शेबरहादर सार्की
बाजुरा, कात्तिक १८ गते । बाजुराका भेडीगोठ यतीबेला औल (बेँसी) झर्न थालेका छन् । यहाँका उच्च भू–भागमा चिसो बढेसँगै भेडीगोठ पनि धमाधम औल (बेँसी) झर्न थालेका हुन् ।
कात्तिकको पहिलो सातादेखि नै यहाँ चिसो सुरु भएसँगै अहिले यहाँ देखि भेडीगोठ औल (बेँसी) झार्न थालेको बुढीनन्दा नगरपालिका स्थानीय प्रेमसिङ्ग गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “हिउँदमा यहाँका अधिकांश ठाउँमा हिमपात हुन्छ । त्यो बेला भेडाबाख्राले खाने कुरा सबै हिउँले पुरिन्छ । अनी भेडाबाख्रालाई पनि चरिचरन गर्न समस्या हुने भएकोले भेडीगोठ बेँसी सार्ने गर्छौं । ”
हिउँदको महिना औल (बेँसी) तिर तातो हुने भएकोले यहाँ भेडीगोठलाई चरिचरन गर्न सहज हुन्छ । चैत वैशाखको महिना यहाँ गर्मी हुने भएकोले त्यतिबेला फेरि ती भेडीगोठलाई लेकमै फर्काउने गरेको गुरुङले बताउनुभयो ।
पहिलेका पुस्ताले व्यवसाय तथा भेडापालन गर्नका लागि भेडीगोठलाई औल-बेँसी सार्ने गर्थे । उनीहरूले तल्लो क्षेत्रका बुढीङ्गगा, त्रिवेणी, खप्तड छेडेदह र छिमेकी जिल्ला अछामका विभिन्न ठाउँमा लाने र त्यहाँका स्थानीयको गाउँ घरमा नुन तेल चामल बिक्री गर्ने गर्थे ।
अहिले ती सबै गाउँ बस्तीमा सडक पुगेपछि त्यहाँका स्थानीयको घरमै गाडी गुड्न थालेका छन् । पहिला हाम्रा पुस्ताले उनीहरूको घरमा लिएर बिक्री गर्ने नुन, तेल, चामल लगायतका दैनिक उपभोग्य सामाग्री अहिले गाडीले उनीहरूकै घरमै पुर्याइ दिन्छ ।
अहिले हामीलाई व्यवसायका लागि नभई खाली भेडाबाख्रा पालन पोषण गर्न लागि मात्र यी भेडीगोठलाई औल तिर लिने गरेको गुरुङले बताउनुभयो ।
जिल्लाको पूर्वी उत्तर क्षेत्रका स्थानीयको भेडापालन पेसालाई पुर्खौली पेसाको रूपमा लिन सकिन्छ । पहिला गाउँमा सडकको पहुँच नहुँदा उनीहरूले यसै भेडाबाख्राको भरमा गाउँ बस्तीमा नुन, तेल चामल ढुवानी गर्ने गर्थे ।
उनीहरूले भेडामा दैनिक उपभोग्य सामाग्री ढुवानी गरी यहाँका अधिकांश गाउँ बस्तीमा बिक्री गर्ने गर्थे । अहिले यहाँका सबै गाउँ बस्ती सडक सञ्चालनको पहुँचमा भएपछि उनीहरूको त्यो व्यवसाय विस्तारै सङ्टमा पर्ने गरेको छ ।
यती मात्र होइन अहिले यहाँका भेडापाकललाई भेडापालन गर्न समेत निकै समस्या हुन थालेको छ । यहाँका गाउँ बस्तीमा रहेका वन जङ्गल सबै अहिले सामुदायिक भएपछि उनीहरूलाई भेडाबाख्रा पालनमा यो सङ्ट आएको हो ।
भेडाबाख्रा चरिचरन गर्नका लागि ठुलो क्षेत्रमा रहेको वन चाहिन्छ । तर यहाँ भएका सबै वन सामुदायिक भएकोले अहिले उनीहरूले विस्तारै भेडापालन छोड्नु पर्ने अवस्था आएको छ ।
यहाँको हिमाली गाउँपालिकामा १३८ भेडीगोठमा ६ हजार, स्वामिकार्तिकमा ११५ परिवारको भेडीगोठमा आठ हजार, जनगाथना गाउँपालिकाको १२० परिवारको भेडीगोठमा सात हजार २९ र बुढीनन्दा नगरपालिकाको तीन सय भेडीगोठमा झन्डै बिस हजार भन्दाबढी भेडाबाख्रा रहेका छन् ।
यहाँका पशु प्राविधिकका अनुसार बाजुरामा ६७३ भेडीगोठका झन्डै ४१ हजार २९ भेडाबाख्रा रहेका छन् । यो भन्दा पहिला यहाँ भेडापालन गर्नेको सङ्ख्या बढी थियो भने यतीबेला कमी आएको छ ।
यहाँका अधिकांश स्थानीयले जागिरको खोजी गर्नु र भेडापालन गर्नका लागि चरिचरन गर्ने ठाउँ अभाव भएको कारण पछिल्लो समयमा यहाँ भेडाबाख्रा पाल्नेको सङ्ख्यामा कमी आएको हिमाली गाउँपालिकाको भेटेरिनरी शाखाका प्राविधिक गौरी कार्कीले बताउनुभयो ।