मकवानपुर समाचारदाता
हेटौँडा, कात्तिक १२ गते । बागमती प्रदेश सभा सदस्यका स्वकीय सचिवको तलब सुविधा रोकिएको छ । भदौसम्मको सुविधा दसैँअघि नै पाएका प्रदेश सभा सदस्यका स्वकीय सचिवले पाउने गत असोज महिनाको तलब र महँगी भत्ता रोकिएको हो ।
गत भदौमा भएको जेनजी समूहको आन्दोलनपछि गठित सरकारले खर्च मितव्ययिताका लागि स्वकीय सचिवको सुविधा खारेज गर्ने निर्णय गरेसँगै बागमती प्रदेश सभा सदस्यका स्वकीय सचिवको तलब सुविधाबापतको भुक्तानी रोकिएको छ ।
प्रदेश सभाका सचिव रामकुमार पौडेलले लेखा नियन्त्रकको प्रणालीले नै रोकेकोले भुक्तानी प्रक्रिया अगाडि बढ्न नसकेको जानकारी दिनुभयो । उहाँले बागमती प्रदेश सभा सदस्यका स्वकीय सचिवको तलब सुविधा रोक्नेबारेमा कतैबाट पत्राचार नभएको भन्दै प्रणालीबाटै रोकिएकाले भुक्तानी नगएको बताउनुभयो । उहाँका अनुसार केही स्वकीय सचिवको भदौभन्दा अघिको तलब सुविधासमेत रोकिएको र भुक्तानी गर्न खोज्दा प्रणालीबाटै नमिलेका कारण भुक्तानी भएको छैन । उता बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयको सूचना अधिकारी सुरज पौडेलले मन्त्रालयले प्रदेश सभा सदस्यका स्वकीय सचिवको तलब सुविधा मन्त्रालयले नरोकेको र रोक्नेबारेमा प्रदेश सरकारले पनि कुनै निर्णय नगरेको बताउनुभयो ।
प्रदेश सभा सदस्यका स्वकीय सचिवले नायब सुब्बा सरहको तलबबापत ३७ हजार ७३० रुपियाँ र महँगी भत्ताबापत पाँच हजार रुपियाँ पाउने छन् । ९५ जना प्रदेश सभा सदस्यका स्वकीय सचिवको तलब सुविधा रोकिएको प्रदेश सभा सचिवालयको भनाइ छ । सचिवालयको लेखा शाखाका अनुसार प्रदेश सभा सदस्यका स्वकीय सचिवको तलब सुविधाको तलब पाना (पे रोल सिट) बनाउनै नमिल्ने गरी सिस्टम बनाइएको छ । ११० जना प्रदेश सभा सदस्य रहेको बागमती प्रदेशमा मुख्यमन्त्री र मन्त्री गरी १४ जनाका स्वकीय सचिवको तलब सुविधा मन्त्रालयबाटै भुक्तानी हुने व्यवस्था रहेको छ । प्रदेश सभाका प्रदेश सभामुखले राजीनामा दिएका कारण सभामुखको स्वकीय सचिवको असोजको तलब रोकिएको छ भने उपसभामुखको स्वकीय सचिवको तलब सुविधा भुक्तानी भइसकेको छ ।
प्रदेश सभा सचिव पौडेलले अन्य प्रदेशमा समेत प्रदेश सभा सदस्यको स्वकीय सचिवको भुक्तानी रोकिएको भन्दै प्रदेश सरकारको निर्णय र प्रणालीबाट खुलेपछि भुक्तानी हुन सक्ने बताउनुभयो । प्रदेश सभा सदस्यको स्वकीय सचिवको असोजको मात्र तलबबापत ३५ लाख ८४ हजार ३५० र महँगी भत्ताबापत चार लाख ७५ हजार भुक्तानी बाँकी रहेको छ ।