• १२ कात्तिक २०८२, बुधबार

मकै उत्पादनमा जोड दिँदै किसान

blog

बाजुरा समाचारदाता

बाजुरा, कात्तिक १२ गते । बाजुराका अधिकांश गाउँबस्तीका किसान पछिल्लो समय मकै उत्पादनमा जोड दिँदै आएका छन् । पहिले अधिकांश ठाउँमा मकै उत्पादन हुने गथ्र्यो तर खानलाई मात्र पुग्थ्यो । किसानले व्यवसाय परियोजनाका लागि पनि मकै उत्पादन गर्न थालेका छन् । अहिले मकै किन्नका लागि व्यापारीहरू किसानको घरमै पुग्न थालेपछि किसानले मकै खेतीमा जोड दिन थालेका छन् । अहिले बजारमा मकैको माग बढ्दै गएपछि किसानले पनि मकै उत्पादनलाई प्राथमिकता दिँदै आएको बुढीगङ्गा नगरपालिका वरिष्ठ कृषक भोलाराम जैशीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मैले कुखुरा पनि पालन गर्दै आएको छु । यहाँका अन्य किसानले उत्पादन गरेको मकै मैले खरिद गर्दै कुखुरालाई चारो दिने गरेको छु ।” मकै, मानिस र कुखुराको स्वास्थ्यका लागि निकै उपयोगी भएकाले पनि अहिले देशका विभिन्न ठाउँबाट समेत मकैको माग हुन थालेको जैशीले बताउनुभयो । मकै अन्य अन्नभन्दा धेरै खपत हुने बालीमा पर्छ । बहुउपयोगी यो बालीबाट विभिन्न परिकार, तेल, इन्धन, चिनी, रक्सी आदि बनाउने गरिन्छ । 

उहाँका अनुसार धेरै मानिसले उसिनिएका मकै वा पोलिएका मकै खान मन पराउँछन् । यस किसिमका मकै खाएमा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । मकैमा प्रशस्त पोषण तìव हुन्छ । मकै खाएर मानिसका अनुहारमा हुने चाउरी हटाउन र बुढोपनबाट अलग गराउन सहायक मिल्नुका साथै मुटु, रक्त नली र क्यान्सरको रोग निवारण गर्न पनि सकिन्छ । मकैमा भिटामिन ‘बी’, पोटासियम फसफोरस र फलाम निहित रहेको हुन्छ उहाँले भन्नुभयो, “तीमध्ये मुटुको क्षमता बढाउने पोटासियमको क्षमता छ । मकैमा भिटामिन ‘सी’ र सेलेनिअम पनि हुन्छ । क्यान्सर निवारण गर्ने सेलेनिअमको क्षमता हुन्छ ।” 

यस्तै गरेर जीवकोषलाई पतन हुने अवस्थाबाट जोगाउन सक्ने तथा रगतभित्रको कोलस्ट्रोलको मात्रालाई कम पार्न सक्ने ताजा कलिला मकैको क्षमता हुने गरेको विज्ञ बताउँछन् । बाजुराको हिमाली, स्वामिकार्तिक खापर, जगन्नाथ, बुढीनन्दा, बडीमालिका, गौमुल, बुढीगङ्गा त्रिवेणी र खप्तड छेडेदहलगायतका पालिकाका विभिन्न ठाउँमा मकै र धान खेती राम्रो हुने गर्छ । जगन्नाथ, बुढीगङ्गा र त्रिवेणीमा सबैभन्दा मकै खेती बढी गरिन्छ । बाजुरामा एक हजार ३५० क्षेत्रफल हेक्टर जमिनमा मकै खेती गरिन्छ । त्यसबाट ५० मेट्रिक टन मकै उत्पादन हुन्छ  । भने १.५ मेट्रिक टन मकैको उत्पादकत्व रहेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीले बताउनुभयो ।