कमल खत्री
नेपालगन्ज, कात्तिक ११ गते । खेलाडी र खेलकर्मीको उपलब्धी र सफलतालाई सम्मान गर्ने उद्देश्यले आयोजना गर्न लागिएको लुम्बिनी स्पोर्ट्स अवार्ड छनोट समितिको संयोजकमा रमेश मल्ललाई मनोनित गरिएको छ ।
आयोजक रङ्गशाला नेपाल मिडिया प्रालीले अवार्डको छनोट समिति संयोजकमा फोटो पत्रकार, सुटिङ खेलका पूर्व राष्ट्रिय खेलाडी तथा साइक्लिस्ट मल्ललाई छनोट गरिएको जनाएको छ ।
नेपालगन्जमा आगामी मङ्सिर १८ गते प्रथम लुम्बिनी स्पोर्ट्स अवार्ड–२०८२ हुँदैछ । अवार्डलाई निष्पक्ष ढङ्गले सम्पन्न गर्नका लागि मल्लले महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्ने आयोजकले विश्वास लिएको छ ।
छनोट समिति संयोजकमा मनोनित हुनु भएका मल्ल फोटो पत्रकारितासँगै खेलकुद प्रतियोगिता व्यवस्थापनमा पनि सक्रिय भएर काम गरिरहनु भएको छ । उहाँले नेपाल फोटो फेस्टिवलमा पनि छनोट समितिमा बसेर जिम्मेवारी निर्वाह गरिसक्नु भएको छ ।
मल्लले लुम्बिनी स्पोर्ट्स अवार्डको छनोट समिति संयोजकको जिम्मेवारी प्रदान गर्नुभएकोमा आयोजकलाई धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो, ‘‘लुम्बिनी प्रदेशका लागि यो खुसीको कुरा हो । खेलाडी र खेलकर्मीको सम्मान गर्नु हाम्रो दायित्व हो । खेलले कुनै धर्म, समुदाय, वर्ग नभनेर आफनो समाज अनि देशलाई चिनाउने काम गरेको हुन्छ । खेलाडीले पनि राष्ट्रको गौरव बढाउन महत्त्वपूर्ण भुमिका निर्वाह गरिरहनु भएको हुन्छ । उहाँहरुको सम्मान हामीले गर्नु पर्छ । लुम्बिनी स्पोर्ट्स अवार्डले त्यो अभिभारा पुरा गर्ने विश्वास छ ।’’
आयोजकले यसअघि अवार्डको संयोजकमा चाहना शाह र प्रचार–प्रसार संयोजकमा खेल पत्रकार गजे थापा (जी.थापा) मनोनित गरिसकेको छ । लुम्बिनी स्पोर्ट्स अवार्डको पहिलो संस्करणमा विभिन्न चार विधामा खेलाडी र खेलकर्मीलाई अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।
अवार्डमा उत्कृष्ट पुरुष खेलाडी अवार्ड, उत्कृष्ट महिला खेलाडी अवार्ड, लाईफ टाइभ अचिभमेन्ट अवार्ड र उत्कृष्ट टिम अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । अवार्डलाई अन्तर्राष्ट्रिय स्पोर्ट्स ब्रान्ड केल्मीले सह–प्रायोजन गरेको छ ।