कोकिला ढकाल
इलाम, कात्तिक १८ गते । गत असोज १८ को बाढीपहिरोपछि इलाममा ११ अर्ब ८१ करोड ७९ लाख ८५ हजार रुपियाँ बराबरको क्षति भएको छ । जिल्लामा सञ्चालित विद्युत् आयोजना, सिँचाइ आयोजना, खानेपानी आयोजना र कृषि क्षेत्रमा सबैभन्दा बढी क्षति भएको हो ।
असोज १८ र १९ गते र कात्तिक १२ पछिको वर्षाले इलामको सिँचाइ क्षेत्रमा करिब ९५ करोड रुपियाँ बराबरको क्षति भएको सिँचाइ डिभिजन कार्यालयले जनाएको छ । यस्तै वर्षापछिको बाढीपहिरोका कारण जिल्लामा सञ्चालित खानेपानीका २९ आयोजनामा क्षति पुुगेको जनाइएको छ । यी आयोजनाको क्षति मूल्याङ्कन गर्दा करिब २८ करोड ३० लाख रुपियाँ बराबरको क्षति भएको सङ्घीय खानेपानी कार्यालयले जनाएको छ ।
खोलामा आएको बाढीका कारण इलामको विद्युत् क्षेत्रमा करिब एक करोड ७६ लाख रुपियाँ बराबरको क्षति भएको अनुमान गरिएको नेपाल विद्युत् प्राधिकरण इलामले जनाएको छ । क्षति भएको विद्युत् संरचना पुनर्निर्माण गर्न करिब दुुई करोड ४७ लाख रुपियाँ खर्च लाग्ने प्राधिकरणको प्रारम्भिक अनुमान छ ।
यस्तै कृषि क्षेत्रमा २७ करोड ३९ लाख ९५ हजार रुपियाँको क्षति भएको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ । केन्द्रका अनुसार करिब तीन हजार चार सय कृषकले ८९२ हेक्टर जमिनमा लगाएका करिब तीन हजार २० मेट्रिक टन उत्पादनमा क्षति पुुगेको कार्यालयको तथ्याङ्क छ । केन्द्रका अनुसार कृषि पूर्वाधारतर्फ सिँचाइबाहेक ३८ लाख ९२ हजार रुपियाँ बराबरको क्षति भएको जनाइएको छ ।
असोज १८ को विपत्पछि इलाममा ३९ जनाले पहिरोमा परी ज्यान गुमाएका छन् । एक जनाको अवस्था अझै अज्ञात छ । यस्तै ३३८ घर पूर्ण रूपले क्षति भएका छन् । ८२८ घरमा आंशिक क्षति भएको छ । ४४९ परिवार विस्थापित भएका छन् भने ११ परिवार सामुुदायिक भवनमा बस्दै आएका र बाँकी आफन्त र छिमेकीकहाँ बस्दै आएका जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ । विपत्पछि मेची राजमार्गको राजदुवाली माईखोलामाथिको खण्डमा पहिरो गएपछि अझै यो खण्ड सहज रूपमा सञ्चालनमा आउन सकेको छैन ।