• १२ कात्तिक २०८२, बुधबार

राजा महेन्द्रलाई किन लेखियो श्री ३ ?

blog

शिलालेख, जहाँ राजा महेन्द्रलाई श्री श्री श्री अर्थात श्री ३ भनेर उल्लेख गरिएको छ ।

बोमलाल गिरी

नवलपुर, कात्तिक १२ गते । राजाहरूलाई श्री ५ महाराजधिराज वीरविक्रम शाहदेव भनेर पुकारिन्थ्यो । ज्ञानेन्द्र शाहले राजगद्दी त्याग्नुअघि श्री ५ महाराज धिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव भनिन्थ्यो । 

एउटा पुरानो यस्तो शिलालेख भेटिएको छ, जहाँ राजा महेन्द्रलाई श्री श्री श्री अर्थात श्री ३ भनेर उल्लेख गरिएको छ । हालको पूर्व–पश्चिम राजमार्ग जसलाई विसं. २०१९ साल वैशाख १ गते नयाँ वर्षको अवसर पारेर राजा महेन्द्रले शिलान्यास गर्नुभएको थियो । त्यसैले यो राजमार्गलाई उहाँकै नामबाट महेन्द्र राजमार्ग भनिन्थ्यो । तर शिलालेखमा भने पूर्व–पश्चिम राजमार्ग नै उल्लेख छ । 

उक्त भाग पूर्व–पश्चिमकै मध्येभाग भएकाले नवलपुरको गैँडाकोटमा शिलालेख राखिएको गैँडाकोटका स्थानीय ७० वर्षीय बेदप्रसाद गौडेलले बताउनुभयो । तर सडकको पुनः मापनपछि भने मध्यविन्दु नगरपालिकालाई मध्यमाग मानिन्छ । 

गैँडाकोटमा निर्माण गरिएको शिलालेखमा ‘श्री महाराजधिराज श्री श्री श्री महाराज महेन्द्र वीरविक्रम जङ्गबहादुर शाह, बहादुर शमशेर जङ्ग भनेर’ लेखिएको छ ।  राणाहरूलाई श्री ३ भनेर पुकारिन्थ्यो भने शाहहरूलाई श्री ५ भनिन्थ्यो । 

पृथ्वीनारायण शाहका पालादेखि नै राजाहरूलाई श्री ५ भन्ने गरिएको हो । तर २०१९ सालको शिलालेखमा पनि महेन्द्रलाई श्री ३ र जङ्गबहादुर शाह, बहादुर शमशेर जङ्ग भनेर किन लेखियो होला भन्ने चासोको विषय बनेको छ ।

गैँडाकोटका स्थानीय ७० वर्षीय बेदप्रसाद गौडेलले दरबारकै भाषा शैलीमा शिलालेख तयार गरेको बताउनुभयो । पाँच वटा श्री एकै ठाउँमा हुनुपर्नेमा ३ वटा मात्र किन लेखियो भन्ने चाँहि अनुसन्धानको विषय हुने उहाँको भनाइ छ । ‘‘यो एउटा इतिहास हो, इतिहास हामीले सच्चाउन मिल्दैन, किन यस्तो लेखियो भन्ने अनुसन्धान गर्नुपर्ने विषय हुनसक्छ, सायद राणाहरूको रजगज कायमै रहेकाले पो हो कि !’’ गौडेलले भन्नुभयो ।

शिलालेखमा यस्तो किन लेखिएको होला त ? संस्कृति एवं इतिहासविद डा. रमेश ढुङ्गेल भन्नुहुन्छ, ‘‘राजालाई श्री ३ लेख्नु ब्लन्डर मिस्टेक हो । शिलालेखमा ४ वटा श्री छन् । त्यो त झन कसैलाई लेखिँदैन, एकै ठाउँमा पाँच श्री लेख्नु पर्ने हो, राजाको नामबाट शिलालेख तयार गर्ने छुट्टै अभ्यास हुन्छ, तर शिलालेख अध्ययन गर्दा त्यस्तो गरेको पाइएन ।’’ 

