• १८ कात्तिक २०८२, मङ्गलबार

कार्यालयमा सेवाग्राहीको चाप

blog

सदरमुकाम मलङ्गवास्थित भूमिसुधार तथा मालपोत कार्यालयपरिसर । तस्बिर : जनार्जन खत्री

सर्लाही समाचारदाता

सर्लाही, कात्तिक १८ गते । प्रमुख चाड तिहार र छठपर्वपछि सर्लाहीका प्रत्येक सरकारी कार्यालयमा सेवाग्राहीको चाप बढ्न थालेको छ । चाडपर्वको बिदामा रोकिएको काम लिएर सेवाग्राही धमाधम कार्यालयमा आउन थालेका छन् । कर्मचारीका अनुसार जिल्ला प्रशासन, इलाका प्रशासन, मालपोत, नापी, अदालत, प्रहरी, यातायात व्यवस्थालगायत कार्यालयमा सेवाग्राहीको चाप बढेको हो । चाडपर्वको बिदा सकेर कर्मचारी नियमित काममा फर्किसकेका छन् । जेनजी आन्दोलनपछि उत्पन्न असहज परिस्थिति र चाडपर्वपछि यहाँका प्रायः सबै कार्यालयले साबिक झैँ सेवा दिन थालिसकेका छन् । 

नापी कार्यालय मलङ्गवाका प्रमुख सञ्जय मानन्धरले आइतबारदेखि साबिककै झैँ सेवाग्राहीको चाप बढेको बताउनुभयो । चाडपर्व सकिएपछि मलङ्गवा, हरिवन र बरहथवामा रहेका मालपोत तथा नापी कार्यालयमा जग्गा किनबेचसहितको काम लिएर आउने सेवाग्राहीको चाप बाक्लो देखिन्छ । 

सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रशासन कार्यालयलाई पनि चाडपर्वपछि सेवाग्राहीको चाप थेग्न हम्मे हम्मे परिरहेको कर्मचारीको भनाइ छ । कार्यालयले दैनिक नयाँ र प्रतिलिपि गरी करिब दुई सय जनाको नागरिकता जारी गर्ने गरेको छ भने राष्ट्रिय परिचयपत्रतर्फ पनि सेवाग्राहीको उत्तिकै भिडभाड रहेको सहायक प्रमुख जिल्ला अधिकारी शिवहरि पोखरेलले बताउनुभयो । 

सेवाग्राहीको चाप अत्यधिक बढ्दा कर्मचारीको अभाव रहेको प्रशासन कार्यालयलाई सेवा प्रवाहमा समस्या परिरहेको छ । जेनजी आन्दोलन र लगत्तै चाडपर्वको लामो बिदापछि सुनसान रहेका यहाँका पालिकाले पनि अब भने साबिककै अवस्थामा फर्किएका छन् । 

जेनजी आन्दोलनमा आगजनी र तोडफोडबाट ध्वस्त भएका लालबन्दी, हरिवन, ईश्वरपुर, चन्द्रनगर र बरहथवा नगरपालिकाको कार्यालयले अधिकांश सेवा सुचारु गरिसकेका छन् । जलेका वडा कार्यालयले पनि व्यक्तिगत घटनासहितका सेवा सुचारु गरेसँगै सेवाग्राहीको चाप बढेको छ । 

सेवा सुरु भएसँगै पालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को योजना सम्झौता सुरु गर्ने तयारीसमेत गरेका छन् । लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपानेले अब योजना सम्झौता गर्नेदेखि जेनजी आन्दोलन र चाडपर्वका कारण रोकिएका सबै कामलाई नियमित बनाउँदै लैजाने बताउनुभयो ।