अमरराज नहर्की
तनहुँ, कात्तिक ११ गते । पहिले तराईमै सीमित देखिने छठ पर्व अहिले पहाडका नदीकिनारसम्म विस्तार हुँदै गएको छ । तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदीको किनारमा सोमबार साँझदेखि नै व्रतालुहरूको घुइँचो लाग्यो ।
सूर्यदेवको आराधना, आत्म–शुद्धि र पारिवारिक समृद्धिको कामनासहित मनाइने यो पर्व अहिले दमौलीमा पनि उत्साहपूर्वक मनाइको हो । महिलाहरू परम्परागत भेषभूषामा सजिएर पूजा सामग्रीसहित नदी किनारमा उपस्थित भई सूर्यदेवको आराधनामा तल्लीन देखिन्थे ।
दमौलीमा बसोबास गर्दै आएका धिरज शाहका अनुसार प्रत्येक वर्ष मादी नदी किनारमा छठ पर्वमा सहभागी हुने भक्तजनको सङ्ख्या बढ्दो क्रममा छ । “हरेक वर्ष भीड थपिँदै गएको छ । यो पर्वले यहाँको सांस्कृतिक विविधतालाई अझ समृद्ध बनाएको छ,” उहाँले बताउनुभयो ।
त्यसैगरी स्थानीय सरस्वती साहका अनुसार छठ अब केवल तराईको पर्व रहेन, पहाडका मानिसहरूले पनि समान श्रद्धा र आस्थासँग मनाउन थालेका छन् । “यो पर्वले एकता र सद्भाव बढाएको छ,” उहाँको भनाइ छ ।
व्यास नगरपालिकाका पूर्व प्रमुख ताराप्रसाद श्रेष्ठले तराईबाट आएका समुदायको सांस्कृतिक प्रभावसँगै छठ पर्व अहिले पहाडको जनजीवनमा पनि मिसिँदै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “मादी–सेतीको संगम आज धार्मिक आस्था र सौन्दर्यको प्रतीक बनेको छ, यस्तो दृश्य देख्दा अत्यन्त खुशी लाग्छ ।” व्यासका अध्येता काशीनाथ न्यौपानेका अनुसार छठ पर्व अहिले भूगोल र समुदायको सीमाना पार गर्दै आस्था, संस्कृति र एकताको साझा पर्वका रूपमा स्थापित हुँदै गएको छ ।
एक दशकअघिसम्म मधेसी समुदायमा मात्र सीमित रहेको यो पर्व पछिल्ला वर्षहरूमा अन्य समुदायमा पनि समान उत्साहका साथ मनाइने परम्परा बढेको देखिन्छ । सूर्यदेवको उपासनाले सन्तानसुख, रोग–व्याधिनिवृत्ति र पारिवारिक समृद्धि प्राप्त हुने धार्मिक विश्वासले पनि यस पर्वप्रतिको आकर्षण बढाएको छ ।