नेपालगन्ज समाचारदाता
नेपालगन्ज, कात्तिक १६ गते । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका सबै घटनाको छानबिन गर्न सरकारले गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माले आयोगले निष्पक्ष र स्वतन्त्र भएर छानबिन गर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, “जाँचबुझ आयोग कसैप्रति पनि पूर्वाग्रही हुँदैन ।”
उहाँले आयोगले पूर्वाग्रही ढङ्गले काम गर्ने भन्ने आशङ्का नगर्न आग्रह गर्दै छानबिनमा सहयोग गर्न सबैसंग अनुरोध गरिएको बताउनुभयो । जाँचबुझ आयोगले सरकारी कार्यालयका प्रमुख, राजनीतिक दल, सङ्घ, संस्थाका प्रतिनिधि एवं सञ्चारकर्मीबाट सुझाव र जानकारी लिन नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा बोल्दै आयोगका प्रवक्ता शर्माले यस्तो बताउनुभएको हो । उहाँले आयोगबाट गलत कुरा प्रतिवेदनमा नजाने उल्लेख गर्दै फौजदारी कसुरमा अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाउन आयोगको प्रतिवेदन कुर्न नपर्ने स्पष्ट पार्नुभयो । प्रवक्ता शर्माले थप्नुभयो, “हामीले फ्याक्ट फाइन्डिङ गर्ने हो, केही सङ्केत गर्ने हो र भविष्यमा यस्ता घटना हुन नदिन सुझाव दिने हो ।” यसभन्दा अघिल्लो सरकारमा रहेकाहरूको बयान गराउन आवश्यक पर्ने भएकाले पासपोर्ट रोक्का गर्ने निर्णय गरिएको जनाउँदै उहाँले स्वीकृति लिएर उपत्यकाबाहिर जान कसैलाई पनि समस्या नरहेको बताउनुभयो ।
सोही अवसरमा बाँकेमा भएको क्षतिको जानकारी गराउँदै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसीले आन्दोलनका क्रममा जिल्लाका २९ वटा सरकारी कार्यालयमा आगजनी तथा तोडफोड गरिएको बताउनुभयो ।
प्रहरी प्रमुख जिसीले प्रहरीतर्फ इलाका प्रहरी कार्यालय जयसपुरमा आंशिक क्षति र अस्थायी ट्राफिक प्रहरी पोस्ट नेपालगन्जमा पूर्ण क्षति पुगेको र प्रहरीका चार वटा सवारीसाधनमा पनि पूर्ण रूपमा क्षति पुगेको बताउनुभयो । सोही क्रममा राजनीतिक दलका दुई वटा कार्यालयमा ठुलो क्षति पुगेको पनि सो अवसरमा जानकारी गराइयो । आन्दोलनका क्रममा जिल्लामा २४५ वटा दुईपाङ्ग्रे, ४१ वटा चारपाङ्ग्रे, २१ वटा तीनपाङ्ग्रे सवारीसाधन र दुई वटा छचक्के ट्रक पूर्ण रूपमा ध्वस्त भएको जानकारी प्रहरीले दिएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र चौधरी, नेपाली कांग्रेस बाँकेका सचिव सुधांशु कोइराला र एमाले बाँकेका नेता घननाथ खनाललगायतले आयोगले अनुसन्धान र जाँचबुझ निष्पक्ष तरिकाले गर्नुपर्ने माग गर्दै विध्वंस मच्चाउनेलाई कडा कारबाही सिफारिस गर्नुपर्नेमा जोड दिनुभयो ।