• १२ कात्तिक २०८२, बुधबार

सप्तरीसहित मधेशमा गुन्जिन थाल्यो सामा चकेवाको गीत

blog

राजविराज १ मा बनाइएको सामा चकेवा । तस्बिर : सुधा देव

सुधा देव
भारदह(सप्तरी), कात्तिक १२ गते ।
सप्तरीसहित मधेशका जिल्लाहरूमा सामा चकेवाको गीत गुन्जिन थालेको छ । दाजुभाइ दिदीबहिनीको प्रेमको कथासँग जोडिएको सामा चकेवाको गीत सप्तरीसहित मधेशको घर घरमा दिनहुँ बेलुकी भएपछि गुन्जिन थालेको हो ।

तराई मधेशमा परम्परादेखि प्रेमको प्रतिकको रूपमा मनाइने सामा चकेवाको रौनक कात्तिक शुक्ल पञ्चमिको तिथी खरनाको दिन आइतबारदेखि सुरू भएको हो ।

दिदीबहिनीले माटोको विभिन्न आकृति भएको तस्बिरहरू बनाएर दाजुभाइको दीर्घायुको कामना गर्दै टोल समाजका महिलाहरू मिलेर १० दिनसम्म खेलेर कात्तिक शुक्ल पूर्णिमाको दिन विधिवत रूपमा सामा चकेवालाई पोखरी नदीमा सेलाएर यो पर्व सम्पन्न गर्ने चलन रहेको छ ।


यसमा खेल्नका लागि सामा चकेवा, चुगला, सतभैया, भमरा, वृन्दावन, ढोल पिपिही, पौती लगायतका पात्रको माटोको आकृति बनाएर रङ रोगन गरेर सुन्दर बनाएर समूहमा खेल्ने, दाजुभाइलाई आशिक दिँदै गीत गाउँने गरेको राजविराज नगरपालिका ७ कि आरती झाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘माटोबाट बनाइएको आकृतिलाई विभिन्न मानविय पात्रको संज्ञा दिएर दस दिनसम्म खेलेर दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र उन्नति प्रगतिको कामना गर्ने चलन रहेको छ ।’’

मधेशी र थारू समुदायका दिदीबहिनीहरूले महत्त्व दिएर खेल्ने यो पर्वमा थारू समुदायमा माइतीले छोरीलाई निम्ता गरेर माइतीमा बोलाउँने सम्मान दिएर सामा चकेवा गाउँ भरका महिला मिलेर समूहमा कार्यक्रमको आयोजना गरी खेल्ने चलन रहेको राजविराज १ का श्रृजना चौधरीले बताउनुभयो ।


उहाँले भन्नुभयो, ‘‘सामा चकेवा पर्व खेलेमा दाजुभाइको आयु लामो हुने, उनीहरूको जीवनमा उन्नति, प्रगतिसँगै दिदीबहिनीसँगको सम्बन्ध अझ बलियो हुने जनविश्वास रहेको छ ।’’

कात्तिक शुक्ल पूर्णिमाको दिन आफन्त छिमेकीहरूसँग सामा चकेवा खेल्दै दाजुभाइलाई मैथिली गीतमार्फत आशिष दिदै समालाई छोरीलाई कोसेली दिएर बिदा गरेझै बिदा गरेर बनाएका आकृतिलाई पोखरीलगायतमा सेलाएर सामा सकेवा सम्पन्न गर्ने उहाँले बताउनुभयो ।