• १८ कात्तिक २०८२, मङ्गलबार

आगलागी पीडितलाई आठ लाख ३४ हजार सहयोग

blog

पीडितलाई सहयोग रकम हस्तान्तरण गर्दे नगर उद्योग वाणिज्य संघ र सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका पदाधिकारीका साथै स्थानीयहरु ।

चित्रकुमार मिजार

सिन्धुपाल्चोक, कात्तिक १८ गते । मेलम्चीका आगलागी पीडितलाई सहयोग जुटाएर ८ लाख ३४ हजार मद्धत गरिएको छ । मेलम्ची बजारमा रहेको सुनचाँदी पसल र फेन्सी स्टोरमा केही दिनअघि भीषण आगलागी भएको थियो ।

आगलागीबाट अधिकारी फेन्सी स्टोर पूर्ण रुपमा ध्वस्त हुदाँ लाखौं रुपियाँको क्षति भएको र धनलक्ष्मी ज्वेर्लसको केही सामान क्षति भएको थियो । आगलागीका कारण सम्पूर्ण सामान नष्ट भएको अधिकारी स्टोरलाई ७ लाख ८४ हजार १५१ रुपियाँ र धनलक्ष्मी ज्वेर्लसलाई ५० हजार नगद सहयोग गरिएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका उपाध्यक्ष प्रकाश दाहालले जानकारी दिनुभयो ।

स्थानीय, विभिन्न संघसंस्था, समाजसेवी लगायतबाट आगलागी पीडितको मद्धतका लागि सहयोग रकम सङ्कलन गरिएको थियो । संघका उपाध्यक्ष दाहाल, मेलम्ची नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करप्रसाद धिताल, महासचिव तारा बानियाँको अगुवाईमा सहयोग रकम जुटाइएको थियो । सहयोग रकम पाएपछि सोही रकमले व्यवसाय सुरु गर्ने पीडित अधिकारी फेन्सी स्टोरका दिनेश अधिकारी र धनलक्ष्मी ज्वेर्लसका रोशन सुनारले प्रतिक्रिया दिएका छन् । 

उक्त सहयोग रकमले पुनस्थापनाका लागि ठूलो राहत मिलेको अधिकारीले बताउनुभयो । बिपद्ले ठूलो पीडा दिएपनि छिमेकी र सहयोगदाताको मद्धतले व्यवसाय फेरि सुरु गर्ने दिनेशले बताउनुभयो । आपतविपतमा छरछिमेकी र आसपासका मानिस काम लाग्दा रहेछन् भन्ने भनाई चरितार्थ भएको अधिकारीको भनाइ छ । ‘आगलागीले जीवनभरको कमाई र मेहनत नष्ट भएपछि सडकमा आइपुगेको थिए, तर सहयोगी मनले सडकबाट उठाउनु भएको छ,’ दिनेशले सहयोगीलाई आभार व्यक्त गर्नुभयो ।

अर्का आगलागी पीडित रोशन सुनारले पनि बिपत्मा छरछिमेकी र सहयोगी मनहरु काम लाग्ने प्रतिक्रिया दिनुभयो । घरखेत धितो राखेर फेन्सी पसल सुरु गरेर घरव्यवहार चलाउदै आएको आगलागीले सबै क्षति हुदाँ पीडामा हुदाँ स्थानीय र सहयोगी मनको मद्धतले ठूलो राहत मिलेको अधिकारीले बताउनुभएको छ । आगलागी भएपछि स्थानीयहरुले फेन्सी स्टोर र ज्वेर्लयसमा आगलागी नियन्त्रण गरेका थिए । साथै सुरक्षाकर्मीले आगो निभाउन बिशेष भूमिका निर्वाह गरेका थिए। 

धनलक्ष्मी र अधिकारी फेन्सी स्टोरमा आगलागी के कारणले भयो भन्नेमा निक्यौल भएको छैन् । रातका समयमा आगलागी भएपछि स्थानीय र सुरक्षाकर्मीको पहलमा आगो नियन्त्रणमा लिएको थियो । तर आगलागीका कारण पत्ता लगाउन आवश्यक रहेको स्थानीयहरुले माग राखेका छन् । इलाका प्रहरी कार्यालय मेलम्चीले दुई वटा पसल व्यवसायमा के कसरी आगलागी भएको हो । 

त्यसको सत्यतत्य पत्ता लगाइने जनाएको छ । पछिल्ला समय जिल्लाका मुख्य बजारमा आगलागी बढेको छ । साथै जिल्लाभरका कृषि तथा पशुपालन व्यवसायका र्फमहरुमा पनि आगलागी घटना हुदैं आएका छन् ।