• १२ कात्तिक २०८२, बुधबार

घट्दो क्रममा राउटेको जनसङ्ख्या

blog

सुर्खेतको लेकबेँसी नगरपालिका–८, चिसापानीमा बस्दै आएका राउटे समुदाय । तस्बिर : कमल शर्मा

दैलेख समाचारदाता 

दैलेख, कात्तिक १२ गते । कर्णालीका विभिन्न जिल्लामा घुमन्ते जीवन बिताउने लोपोन्मुख राउटे समुदायको सङ्ख्या बर्सेनि घट्दै गएको पाइएको छ । अत्यधिक मदिरा सेवन, असुरक्षित बास, समयमै उपचार अभाव तथा पोषिलो खानेकुरा नपाउँदा सात वर्षमा १२ जनाको मृत्यु भएको दैलेखस्थित राउटेको नजिक रहेर काम गर्दै आएको सोसेकको राउटे परियोजनाले जनाएको छ । 

राउटे परियोजनाका शिक्षक लालबहादुर खत्रीले विसं २०७५ मा परियोजना सुरु हुँदा १४७ जना रहेको राउटेको सङ्ख्या अहिले १३५ मा झरेको छ । कात्तिक ६ गते राउटे समुदायका कुल पुजारी भक्तबहादुर शाहीको ७१ वर्षको उमेरमा निधन भएसँगै राउटे समुदायको सङ्ख्या १३५ पुगेको झरेको हो । उहाँका अनुसार राउटे समुदायभित्र धर्म, परम्परा र संस्कृतिका प्रमुख अगुवा शाहीका एक छोरा बुरुस शाही र तीन छोरी छन् । उहाँकी श्रीमतीको भने केही वर्षअघि नै निधन भइसकेको छ । 

फिरन्ते जीवन बिताउने यो समुदाय घट्दै जानुका प्रमुख कारण अव्यवस्थित तथा असुरक्षित बसाइ, पोषण अभाव, मदिराको बढ्दो प्रयोग र समयमै उपचार नपाउनु रहेको शिक्षक खत्रीले बताउनुभयो । उहाँले सरकारले दिने सुरक्षा भत्ताको समेत सदुपयोग नगरी मदिरा पिउने समस्याले राउटे समुदाय घट्दै गएको जनाउनुभयो । पछिल्लो समय बस्तीबाहिरका नागरिकसँग घुलमिल बढी भएसँगै मदिरा प्रयोग गर्न सिकेका राउटेका सानै उमेर समूहले समेत मदिरा सेवन गर्दछन् । उहाँले भन्नुभयो, “अब चिसोको समय सुरु भएको हुँदा आगोमा परेर र चिसोका कारण मृत्यु हुने जोखिम बढेको छ ।” 

विसं २०७१ मा तत्कालीन स्थानीय विकास मन्त्रालयले जिल्ला विकास समिति सुर्खेतमार्फत राउटेको जनगणना गरेको थियो । तत्कालीन समयमा राउटे समुदायलाई सामाजिक सुरक्षा भत्ता दिन मन्त्रालयले यकिन सङ्ख्या नै नभएपछि गणना गर्न पठाएको थियो । उक्त समयमा सुर्खेतमा बसोबास गरेका राउटेको सङ्ख्या १८२ जना थियो । त्यसयता ४७ जनाभन्दा बढी राउटेको मृत्यु भएको छ । 

राउटे समुदायले अस्पतालमा पुगेर गरिने आधुनिक उपचारलाई परम्पराविपरीत मान्दछन् । उनीहरूले आफ्नै उपचार पद्धतिमा विश्वास गर्छन् । जङ्गलको जडीबुटीमाथि भर पर्छन् । कतिपय रोग निदानमा राउटेको आफ्नै पद्धतिले काम गर्दैन र राउटेको मृत्यु हुने गरेको छ । राउटे समुदायले अस्पतालमा उपचार गराउन नहुने मान्यता राख्ने गरेकाले पनि गम्भीर रोग लाग्दा समयमै उपचार गराउन नसकिने राउटे परियोजनामार्फत कार्यरत अनमी अन्जु पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, “त्यसले गर्दा मृत्यु हुनेको सङ्ख्या बढ्दै गइरहेको छ । राउटेभित्रको जनसङ्ख्या सन्तुलनमा नहुँदा पनि जनसङ्ख्या घट्ने समस्या भइरहेको छ ।” यो समुदायमा तीन वटा समूह छन् । जसमा रास्कोटी, कल्याल र शोवंशी समूह छन् । अरू दुई समूहभन्दा रास्कोटी समूहको जनसङ्ख्या झन्डै दोब्बरले बढी छ । यी तीन समूहको आआफ्नो समूहभित्र वैवाहिक सम्बन्ध हुँदैन । जसले गर्दा जन्मदरभन्दा मृत्युदर बढी हुन्छ । 

राष्ट्रिय मानव अधिकार आयोग र सोसेकले गत वर्ष गरेको अध्ययनको प्रतिवेदन अनुसार राउटे समुदायभित्र नयाँ जन्ममा लामो अन्तराल पाइएको छ । उक्त अध्ययनले राज्यको यथोचित ध्यान पुग्न नसक्नु, कमजोर जनस्वास्थ्य, कुपोषण, उपचारमा पहुँच नहुनु र नराख्नु, प्रजनन स्वास्थ्यको अभाव, गुणस्तरहीन परम्परागत आवासमा बसोबास, मौसम अनुकूल लत्ताकपडाको अभाव, स्वच्छ खानेपानी तथा सरसफाइको अभावका कारण समुदायका मानिसले अकालमा मृत्युवरण गर्नु परेको निष्कर्ष निकालेको थियो । २०८१ जेठमा राष्ट्रिय मानव अधिकार आयोगले राउटे समुदायको संरक्षण, सुरक्षा र उनीहरूको प्रथासँग सम्बन्धित अभ्यासको निरन्तरताका लागि विशेष कानुनी व्यवस्था गर्न तीन तहका सरकारलाई निर्देशन दिएको थियो । निर्देशनमा आयोगले राउटे बस्ती स्थानान्तरण सँगसँगै स्थानान्तरण हुने गरी घुम्ती प्रहरी चौकी स्थापना गर्न, राउटे समुदायको सामाजिक, सांस्कृतिक संरक्षणका लागि संरक्षित क्षेत्र घोषणा गर्न, राउटे बस्ती स्थानान्तरणसँगै प्रशासन, पञ्जीकरण, खाद्यान्न, राहत, पोषण, स्वास्थ्यलगायतका सेवाका लागि घुम्ती एकीकृत सेवा केन्द्र स्थापना गर्न, राउटे बस्तीमा मदिरा र सुर्तीजन्य पदार्थको बिक्रीवितरण बन्द गर्न, राउटे, खाम्ची भाषाको पाठ्यक्रम विकास गर्न भनेको थियो । अहिले राउटे समुदाय सुर्खेतको लेकबेँसी नगरपालिका–८, चिसापानीमा बस्दै आएका छन् ।