गुणबहादुर रोका
सुलीकोट, कात्तिक ११ गते । गोरखाका बेपत्ता एक युवा २० दिनपछि मृत अवस्थामा फेला परेका छन् । जिल्लाको सहिद लखन गाउँपालिका – २ मनकामनाका ३५ वर्षीय कालुराम थापा मङ्गलबार बिहान चितवनको देवघाट जङ्गलमा फेला परेका हुन् ।
प्रसिद्ध धार्मिक स्थल मनकामनाको केबुलकार हुँदै असोज २२ गतेबाट घरबाट सम्पर्कविहीन भएका थापा झण्डै २० दिनपछि देवघाटका स्थानीयहरुले जङ्गल जाँदा देखेपछि प्रहरीलाई खबर गरेका मृतक कालुराम थापाका आफन्त अशोक थापाले जानकारी दिनुभयो ।
प्रहरीले आफन्तलाई सम्पर्क गरेपछि मृतक थापाका आफन्तले कपडाबाट शव पहिचान गरी पोष्टमार्टमका लागि चितवनको सरकारी अस्पताल लगिएको आफन्त अशोक थापाको भनाइ छ ।
बेपत्ता भएको दिनदेखि परिवार र स्थानीयवासीले विभिन्न स्थानमा खोजीकार्य जारी राखी गोरखा र चितवनका प्रहरी कार्यालयमा उजुरी दिइएको मृतकको आफन्त अशोक थापाले बताउनुभयो । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।