लीलाधर वली
घोराही, कात्तिक १८ गते । दाङमा करिव एक महिनाको अवधिमा १३ सयभन्दा बढी मतदाता थपिएका छन् ।
गत असोज १२ गतेदेखि दर्ता तथा अद्यावधिक सुरु भएको दाङमा कात्तिकको १७ गते सोमवारसम्म एक हजार तीन सय चार जनाले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका हुन् ।
जिल्लामा असोजको १२ गतेदेखि कात्तिकको १७ गतेसम्म आठ सय ३३ जना पुरुष र चार सय ७१ जना नयाँ मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कवँरले जानकारी दिनुभयो ।
सूचना अधिकारी कवँरका अनुसार यो अवधिमा जिल्लामा सबैभन्दा धेरै घोराही उपमहानगरपालिकामा पाँच सय ५९ जना, तुलसीपुर उपमहानगरपालिकामा तीन सय ७५ जना, लमही नगरपालिकामा ७७ जना, राप्ती गाउँपालिकामा ५५ जना, गढवा गाउँपालिकामा ३९ जना, बङ्गलाचुली र शान्तिनगर गाउँपालिकामा २९÷२९ जना, दंगीशरण गाउँपालिकामा २७ जना, बबई गाउँपालिकामा १९ जना र राजपुर गाउँपालिकामा सात जना नयाँ मतदाता थपिएका छन् ।
त्यसैगरी, यस अवधिमा एक सय ८३ जनाले नामसारी गरेका छन् भने ८६ जनाले मतदाता नामावलीमा रहेको त्रुटि सच्याएका छन् । कार्यालयका सूचना अधिकारी कवँरका अनुसार नयाँ मतदाता नामावली दर्ता गराउनका लागि थप एक हजार १२ जनाले अनलाइनबाट अग्रिम फारम भरेको तर बायोमेट्रिकका लागि कार्यालयमा अझै आइनपुगेको जानकारी दिनुभयो ।
आगामी फागुन २१ गते हुने निर्वाचनमा आफ्नो भोटिङ अधिकार प्राप्त गर्नका लागि अपेक्षा गरे अनुसार जिल्लामा मतदाता नामावली दर्ताका लागि नआएको सूचना अधिकारी कवँरकाे भनाइ छ ।
मतदाता नामावलीमा नयाँ नाम दर्ता र अद्यावधिक बारे जिल्लामा प्रचारप्रसार नहुँदा अन्त्य न्यून मात्रमा मतदाता नामावली सङ्कलनको कार्य भइरहेको बताउनुभयो । कात्तिक ३० गतेसम्म नयाँ दर्ता एवं अद्यावधिक कार्य चल्नेछ ।