चितवन समाचारदाता
चितवन, कात्तिक १८ गते । जेनजी समूहको आन्दोलनका क्रममा भएको आगजनीबाट भरतपुर महानगरपालिकाका अभिलेख नष्ट भएपछि पुनः अभिलेख खडा गर्ने तयारी थालिएको छ । आगजनीबाट कार्यालयमा भएका कुनै पनि कागजात नरहने गरी नष्ट भएपछि कार्यविधि बनाएर अभिलेख राख्ने तयारी गरिएको हो । महानगरपालिकाको कार्यपालिका बैठकबाट निर्णय गरी नयाँ स्रेस्ता कायम गर्न कार्यविधि बनाएर अभिलेख खोज्न कार्यदल बनाउन लागिएको छ ।
महानगरपालिकाका उपसचिव शेषकान्त पौडेलले कार्यालय भवनमा रहेका सबै कागजपत्र जलेर नष्ट भएका बताउनुभयो । छिट्टै एउटा अधिकार प्राप्त कार्यदल बनाउने र त्यही कार्यदलले सबै अभिलेख खोज्ने तथा नयाँ बनाउने काम गर्ने उहाँले जानकारी दिनुभयो । “नयाँ स्रेस्ता कायम गर्नका लागि तयारी भएको छ,” उहाँले भन्नुभयो, “कर्मचारी बस्ने स्थानको अभावमा काम गर्ने समय नपाएकाले कठिन भएको छ ।”
“एउटै हलमा सबै कर्मचारी बसेर काम गर्दै आएका छौँ,” भेटिन सक्ने अभिलेख तयार पार्दै गरेका छौँ,” उहाँले भन्नुभयो । नष्ट भएका सामग्रीको विषयमा भेटिन सक्ने स्थान बैङ्क, व्यक्तिको घरलगायतबाट कसरी प्राप्त गर्ने भन्ने विषयमा कार्यविधि बनाउने तयारी भएको उहाँले जानकारी दिनुभयो ।
पौडेलले कार्यालयमा दर्ता भएको रजिस्टर संयोगले सुरक्षित भएकाले काम गर्न सहज भएको जानकारी दिनुभयो । रजिस्टरबाहेकका सबै कागजपत्र जलेका छन् । अनलाइनमार्फत भएका काम भने सुरक्षित भएको उहाँले बताउनुभयो । सुरक्षित भएका सेवामा लेखा, राजस्व, पञ्जीकरण र स्वास्थ्य सेवा रहेका छन् । यीबाहेक घरको नक्साको फाइल सबै जलेका छन् । अन्य कार्यालका कागजपत्र पनि नष्ट भएको छ । कार्यालयमा भएको रजिस्टरको आधारमा घरका नक्सा फेरि तयार पार्ने, सेवाग्राही सेवा लिन आउँदा कुन सेवा लिने हो, त्यही समयमा फाइल खडा गरेर खोज्ने काम गरिने उपसचिव पौडेलले जानकारी दिनुभयो । कागजपत्र जलेपछि काम गर्न निकै कठिन भएको उहाँको भनाइ छ । सेवा लिन आउनेलाई रोकेर सेवा दिन नसक्ने अवस्था भने छैन तर काम गर्न भने असजिलो भएको छ ।
चालु आर्थिक वर्षका योजना मात्र नभएर गत वर्षका योजनाका फाइल सबै जलेका छन् । गर्नुपर्ने भुक्तानीका कागजपत्र र विवरण पनि जलेका छन् । यस्ता कामलाई भने अध्ययन गरेर मात्र गर्नुपर्ने भएकाले केही कठिनाइ भएको उहाँले जानकारी दिनुभयो । निर्माण कम्पनीसँग भएको विवरण, प्रमाण, अन्य प्रमाणलाई आधार बनाएर भुक्तानीको काम हुने उहाँले बताउनुभयो । उपभोक्ता समितिसँग पनि प्रमाण हुने भएकाले काम नै गर्न नसकिने गरी बन्द भने नभएको उहाँले उल्लेख गर्नुभयो ।
कार्यालयका वातावरण महाशाखा प्रमुख विसुराम कुँवरले कार्यालय व्यवस्थित रूपमा सञ्चालन हुन नसक्दा शाखाले आफ्नो योजना अनुसार काम गर्न नसकेको बताउनुभयो । “रातो किताबमार्फत काम गर्नुपर्ने थियो, सबै कागजपत्र जलेका छन्, कुनै योजना पूरा गर्न सबै प्रव्रिmया पूरा गर्नुपर्ने हुन्छ तर काम गर्न सक्ने अवस्था छैन,” उहाँले भन्नुभयो । कार्यालय आएर काम विस्तारै सुरु गर्ने अवस्थामा आएका छौँ,” उहाँले भन्नुभयो, “बस्ने र काम गर्ने अवस्थामा कार्यालय र आवश्यक कागजपत्र तयार नहँुदासम्म समस्या भइरहने छ ।”
महानगरपालिकाको नयाँ निर्माण हुँदै गरेको प्रशासनिक कार्यालयको काम पूरा नभएकाले व्यवस्थित रूपमा सेवा दिनसकेको छैन । नयाँ भवनको रङरोगन, आन्तरिक तयारीको काम यो आर्थिक वर्षभित्र सकेमा त्यहीँ सर्ने तयारी गरेको छ ।