चाँदनी आचार्य
घोडाघोडी (कैलाली), कात्तिक ११ गते । कैलालीको घोडाघोडी नगपालिका–१०, पहलमानपुरमा जारी तेस्रो मदन भण्डारी कप अन्तर पालिका जिल्ला स्तरीय फुटबल प्रतियोगिताको उपाधि मदन भण्डारी स्पोर्टस् एकेडेमी भजनी नगर कमिटीले हात पारेको छ ।
सोमबार साँझ सम्पन्न फाइनल खेलमा भजनीले घोडाघोडी क्लब सुखडलाई ३–० गोलले हरायो । पहिलो हाफमा गोलरहित खेल भएपनि दोस्रो हाफमा भजनीका खेलाडीहरूले लगातार तीन गोल गर्दै जितेको हो ।
विजेता मदन भण्डारी स्पोट्स एकेडेमी भजनीले ५२ हजार दुई सय ५०रुपियाँ नगदसहित ट्रफी प्राप्त गरेको छ । उपविजेता घोडाघोडी क्लब सुखडले ३२ हजार २५० रुपियाँमा चित्त बुझाएको छ ।
मदन भण्डारी स्पोर्टस् एकेडेमी घोडाघोडी नगर कमिटीको आयोजनामा तेस्रो मदन भण्डारी कप अन्तर पालिका जिल्ला स्तरीय फुटबल प्रतियोगिता भएको थियो ।
समापन समारोहका प्रमुख अतिथि घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक बहादुर रावतले विजेता समुहलाई पुरस्कार तथा ट्रफी हस्तान्तरण गर्नुभयो ।
समापन समारोहमा घोडाघोडी नगरपालिकाका संस्थापक नगर प्रमुख तथा नेकपा एमाले कैलाली जिल्ला सचिव ममताप्रसाद चौधरी, वडा नम्बर ९ का वडाध्यक्ष हरिचन्द्र शाह लगायतको उपस्थिति थियो ।
कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधि, खेल प्रेमी, सङ्घसंस्था र नागरिकको उत्साहपूर्ण सहभागिता रहेको थियो । समापन समारोहमा प्रतियोगिता सफल बनाउन सहयोग गर्ने व्यक्तिहरू र संस्थाहरूलाई सम्मान तथा कदर पत्र प्रदान गरिएको थियो ।