• १८ कात्तिक २०८२, मङ्गलबार

बालबालिकाको आश्रयस्थल ‘अमोर सेवा’

blog

वालिङ समाचारदाता

वालिङ (स्याङ्जा), कात्तिक १८ गते । सडक बालबालिका भेटिए वा अभिभावकविहीन बालबालिकालाई आश्रय दिनु परेमा सबैले ‘अमोर सेवा नेपाल’ लाई सम्झिने गर्छन् । स्याङ्जाको फेदीखोला गाउँपालिका–१, कटुन्जेमा रहेको ‘अमोर सेवा नेपाल’ पछिल्ला दिनमा अभिभावकविहीन र सडक बालबालिकाको आश्रयस्थल बन्दै गएको छ । स्याङ्जा जिल्लालाई सडक बालबालिकामुक्त बनाउने अभियानको नेतृत्व गरेको सो संस्थाले बालबालिकालाई आश्रयसँगै शिक्षासमेत दिँदै आएको छ । 

‘अमोर सेवा नेपाल’ का अध्यक्ष कमला पराजुलीले बालबालिकाको संरक्षण र हेरविचार गर्दै आउनुभएको छ । उहाँ भन्नुहुन्छ, “स्याङ्जा मात्रै होइन, छिमेकी जिल्लाबाट पनि सहयोग गरिदिनु प¥यो भनेर फोन आउँछ, समस्यामा परेका बालबालिकालाई सके जति सहयोग गर्दै आएकी छु ।” पाल्पाबाट दुई बालबालिका लिएर आउँदै गर्दा वालिङ बजारमा भेटिएकी कमलाले भन्नुभयो, “कोही नभएकालाई सहयोग गर्ने भनेर हामीले यो अभियान सञ्चालन गरिरहेका छौँ ।” विभिन्न दाताका कारण आफूले काम गर्न सकेको उहाँको भनाइ छ । विसं २०६८ देखि सञ्चालनमा आएको बालगृहमा ४३ जना बालबालिका बस्दै आएका छन् । 

५० जना क्षमताको बालगृहमा विभिन्न कारणले सहाराविहीन हुन पुगेका बालबालिका आफ्नै घरपरिवार सरह बस्न पाएकोमा खुसी भएका छन् । बालबालिकाले कमला पराजुलीलाई आमा भनेर सम्बोधन गर्ने गर्छन् ।