• १२ कात्तिक २०८२, बुधबार

कर्मचारी निकालेको भन्दै मेचीनगरमा धर्ना

blog

धर्नामा बसेका कर्मचारीहरु ।

विष्णुप्रसाद पोखरेल

दमक, कात्तिक १२ गते । झापा मेचीनगरका अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुको करार सेवा रद्द गरेपछि कर्मचारी धर्ना सुरु गरेका छन् ।  नगरपालिकाले एकैसाथ १३८ जनाको करार सेवा रद्द गरेको थियो ।

सङ्घीय सरकारको खर्च कटौतीको निर्णयअनुसार गत कात्तिक १ गतेदेखि एकसय ३८ कर्मचारीलाई एकैसाथ नगरपालिकाले निकालेपछि कर्मचारीमा आश्रित परिवारको बिचल्ली भएको बताइएको छ । १६ वर्षसम्म ऊर्जाशील समय यही बित्यो अब अहिले आएर बिना कारण निकालियो, एक कर्मचारीले भन्नुभयो ।

बुधबार कार्यालय खुलेपछि करार सेवा रद्द गरिएका कर्मचारीले आएर नगरपालिकाको मुख्य गेटनजिक बसेर धर्ना सुरु गरेका हुन् । उनीहरुले करार सेवा रद्द नगर्न र पूर्ववत् अवस्थामा काम गर्न पाउनुपर्ने एकसूत्रीय माग अघि सारेका छन् । उनीहरुको मागलाई कतिपय कार्यापालिका सदस्य, स्थानीय राजनीतिक दलहरुले समेत साथ दिएको पाइएको छ ।

सङ्घीय सरकारको निर्देशन तथा परिपत्र र नगर कार्यापालिका बैठकले सर्वसम्मत निर्णय गरेर अति आवश्यक कर्मचारीहरु बाहेकलाई हटाउने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बताउनुभयो । नीतिगत निर्णय भएपछि कार्यान्वयन गरिएको हो, उहाँले भन्नुभयो ।

कार्यपालिका सदस्य एवं मेचीनगर नगरपालिका वडा ४ का वडाध्यक्ष अर्जुन कार्कीले नगरपालिकाले स्वास्थ्य क्षेत्रको कर्मचारी यथास्थितिमा राखे पनि स्वास्थ्य क्षेत्रको परिचालिकालाई समेत निकालेको भन्दै आपत्ति जनाउनुभयो । यो निर्णयमा हाम्रो सहमति छैन, उहाँले भन्नुभयो ।

अघिल्लो उपस्थितिलाई मान्यता राखेर नगरपालिकाले सर्वसम्मत यस्तो निर्णय  गरेको भनेर बाहिर ल्याइएको बताउँदै उहाँले आपत्ति जनाउनुभयो । गलत ढङ्गले अपारदर्शी र गलत निर्णयका कारणले गर्दा अहिले वडा कार्यालय नै सञ्चालन नहुने अवस्थामा पुगेको उहाँले बताउनुभयो । 

लामो समयदेखि नगरपालिकाको सेवामा लाग्नुभएका कर्मचारीलाई नगरपालिकाले ससम्मान बिदा गर्नुपर्ने ठाउँमा निष्कासन गर्नुपर्ने परिस्थिति सिर्जना गर्नु धेरै नै दुःखद भएको उहाँको दाबी छ ।