• ११ कात्तिक २०८२, मङ्गलबार

बाक्लो हिमपातले खुम्बुको जनजीवन प्रभावित

blog

सोलुखुम्बु, कात्तिक ११ गते । सगरमाथा क्षेत्रमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाको दिङ्बोचेभन्दा माथिल्लो क्षेत्रमा हिउँ परिरहेको छ भने नाम्चेबजार र आसपासका तल्लो क्षेत्रमा वर्षा भइरहेको छ ।

सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले भन्नुभयो, “दिङ्बोचेभन्दा माथि बाक्लो हिउँ परेको छ, तल्लो क्षेत्रमा वर्षा भइरहेको छ, पर्यटक सबै होटलभित्रै छन् । बाहिर निस्कन सम्भव छैन ।” हाल यस क्षेत्रमा करिब तीन हजार बढी विदेशी पर्यटक रहेको अनुमान छ । सोमबार मात्रै करिब ८०० विदेशी पर्यटक काठमाडौँबाट लुक्ला आएका थिए । 

हिमपातका कारण बाटो नदेखिने हुँदा पर्यटक हराउन सक्ने जोखिम भएकाले जिल्ला प्रशासन कार्यालयले पर्यटकलाई यात्रामा ननिस्कन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डेले भन्नुभयो, “मौसम प्रतिकुल भएकाले सबै पर्यटकलाई सुरक्षित रहन र होटल वा बस्तीमै बस्न अनुरोध गरिएको छ ।”

जिल्ला प्रशासनले उद्धार टोली तयारी अवस्थामा राखेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरका अनुसार दिङ्बोचेमा अस्थायी प्रहरी पोस्ट छ, त्यहाँका प्रहरीसँग निरन्तर सम्पर्कमा रहेर पर्यटकका बारेमा जानकारी लिने कार्य भइरहेको छ । दिङ्बोचेभन्दा माथि करिब दुई हजार विदेशी पर्यटक रहेको अनुमान गरिएको छ । 

लगातारको हिमपात र वर्षाले चिसो बढेको छ । खुम्जुङका स्थानीय पेम्बा शेर्पाले भन्नुभयो, “आज बिहानदेखि निकै चिसो छ, हिउँले गाउँ ढाकेको छ, सबैजना घरभित्रै छौँ ।” लगातारको हिमपातले खुम्बुक्षेत्रको जनजीवन प्रभावित भएको छ । पर्यटकको भीडले गुञ्जिने नाम्चेबजार सुनसान भएको छ । “हिउँले सुन्दर दृश्य त दिएको छ, तर दैनिकी भने कठिन बनाइदिएको छ,” खुम्जुङकी शिक्षक कोपिला घतानीले बताउनुभयो । रासस