त्यतिबेला राजाको गुणगान गाउन, प्रसस्ती, बहादुरी पन तथा पौरखीको वर्णन गर्न त्यति बेलाका हाकिमले शिलालेखमा गम्भीर गल्ती गरेको डा. ढुङ्गेलको भनाइ छ । जङ्गबहादुर, शाहबहादुर र शमशेर जङ्ग लेख्नुको अर्थ भने महेन्द्रको बहादुरीको प्रशंसा गरिएको डा. ढुंगेलले बताउनुभयो । 

उहाँका अनुसार ‘जङ्ग’ भनेको ‘लडाइ’ हो, ‘बहादुर’ भनेको ‘साहाशी, त्यस्तै ‘शाह’ भनेको उहाँको ‘बंश’ हो भने ‘बहादुर’ भनेको ‘वीर’ ।’’ ‘शमशेर जङ्ग’ भने उर्दू भाषा मिलाएर लेखिएको हो । जसको अर्थ राजालाई लडाइमा कसैले जित्न नसक्ने भएकाले उहाँको बहादुरीपनको वर्णन गरिएको ढुङ्गेलको भनाइ छ । 

पञ्चायती शासनकालका गृह एवं कानुनमन्त्री निरन्जन थापाले पनि शिलालेखमा गम्भीर गल्ती गरिएको बताउनुभयो । ‘‘राजा त्रिभुवनका पालादेखिको अनुभव सँगालेको म जिउँदो इतिहास पनि हुँ, तर राजा कहिल्यै श्री ३ भएनन्, कहिल्यै श्री ३ पनि लेखिएन । शिलालेख लेख्ने बेलामा गल्ती भएको हुन सक्छ’’ थापाले भन्नुभयो, ‘‘पाँच वटा श्री एकै ठाउँमा लेखिनुपर्छ ।’’

महेन्द्र राजमार्ग शिलान्यास कालखण्डदेखि पूर्ण राजमार्गको रूप दिँदासम्मका सडक इन्चार्ज बन्नुभएका दुम्किवासका ८१ वर्षीय केबी थापाले नापी विभागका व्यक्तिहरूले शिलालेख लेखेको र राजा महेन्द्रले शिलान्यास गरेको बताउनुभयो । त्यसमा लेखिएको भाषाबारेमा भने आफू अनभिज्ञ रहेको थापाको भनाइ छ । 

पूर्वमन्त्री थापाले पनि त्यतिबेला दरवारको निर्देशनमा नापी विभागले शिलालेख तयार गर्दा गल्ती गरेको हुनसक्ने बताउनुभयो । त्यतिबेला राणाहरूले चाहेको भएजति श्री पनि लेख्न सक्ने भए पनि राजाहरूको श्री ५ हुने भएकाले आफूहरूले श्री ३ मात्र लेखेको उहाँको भनाइ छ । 

शिलालेख लेखेको ६३ वर्षसम्ममा पनि किन गल्ती देखिएन र पहिचान गरेर सच्चाउन प्रक्रिया सुरु गरिएन भन्ने चासोको विषय बनेको छ । पहिले राम्रोसँग संरक्षण नभएको यो ठाउँलाई अहिले वडा कार्यालयले पर्खाल लगाएर संरक्षण गरेको छ र यो ठाउँको नाम नै शिलालेख चोक राखिएको छ । जहाँबाट शिलान्यास गरेर राजमार्ग बनाइएको थियो, अहिलेको राजमार्गको स्थान फेरिएको छ । 

‘‘पहिले राजमार्ग शिलालेख भएकै ठाउँबाट थियो, त्यहीबाट डुङ्गा चढेर नारायणी नदी वारपार गरिन्थ्यो’’ स्थानीय गौडेलले भन्नुभयो, ‘‘पछि बजार विस्तार तथा नारायणीमा केही तलबाट बनेको पुलका कारण पनि राजमार्गको स्थान फेरियो र शिलालेख चोकलाई छुन सकेन ।’’