हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), कात्तिक १२ गते । मुस्ताङमा मङ्गलबार बिहानैदेखि हिमपात भएको छ । उपल्लो मुस्ताङको ल्होमन्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको गाउँबस्ती तथा आसपासका क्षेत्रमा हिमपात भएको छ । तिब्बतसँग सीमा जोडिएको उपल्लो मुस्ताङ छोसेरको कोरला नाका, छोन्हुप, ल्होमन्थाङ, घमी, चराङ सुरखाङलगायतका उच्च हिमाली क्षेत्रमा हिमपात भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय ल्होमन्थाङका कार्यालय प्रमुख उमेश पौडेलले बताउनुभयो ।
हिन्दु तथा बौद्धमार्गीको महत्वपूर्ण तीर्थस्थल मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका कागबेनीमा वर्षा भइरहेको वडाध्यक्ष कर्मघ्यचो गुरुङले बताउनुभयो । हिमपातका कारण मन्दिर, रानीपौवामा रहेका तीर्थयात्री तथा खिङ्गा क्षेत्रमा रहेका भक्तजनलाई सुरक्षित हुन अनुरोध गरिएको छ । मङ्गलबार बिहानैदेखि कागबेनी–मुक्तिनाथ सडकखण्डमा रहेका सवारीसाधन आवतजावतमा समस्या भएको थियो ।
मोटरसाइकलमा सवार यात्रुलाई खिङ्गा क्षेत्रमा रोकिएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ का वडाध्यक्ष एवं मुक्तिनाथ मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष प्रमेश गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले मन्दिरमा तीर्थालु जान सक्ने अवस्था छैन, भारी हिमपात भइरहेको छ । हिउँमा सवारीसाधन दुर्घटना हुन सक्ने भएकाले सचेत बनाएका छौँ ।” उहाँका अनुसार हिमपातका कारण त्यहाँको जनजीवन कष्टकर भइरहेको छ । मन्दिरमा रहेका १०८ धारा, कुण्डलगायतका क्षेत्र हिउँले छोपेको छ । मुस्ताङमा यो मौसममा पहिलो पटक हिमपात भएको हो ।
जिल्ला प्रशासन कार्यालयले हिमपातसँगै रोकिएका पर्यटकमा लेक लाग्ने सम्भावनालाई हेरेर स्वास्थ्यकर्मी र औषधी तयारी अवस्थामा राखेको छ भने उपल्लो मुस्ताङ क्षेत्रमा जाने सवारीसाधनलाई कागबेनी क्षेत्रमा सचेत बनाइएको छ । प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले वारागुङ मुक्तिक्षेत्र–४, कागबेनीदेखि उपल्लो मुस्ताङ र मुक्तिनाथ मन्दिरमा दर्शनका लागि तत्काल नजान अनुरोधसहित सुरक्षाकर्मी परिचालन गरिएको बताउनुभयो । कागबेनीदेखि मुक्तिनाथ मन्दिर जाने सडकखण्डका बस्तीमा समेत हिमपात भएकाले सवारीसाधन दुर्घटनाको जोखिम हुने प्रजिअ भुसालको भनाइ छ ।
बिदा मनाउन मुस्ताङ आएका पर्यटकलाई सुरक्षित बस्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । प्रजिअ भुसालले जिल्लाभर हिमपातबाट हुन सक्ने सम्भावित जोखिमलाई हेरेर सुरक्षा निकायलाई समेत सतर्क राखिएको बताउनुभयो ।