कविराज घिमिरे
हिले (धनकुटा), कात्तिक १६ गते । धनकुटा नगरपालिका क्षेत्रमा मुख्य बसोबास रहेको सिमान्तकृत आठपहरिया जातिको मुख्य चाड वडाङ्मी (मङ्सिरे) सुरु भएको छ । आठपहरिया जातिको मुख्य चाडको रूपमा रहेको वडाङ्मेट बिहीबार आठपहरियाको ठुलो घर अर्थात ५२ चुले घरमा माङ्लाङ् उठाएपछि चाड सुरु भएको आठपहरीयाका पुजारी उमेश राइले जानकारी दिनुभयो ।
जसअन्तर्गत उनीहरु आइतबार धनकुटाबाट बराह क्षेत्रतर्फ प्रस्थान गरेका छन् । पैदल यात्रामार्फत उनिहरु दुइ दिन लगाएर बराहक्षेत्र पुग्ने गरेका छन् । आज सिमालीवासमा बास बसी सोमबार बराहक्षेत्र पुगेर कोकाहा खोलामा कपाल दाह्री खौरिएर स्नान गरेर बराह भगवानको दर्शन गरेर सोही ठाउँमा बास बस्रे र मङ्गलबार देउता लिएर फर्की धनकुटा नगरपालिका वडा नं. ९ मूलघाटमा बास बसेर बुधबार घर आइपुग्ने आठपहरिया समाजका केन्द्रीय उपाध्यक्ष सूर्य आठपहरियाले जानकारी दिनुभयो । यस्तै धनकुटामै हुनेले मङ्गलबार मार्गा पूजा गर्ने उहाँले बताउनुभयो ।
बुधबार अर्थात पूर्णिमाको दिन बिहान घर आएपछि दुःखको कर्म फुकाउने काम हुन्छ । यससँगै भोज खुवाउने र नाचगान गर्ने प्रचलन छ । यो क्रम औँसीसम्म जारी रहन्छ । चाडका अवसरमा आठपहरिया जातिभित्रको हुम्वारक, छिर्लिङे, खावाडो तीन पाछा अर्थात् पुस्ताको डल्ले नाच नाच्ने चलन छ । आठपहरिया जातिको वैशाखे, भदौरे र मङ्सिरे गरी तीनमध्ये वडाङ्मेट अर्थात मङ्सिरे चाड महत्त्वपूर्ण चाड हो ।