गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक ११ गते । किसानको खेतीलाई सकारात्मक र नकारात्मक दुवैखालको असर पर्ने गरी अबको केही दिन नेपालमा वर्षा र हिमपात हुने भएको छ । अरब सागर र बङ्गालको खाडी दुवैतर्फ बनेको न्यूनचापीय प्रणालीका कारण नेपालमा अबको केही दिन बदलीसहित वर्षा र हिमपात हुने भएको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दुई प्रणालीको असरले सोमबार रातिदेखि पश्चिम नेपाल हुँदै वर्षा सुरु भएको छ, जसले यतिबेला धान काट्ने, छाँट्ने, झार्न व्यस्त रहेका किसान प्रभावित हुने भएका छन् ।
यस प्रणालीको असरले बुधबार बिहानसम्म गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका विभिन्न भूभागमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसमविद् डेविड ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा भारीदेखि मध्यमसम्मको हिमपात हुँदा देशभर चिसो बढ्ने छ । चिसोले जनजीवनमा असर पार्न सुरु हुने भएकाले सचेत रहन भनिएको छ ।
कृषि मौसमविद् रामेश्वर रिमालले काटेका धानको सुरक्षा गर्न किसानलाई सुझाव दिनुभएको छ । खेतमै रहेका धानलाई छापो हालेर जोगाउन, झारिसकेको भए केही दिन भकारीमा राख्न भनिएको छ । तथापि यस प्रणालीले हिउँदे तरकारी बालीलाई भने राहत दिने छ । सुक्खा पाखोबारीमा लगाइने हिउँदे तरकारी बालीका लागि यो वर्षा अमृतसरह हुने छ । किसानले भर्खरै रोपेका आलुका बेर्नाका लागि पनि वर्षाले राहत दिने छ । हिमाली भेगमा लगाइएका आलुका लागि भने छापो हालेर जोगाउनुपर्ने भएकाले सजग रहन उहाँले सुझाउनुभएको छ । त्यस्तै भर्खर हुर्कंदै गरेका तरकारीका बेर्नालाई न्यानो दिएर राख्नुपर्ने छ ।
देशभर फैलिसकेको यस प्रणालीले साताभरै प्रभाव पार्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहिलो तीन दिन पश्चिम नेपालमा कायम रहने वर्षाको प्रणाली पछिल्लो तीन दिन मधेश र पूर्वी भेगतर्फ सक्रिय हुने अनुमान गरिएको छ ।
पदयात्रा नगर्न आग्रह
राष्ट्रिय समाचार समितिका अनुसार मुस्ताङ प्रशासनले जिल्लाको पर्यटकीय पदमार्गमा यात्रा नगर्न पदयात्रीलाई आग्रह गरेको छ । सोमबार एक सूचना प्रकाशित गरी जिल्ला प्रशासन कार्यालय मुस्ताङले मुस्ताङका उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न अनुरोध गरेको हो । मुस्ताङका उच्च हिमाली क्षेत्रको मुस्ताङ–डोल्पा, पाँच हजार ८०० मिटर उचाइको याकखर्क क्षेत्र, पाँच हजार ४०० मिटर उचाइको मनाङ–मुस्ताङ थोरङ्लापास, छ हजार मिटर उचाइको मुस्ताङ–मनाङ सरिबुङ पास र मुस्ताङ–म्याग्दीको धौलागिरि पदमार्गको धम्पुस पिकलगायतका क्षेत्रमा भारीदेखि हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले बुधबारसम्म हिमपात र वर्षाको सम्भावना रहेकाले यात्रा नगर्न आग्रह गरिएको बताउनुभयो ।