चितवन समाचारदाता
चितवन, कात्तिक १२ गते । कुनै समय चितवनको सौराहा आएर घुम्ने रमाउने पर्यटक विदेशी मात्र हुने गरेका थिए । सौराहाका होटेलमा बस्ने र निकुञ्ज सफारी गर्ने पर्यटक विदेशी मात्र हुने गरेका थिए तर अहिले अवस्था फेरिएको छ । विदेशी पर्यटकले धानेको सौराहा र निकुञ्ज आसपासका होटेलमा अहिले अधिकांश आन्तरिक पर्यटकले भरिएका छन् ।
जेनजी समूहको आन्दोलनले थला परेको चितवनको पर्यटन तिहारको बिदाले जुर्मुराएको छ । चाडपर्वको बिदामा सौराहा, मेघौली, पटिहानीलगायतको क्षेत्रका होटेल भरिएका थिए । क्षेत्रीय होटेल सङ्घ सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरेले भन्नुभयो, “विदेशी पर्यटकको भरमा यहाँको पर्यटन व्यवसाय धानेको थियो, अहिले अवस्था फेरिएको छ,” उहाँले भन्नुभयो, “अहिले ९० प्रतिशत पर्यटक आन्तरिक रहेका छन् ।”
नेपालीमा घुम्ने, खर्च गर्ने, रमाउने संस्कारको विकास भएको छ । सौराहा मात्र होइन अन्य क्षेत्रमा समेत सकारात्मक प्रभाव परेको छ । काठमाडौँ, पोखरा, लुम्बिनीलगायतका क्षेत्रमा मात्र जाने पर्यटक अहिले साहसिक क्षेत्रमा समेत जाने गरेको उहाँले बताउनुभयो ।
हिमाली क्षेत्रको जोखिम स्थानमा यात्रा गर्ने, बन्जीजम्प गर्ने, ¥याफ्टिङ गर्नेसम्म आन्तरिक पर्यटक रहेको उहाँले बताउनुभयो । हिमाली क्षेत्रमा जाने आन्तरिक पर्यटकलाई चितवन ल्याउने वातावरण गर्न सके यहाँको विकास अझ वृद्धि हुने उहाँले बताउनुभयो । काठमाडौँ, पोखरा, लुम्बिनीमा पर्यटन व्यवसाय गर्दै आउनुभएका क्षेत्रीय होटेल सङ्घ सौराहाका अध्यक्ष ओम पाण्डेले बिदाको दिन सेवा दिन भ्याइनभ्याइ भएको सौराहामा अहिले भिड घटेको बताउनुभयो ।
“दसैँमा पर्यटक आएनन्, तिहारको बिदामा यहाँको स्रोतसाधनले धान्न नसक्ने गरी पर्यटक आए,” अध्यक्ष पाण्डेले भन्नुभयो, “यसरी आएका पर्यटकमध्ये अधिकांश नेपाली थिए ।” आन्तरिक पर्यटकले मात्र पनि चल्ने अवस्था हुन सक्ने भन्ने उदाहरण बनेको उहाँले बताउनुभयो । सबै समयमा भने नेपाली आउन सक्दैनन्, अन्य समयमा विदेशी पर्यटकलाई चितवन ल्याउने वातावरण पर्यटन व्यवसायीसँगै सरकारको भूमिका हुने उहाँले बताउनुभयो ।
क्षेत्रीय होटेल सङ्घ सौराहाका महासचिव महेश खनालले तिहारको बिदामा ८५ प्रतिशत होटेलका कोठा भरिएको जानकारी दिनुभयो । “आन्दोलनले थला परेका थियौँ,” उहाँले भन्नुभयो, “दसैँमा उत्साहजनक थिएन, तिहारले वहार ल्यायो ।” सधैँ यस्तै अवस्था रहँदैन, यो हामीले बुझेका छौँ, खनालले भन्नुभयो । अब विदेशी पर्यटकलाई यहाँ आउने वातावरण बनाउन अभियान चलाउनु पर्दछ ।
नेपाल आएका विदेशी पर्यटकमध्ये ५० प्रतिशतलाई चितवन ल्याउन सकेमा यहाँको कायापलट हुने पर्यटन व्यवसायी सुमन घिमिरेले बताउनुभयो । सामाजिक सञ्जालमार्फत चितवनको जङ्गल सफारी, यहाँको संरक्षण क्षेत्र, थारूको संस्कार, ग्रामीण बस्तीलगायत देखाएर लोभ्याउनु पर्दछ । भारतीयसँगै तेस्रो मुलुकका पर्यटकलाई चितवन ल्याउने वातावरणमा अब लाग्नुपर्ने उहाँले बताउनुभयो ।
पर्यटनविज्ञ डा. विश्व सुवेदीले प्रतिकूल अवस्थामा पनि आन्तरिक पर्यटकले नेपालका विभिन्न स्थान भरिभराउ हुनु धेरै सकारात्मक अवस्था भएको बताउनुभयो । मनाङ, मुस्ताङमा होटेल भरिए अब आउने कार्यक्रम नबनाउनु भनी सूचना प्रकाशित गर्नुपर्ने अवस्था आउनु भनेको धेरै राम्रो सन्देश हो, उहाँले भन्नुभयो । चितवनको पर्यटकीय क्षेत्रमा पनि अहिले पर्यटक भरिँदा नेपाली खर्च गर्न सक्ने अवस्थामा आएका छन् भन्ने सन्देश दिएको छ । अब हामीले पर्यटकलाई शान्तिसुरक्षा, विभिन्न गतिविधि, सेवा सुविधामा जोड दिनुपर्ने हुन्छ । शान्ति कायम भएमा नेपाली, विदेशी पर्यटकले यहाँको आर्थिक अवस्था सुधार हुन समय लाग्ने छैन, डा. सुवेदीले भन्नुभयो ।