सिराज खान
नेपालगन्ज, कात्तिक १६ गते । पुस र माघ महिनामा लाग्ने हुस्सु र कुहिरो यस पटक कात्तिकमै लागेसँगै बाँकेमा चिसो बढेको छ । गर्मी भइरहेकै बेला मोन्था आँधीको असरले केही दिन मौसममा बदली भएर हल्का वर्षा भएपछि नेपालगन्जको मौसममा परिवर्तन सुरु भएको हो ।
तर मौसम परिवर्तनको सुरुमै आइतबार बिहानबाटै लागेको हुस्सु र कुहिरोले गर्दा स्थानीयले आश्चर्य प्रकट गरेका छन् ।
नेपालगन्ज ११ का स्थानीय फिरोज सिद्दिकीले यस अघि यति छिटो यसरी हुस्सु लागेको आफूले थाहा नपाएको बताउनुभयो । उहाँले यस्तो हुस्सु त पुस माघमा लाग्ने गरेको बताउनुभयो ।
हुस्सुका कारण नेपालगन्ज विमानस्थल बिहान नौ बजेसम्म खुलेको छैन भने अन्य सवारी साधन दुर्घटनाकोे जोखिम पनि बढेको छ । हुस्सुकै कारण बिहानका कामहरु प्रभावित भएको स्थानीयले जनाएका छन् ।
आइतबार बिहानबाटै सामाजिक सञ्जालदेखि लिएर भेटघाटमा समेत यो एक्कासी लागेको हुस्सु र कुहिरोले व्यापक चर्चा पाएको छ ।