• १२ कात्तिक २०८२, बुधबार

वैदेशिक रोजगार विभागको सेवा प्रभावित

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, कात्तिक १२ गते । वैदेशिक रोजगार विभागको वेबसाइट र सर्भर (फेमिस सिस्टम) मा समस्या आएपछि सेवा प्रभावित भएको छ । विभागका अनुसार दसैँ बिदापछि एक्कासि अत्यधिक आवेदन आएसँगै सर्भरमा समस्या देखिएको हो । हाल दसैँ र तिहार बिदामा आएर फर्किन पुनः श्रम स्वीकृति लिनेको चाप बढेको छ ।

विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले पछिल्ला केही दिनयता सर्भरमा बढी चाप भएकाले दुई/तीन दिनदेखि समस्या आएको र समाधानका लागि मङ्गलबार बिहानदेखि प्राविधिक टोलीले काम गरेको जानकारी दिनुभयो । उहाँका अनुसार प्राविधिक टोलीले वेबसाइटको ‘स्पेसल सर्टिफिकेट एक्सपायर’ भएर समस्या देखिएको भन्ने कुरा आएको छ । 

महानिर्देशक भट्टराईले ताहचलस्थित विभागको केन्द्रीय कार्यालय दिने सेवा सुस्त गतिमा चले पनि विभाग अन्तर्गत प्रदेशमा रहेको श्रम कार्यालयको सेवा तीन दिनदेखि नै प्रभावित हुँदै आएको जानकारी दिनुभयो । वेबसाइट बनाउने काम जारी रहेकाले बुधबार बिहानदेखि  चल्न सक्ने र सर्भरका हकमा भने केही समय लाग्न सक्ने उहाँको भनाइ छ । सर्भर बन्द हुँदा श्रम स्वीकृतिका लागि अनलाइनबाट आवेदन दिने सेवाग्राहीलाई मर्का परेको छ । 

सर्भरबाट आन्तरिक काम भइरहे पनि सेवाग्राहीले आवेदन दिन मिलेको छैन । मङ्गलबार राति वा बुधबार बिहानसम्म आवेदन दिन मिल्ने अनुमान विभागले गरेको छ ।