• १८ कात्तिक २०८२, मङ्गलबार

निर्माण व्यवसायीले काम नगर्दा सडक अलपत्र

blog

ग्राभेल गरेर छाडिएको हुलाकी सडकको गढवा–वनघुर्सी खण्ड । तस्बिर : लीलाधर वली

घोराही समाचारदाता 

घोराही, कात्तिक १८ गते । छ वर्षदेखि अलपत्र रहेको हुलाकी सडकको ठेक्का सम्झौता रद्द गर्ने तयारी भएको छ । हुलाकी सडक आयोजना नेपालगन्जले ठेकेदारको लापर्बाहीका कारण सडक निर्माणमा अपेक्षित प्रगति हुन नसकेपछि ठेक्का रद्द गर्ने प्रक्रिया अघि बढाइएको जनाएको छ ।

गढवा–कालाकाटे हुलाकी सडक अन्तर्गत गढवादेखि वनघुर्सीसम्मको करिब २० किलोमिटर सडक २०७६ कात्तिक २९ गते वज्रगुरु कान्छाराम जेभी काठमाडौँसँग ६५ करोड रुपियाँमा ठेक्का सम्झौता भएको थियो । तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि ठेकेदारको लापर्बाहीका कारण सडक निर्माणको काममा ढिलाइ भएको आयोजनाले जनाएको छ । हालसम्म नौ किलोमिटर सडकमा एक तह कालोपत्रे गरिएको छ भने बाँकी खण्डमा ग्राभेल मात्र गरिएको छ । सम्झौताको अवधिमा काम हुन नसकेपछि पहिलो पटक २०७९ साल मङ्सिर अन्त्यतिर म्याद थप गरी २०८० साउन १० सम्मलाई समय दिइएको थियो । हुलाकी सडक कार्यालय नेपालगन्जका प्रमुख लीलाबहादुर भण्डारीले त्यसपछि पनि पटक पटक म्याद थप गरिए पनि ठेकेदारले  काम गर्न नसकेको जानकारी दिनुभएको छ । 

भण्डारीका अनुसार गत वर्ष ठेक्का तोड्ने गरी प्रक्रिया अघि बढाए पनि ठेकेदारलाई कानुनी प्रक्रिया अनुसार दुई सय दिनको अतिरिक्त समय दिइएको थियो । आयोजना प्रमुख भण्डारीका अनुसार उक्त समयको पनि १२० दिन सकिएर अब ८० दिन मात्र बाँकी रहँदासम्म पनि आधा काम हुन सकेको छैन । भण्डारीले भन्नुभयो, “पछिल्लो पटक दिएको दुई सय दिनमध्ये अब ८० दिन मात्र बाँकी छ तर ठेकेदारले हाल काम गरेको अवस्था छैन । यो हिसाबले काम सकिने सम्भावना पनि देखिँदैन ।” 

ठेकेदारलाई आयोजनाले काम गर्नका लागि कानुनी प्रक्रिया अनुसार अन्तिम समय दिएको र उक्त समयमा पनि काम नहुने अवस्था भएकाले अब ठेक्का रद्द गर्ने वा पूर्वनिर्धारित क्षतिपूर्ति दिलाएर काम गराउने विषयमा अन्तिम निर्णयका लागि ठेकेदारका प्रतिनिधिसँग सम्पर्क गरिरहेको बताउनुभयो । 

ठेक्का सम्झौता भएका तर लामो समयदेखि काम सम्पन्न हुन नसकेर अलपत्र परेका आयोजनाको ठेक्का तोड्ने प्रक्रिया अनुसार दाङको हुलाकी सडकलाई पनि राखिएको भन्दै आयोजना प्रमुख भण्डारीले भन्नुभयो, “यदि ठेकेदार कम्पनी सम्पर्कमा आयो र पूर्वनिर्धारित क्षतिपूर्ति तिरेर काम गर्न तयार भयो भने ठेक्का रद्द गर्दैनौँ अन्यथा रद्द हुने छ ।” 

आयोजना प्रमुख भण्डारीले पूर्वनिर्धारित क्षतिपूर्ति तिरेर ठेकेदारले काम गर्न तयार भएमा ठेक्का सम्झौता भएको ६५ करोड रुपियाँको १० प्रतिशत अर्थात् छ करोड ५० लाख रुपियाँ तिर्नुपर्ने बताउनुभयो । आयोजनाका अनुसार उक्त सडकको हाल भौतिक प्रगति ४० प्रतिशत र वित्तीय प्रगति ३५ प्रतिशत मात्र रहेको छ । आयोजनाका अनुसार ठेकेदारले काम गरेको करिब दुई करोड जति रकम पाउन बाँकी रहेको छ ।