुख ज्ञानेश कुमारले राजधानी नयाँदिल्लीमा पत्रकार सम्मेलन गर्दै भन्नुभयो, “हाम्रो उद्देश्य प्रत्येक योग्य नागरिकलाई मतदाता सूचीमा समावेश गर्नु हो । अधिकारीहरूले घरदैलो अभियानमार्फत नागरिकलाई फारम भर्न सहयोग गर्नेछन् र त्रुटि सच्याउने काम हुने छ ।”

यसअघि, चालु वर्षको सुरुआतमा निर्वाचन आयोगले बिहार राज्यमा यस्तै संशोधन कार्य सञ्चालन गरेको थियो । बिहारमा १३ करोडभन्दा बढी जनसङ्ख्याको बसोवास छ । त्यस अभ्यासपछि करिब ६५ लाख मतदाताको नाम सूचीबाट हटाइएको थियो । आयोगले यो कदम ‘विदेशी अवैध आप्रवासीको दर्ता रोक्न’ आवश्यक रहेको दाबी गरेको थियो ।

प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) का नेताले लामो समयदेखि छिमेकी बङ्गलादेशबाट कागजातविहीन मुस्लिम आप्रवासीले गलतरूपमा मतदाता दर्ता गरिरहेका आरोप लगाउँदै आएका छन् । तर, आलोचक र नागरिक समाजका समूहले यी दाबीलाई राजनीतिक नारा भन्दै कडा कागजात माग गर्ने प्रावधानका कारण लाखौँ वास्तविक भारतीय नागरिक अन्यायपूर्वक मतदाता सूचीबाट हटाइने चिन्ता व्यक्त गरेका छन् ।

कयौँ कार्यकर्ताले जीवित मतदातालाई मृतकको रूपमा सूचीबद्ध गरिएको र कतिपय परिवारका सबै सदस्यलाई मस्यौदा सूचीबाट पूर्णरूपमा हटाइएको उदाहरण सार्वजनिक गरेका छन् । अगस्ट महिनामा भारतको सर्वोच्च अदालतले ‘आधार’ नामक बायोमेट्रिक परिचयपत्रलाई मतदाता दर्ताका लागि वैध प्रमाणपत्रको रूपमा स्वीकार गर्न सकिने आदेश दिँदै केही कानुनी विवाद कम गराएको थियो । 

तथापि, अधिकारकर्मीहरूले अझै पनि ग्रामीण र गरिब नागरिकका लागि आवश्यक कागजात जुटाउन कठिन हुने बताएका छन् । पछिल्लो एसआइआर अभियानमा भारतका प्रमुख राज्य समावेश छन् । यसमा करिब १९ करोड जनसङ्ख्या भएको उत्तर प्रदेश, नौ करोड १० लाख जनसङ्ख्या भएको पश्चिम बङ्गाल, सात करोड २० लाख जनसङ्ख्या भएको तमिलनाडु र तीन करोड ३० लाख जनसङ्ख्या भएको केरला पर्दछन् ।

यस अभ्यासविरुद्ध विभिन्न अधिकार समूह र विपक्षी दलले कानुनी चुनौती दर्ता गरिरहेका छन् । तमिलनाडुका मुख्यमन्त्री एम. के. स्टालिनले सोमबार सर्वोच्च अदालतमा निवेदन दर्ता गर्दै यो अभ्यास ‘वास्तविक मतदाताको नाम मेटाउने राजनीतिक चाल’ मात्र भएको आरोप लगाउनुभयो ।

उहाँले आइतबार विपक्षी दलको एक भेलामा सम्बोधन गर्दै भन्नुभयो, “मतदान लोकतन्त्रको शरीर र आत्मा हो र आज त्यो अधिकार गम्भीर सङ्कटको सामना गरिरहेको छ ।” भारतीय निर्वाचन आयोगका अनुसार संशोधन कार्य पूरा भएपछि अन्तिम मतदाता सूची आगामी सन् २०२६ फेब्रुअरी ७ मा सार्वजनिक गरिने छ । रासस/एएफपी